काठमाडाैं । उच्च महत्वको भ्रमणका रुपमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने भ्रमणमा आज उनले चिनियाँ समकक्षी सी-जीनपिङसँग महत्वपूर्ण भेटवार्ता गर्दै छन्।
आज ट्रम्पले आफ्नो पहिलो औपचारिक कार्यक्रममा बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ मा सी जिनपिङले उनको स्वागत समारोहको आयोजना गरेका छन्।
दुई नेताबीच त्यसपछि द्विपक्षीय वार्ता हुने छ भने आज साँझ राजकीय भोजको पनि आयोजना गरिएको छ। विश्वका यी दुई महाशक्तिबीच हुने छलफलमा भन्सार शुल्क (ट्यारिफ), प्रविधि क्षेत्रमा प्रतिस्पर्धा, इरान युद्ध र ताइवानका विषय मुख्य एजेन्डामा रहने छन्।
ट्रम्पसँगै एलन मस्क र जेन्सन हुआङ जस्ता प्रविधि क्षेत्रका प्रमुख व्यवसायीहरू पनि चीन पुगेका छन्। चीन प्रस्थान गर्नुअघि ट्रम्पले अमेरिकी उद्योगका लागि चीनले आफ्नो बजार ‘खुला गर्नुपर्ने’ बताएका थिए। सन् २०१७ मा चीन भ्रमण गर्ने अन्तिम अमेरिकी राष्ट्रपति रहेका ट्रम्प अहिले फेरि बेइजिङ फर्किएका हुन्।
यसबीच चीन अझ शक्तिशाली र आत्मविश्वासी बनेको छ र आफूलाई विश्वसामु स्थिर वैश्विक शक्तिका रूपमा प्रस्तुत गर्न चाहिरहेको छ। यो भ्रमण मूलतः मार्च महिनाका लागि तय गरिएको थियो, तर इरान युद्धका कारण पछि सारिएको थियो।
ट्रम्प स्थानीय समय अनुसार बुधबार राति करिब ९ बजे बेइजिङ उत्रिएका थिए। उनले त्यहाँ एक रात बिताइसकेका छन्। बेइजिङ पुगेपछि उनलाई चिनियाँ उपराष्ट्रपति हाङ झेङले स्वागत गरेका थिए। त्यसपछि ट्रम्प रात बिताउन ‘फोर सिजन्स’ होटलतर्फ गएका थिए।


















