महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

4

काठमाडौं । राप्रपाकी सांसद सरस्वती लामाले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा आज पार्टीको तर्फबाट बोल्दै उनले आज महँगीले जनताको ढाड सेकेको बताइन्।

उनले भनिन्, ‘बजारमा चामल, दाल, तरकारीदेखि लिएर दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकासिएको छ। सार्वजनिक यातायातको भाडा होस् वा भान्सामा प्रयोग हुने ग्याँस सिलिन्डर र पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनताको दैनिक जीवन असहज बनेको छ। आम नेपाली जनता भोकै हुने अवस्था छ। के यही हो सरकारले दिलाउन चाहेको सुशासनको प्रत्याभूति?’

उनले कालोबजारी रोकेर जनतालाई आर्थिक राहतको प्याकेज दिनु पर्दैन? भन्दै प्रश्न गरिन्। उनले भनिन्, ‘आज जनताले भनिरहेका छन्, रास्वपा सरकार बनायो, हामीले के पायौँ? सरकारको उपस्थिति जनताको दैनिकी जीवनमा अनुभूत हुनुपर्दछ, तर आज जनताले सरकारलाई अनुभूति गर्न सकेका छैनन्। महँगी नियन्त्रणमा सरकार कहाँ छ? मूल्य वृद्धि नियन्त्रणमा सरकारको हस्तक्षेप किन देखिँदैन? दुई तिहाइको शक्तिशाली सरकार हुँदा पनि जनताको पीडा किन सम्बोधन हुन सकेको छैन? जनताको आम्दानी जस्ताको तस्तै छ, तर खर्च भने धेरै छ। एक सामान्य मान्छे कसरी बाँचिरहेको होला? यता सरकारको ध्यान खोइ?’

जनताको खानपान, बसोबास, शिक्षा, स्वास्थ्य र दैनिक जीवनका आधारभूत आवश्यकताहरू आज सामान्य नागरिकको पहुँचभन्दा निकै टाढा जान थालिसकेका बताइन्। मजदुर, कर्मचारी, किसान, विद्यार्थी, निम्न तथा मध्यम वर्गीय परिवार सबैभन्दा बढी मारमा परेको बताइन्।

उनले बजार अनुगमन कडाइका साथ गर्न, कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्य वृद्धिमाथि कठोर कारबाही गर्न, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको करमा पुनरावलोकन गर्न, जनतालाई प्रत्यक्ष राहत दिन कर संरचनामा सुधार गर्न, कृषि उत्पादन र आपूर्ति शृङ्खला सुदृढ गर्नको लागि माग गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here