सिरहाटाइम्स लहान । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल १३ वर्षदेखि अलपत्र पर्दा मधेसवासीको विकासको सपना चकनाचुर भएको भन्दै नयाँ पुल निर्माणका लागि प्रदेश सरकार अग्रसर हुनुपर्ने माग उठेको छ।
दलित,OBC,थारु,जनजाती र अल्पसंख्यक समुदायहरुको हकअधिकारको लागि गठन भएको संस्था (DOTIM) परिसंघका राष्ट्रिय संयोजक तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय समन्वय समिति सदस्य चन्देश्वर पासमानले सामाजिक संजाल फेसबुक प्रोफाइलमा निर्माणाधीन अवस्थामा नै डिजाइन फेलियरका कारण पुलका धेरै पिलर भासिएपछि परियोजना लामो समयदेखि अन्योलमा परेको बताए। उनका अनुसार हुलाकी सडकलाई मधेसको “जीवनरेखा” र आर्थिक विकासको “मेरुदण्ड” मानिए पनि कमला पुलको निर्माण अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर लाखौं नागरिकमाथि परेको छ।
पासमानले संघीय सरकारले विगतदेखि नै पुलको पुनर्निर्माण वा मर्मत सम्भारको कुरा दोहोर्याउँदै आए पनि ठोस उपलब्धि हासिल हुन नसकेको आरोप लगाए। “निर्माणकै क्रममा गम्भीर प्राविधिक समस्या देखिएको पुललाई जतिसुकै मर्मत गरे पनि दीर्घकालीन रूपमा सुरक्षित र उपयुक्त बन्न सक्दैन,” उनले भने, “यसैले पुरानो संरचनामा समय र स्रोत खर्च गर्नुको सट्टा आधुनिक प्रविधि तथा नयाँ डिजाइनमा आधारित पुल निर्माण गर्नु आवश्यक छ।”
उनले पछिल्लो समय विभिन्न मन्त्री, सांसद तथा उच्च सरकारी अधिकारीहरूले पुल क्षेत्रको बारम्बार निरीक्षण गरे पनि त्यसले समस्या समाधान नभई केवल राजनीतिक प्रचारबाजी र जनतालाई भ्रममा पार्ने काम मात्र गरेको टिप्पणी गरे। स्थानीय बासिन्दा र मधेसी समुदाय वर्षौंदेखिको ढिलासुस्तीबाट आजित भएको उल्लेख गर्दै उनले जनतामा असन्तुष्टि बढ्दै गएको बताए।
पासमानले संघीय सरकारले आवश्यक चासो नदिएको अवस्थामा मधेस प्रदेश सरकारले नै नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राखेका छन्। प्रदेश सरकारका विभिन्न शीर्षकमा विनियोजन हुने साना तथा कम प्राथमिकताका बजेट कटौती गरेर कमला पुललाई ‘मेघा प्रोजेक्ट’ का रूपमा अगाडि बढाउन सकिने उनको सुझाव छ। “प्रदेश सरकारले दृढ इच्छाशक्ति देखाउने हो भने संघीय सरकार, विकास साझेदार तथा अन्य दातृ निकायको सहयोगसमेत प्राप्त गर्न सकिन्छ,” उनले बताए।
उनका अनुसार नयाँ पुल निर्माण कार्य एक वर्षमै सम्पन्न हुन नसके पनि दुईदेखि तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरिए जनताले धैर्यपूर्वक साथ दिनेछन्। यसले मधेस सरकारप्रति जनविश्वास, अपनत्व र भरोसा समेत बढाउने उनको विश्वास छ।
पासमानले मधेस प्रदेश सरकारलाई आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कमला पुल निर्माणका लागि पर्याप्त रकम विनियोजन गर्न आग्रह गरेका छन्। साथै उनले सरकार र प्रतिपक्षबीच सहमति कायम गरी प्रदेशको साझा गौरवको आयोजनाका रूपमा परियोजना अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
उनले कमला पुल केवल एउटा भौतिक संरचना नभई मधेसको आर्थिक विकास, सामाजिक सम्बन्ध र क्षेत्रीय समृद्धिसँग जोडिएको विषय भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर तत्काल निर्णय लिनुपर्ने आवश्यकता औंल्याएका छन्।
















