काठमाडौं । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीपछि अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक तथा मानवीय सहयोग प्राप्त हुने क्रम बढेको प्रधानमन्त्री बालेन शाहले जनाएका छन् ।
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार एसियाली विकास बैंक (एडीबी) बाट बजेटरी सहयोगस्वरूप ५ मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने प्रतिबद्धता आएको छ । त्यस्तै, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १ मिलियन अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता आएको उनले जानकारी दिएका छन् ।
बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलको पुनःस्थापनाका लागि समेत अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको छ । चीनसँग ३० वटा बेलीब्रिज सहयोग माग गरिएको छ भने भारतले आइतबार २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको प्रधानमन्त्री शाहले बताएका छन् । भारतले थप सात वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको पनि उनले जानकारी गराए ।
त्यस्तै, स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसङ्घमार्फत खर्च हुने गरी १ मिलियन स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको प्रधानमन्त्री शाहले जनाएका छन्।
विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले सरकारको प्रयासमा थप बल पुगेको उनको धारणा छ।


















