रुपन्देही । बुटवल उपमहानगरपालिका-११ टप मजुवाका ५ घर बाढीले बगाएको छ।
तिनाउ नदीमा पानीको सतह बढ्दै गएपछि बुटवलको नदी छेऊमा रहेका सयौं जनालाई सुरक्षित क्षेत्रमा सारिएको थियो। जसले गर्दा मानवीय क्षति हुन पाएन।
शनिबार दिउँसोबाट बढेको तिनाउमा पानीको बहाव बढ्दै गएपछि बिनापाते, बुद्धनगर, मजुवा, टपमजुवा क्षेत्रमा नदी छेउका सयौं जनालाई नजिकै रहेको विद्यालय र मन्दिरमा सुरक्षित रुपमा सारिएको थियो।
उनीहरुलाई नबीन स्कुल, उजिर सिंह मावि, जितगढीको मन्दिरलगायतका सुरक्षित स्थानमा सारिएको छ। शनिबार साँझदेखि नदीमा पानी बढ्दै गएपछि मेयर खेलराज पाण्डे, उपमेयर सावित्रा अर्याल, वडाध्यक्ष रामचन्द्र खनाल वडा सदस्य नकुल शाहीलगायतले विभिन्न क्षेत्रमा पुगेर सामाजिक सन्जालमा लाइभ गर्दै सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिरहेका थिए।
इलाका प्रहरी, सशस्त्र प्रहरी, नगर प्रमुखसहितको टोली ठाउँ ठाउँमा खटिएको थियो।
पाल्पाको विभिन्न क्षेत्रमा पानी निरन्तर बढेपछि तल्लो तटीय क्षेत्रमा त्रास भए पनि अहिले नै धेरै खतरा नरहेको स्थानीयको भनाइ छ।


















