दलगत स्वार्थसिद्ध गर्नका लागि ल्याइएको भन्दै आलोचना

6

काठमाडौं । नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले सरकारले ल्याएको ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानुनी सिद्धान्तविपरित र दलगत स्वार्थसिद्ध गर्नका लागि ल्याइएको भन्दै आलोचना गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस विधेयकले मुलुकमा सुशासन र स्थायित्वको धज्जी उडाएको दाबी गरे। सर्वोच्च अदालतको पूर्वफैसलालाई उद्धृत गर्दै सांसद कँडेलले कानुन पुनर्जीवित गर्ने सरकारी कदम कानुनी रूपमा समेत त्रुटिपूर्ण रहेको जिकिर गरे।

सीके राउतसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले अध्यादेश निष्क्रिय भएपछि पुरानै व्यवस्था स्वतः सक्रिय हुने नजिर स्थापित गरिसकेको अवस्थामा फेरि विधेयक ल्याउनुको कुनै तुक नरहेको उनले बताए। तीन-तीन महिनामा आफ्नो स्वार्थअनुसार कानुनका दफा हटाउने र पुनः जगाउने प्रवृत्तिले देशमा थिति नबस्ने उल्लेख गर्दै उनले भने, ‘यो विधेयक नितान्त पार्टीगत स्वार्थबाट प्रेरित छ। यदि पुरानै कानुन नै जगाउने हो भने त्यतिबेला नियुक्त भएका पदाधिकारीलाई पनि ब्युँझाइदिनुस्, संसद् पनि पुरानै जगाइदिनुस्, यस्तो परिपाटीले लोकतन्त्र र कानुनी शासनलाई बलियो बनाउँदैन।’

वर्तमान सरकारले स्थायित्व र सुशासनको नारा दिएर सत्ता सम्हालेको स्मरण गराउँदै उनले यस्ता गैरजिम्मेवार कदमले मुलुकको अर्थतन्त्र र लगानीको वातावरणमा नकारात्मक असर पार्ने चेतावनी दिए। जान्नेलाई छान्ने भन्दै सत्तामा पुगेको दलले यस्तो गैरकानुनी बाटो समात्नु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले सरकारमाथि व्यङ्ग्यसमेत गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here