गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पर्यटकको प्रवेश तथा बाहिरिने विवरण अद्यावधिक गर्न क्यूआर कोड प्रणाली सुरु गरिएको छ। पर्यटकको प्रवेश प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाउने उद्देश्यले मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले क्यूआर कोड प्रविधि कार्यान्वयनमा ल्याएको हो।
मनास्लु संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी भुवनराज ओझाका अनुसार मनास्लु क्षेत्रमा प्रवेश अनुमति लिँदै पर्यटकलाई क्यूआर कोड उपलब्ध गराइनेछ। उक्त कोड स्क्यान गरेपछि पर्यटकको प्रवेश तथा बाहिरिएको विवरण राष्ट्रिय प्रकृति संरक्षण कोषको मोबाइल एपमा अद्यावधिक हुनेछ।
यसअघि पर्यटकको विवरण चेकपोस्टमा हातैले लेखेर अद्यावधिक गर्ने गरिएको थियो। नाम, राहदानी नम्बर, भिसालगायतका विवरण म्यानुअल रूपमा राख्नुपर्दा एक जना पर्यटकको विवरण प्रविष्ट गर्न चारदेखि पाँच मिनेटसम्म लाग्ने गरेको ओझाले बताउनुभयो। मुख्य पर्यटकीय सिजनमा पर्यटकको सङ्ख्या अत्यधिक बढ्दा चेकपोस्टमा घण्टौँसम्म कुर्नुपर्ने अवस्था आउने गरेको थियो।
“यसअघि हरेक पर्यटकको विवरण म्यानुअल रूपमा अद्यावधिक गरिन्थ्यो। एक जनाको विवरण राख्न चारदेखि पाँच मिनेट लाग्ने भएकाले मुख्य सिजनमा पर्यटकले चेकपोस्टमा डेढदेखि दुई घण्टासम्म कुर्नुपर्ने अवस्था थियो,” सूचना अधिकारी ओझाले भन्नुभयो।
मनास्लु क्षेत्रका सामागाउँ, साम्दो र छेकम्पारमा फोरजी सेवा विस्तार भएपछि क्यूआर प्रणाली सञ्चालनमा ल्याउन सहज भएको एमक्याप गोरखाले जनाएको छ। इन्टरनेट सेवा अवरुद्ध भएको अवस्थामा पनि क्यूआर कोड स्क्यान गर्न सकिने र इन्टरनेट सेवा पुनः सञ्चालन भएपछि पर्यटकको विवरण स्वतः अद्यावधिक हुने व्यवस्था गरिएको ओझाले बताउनुभयो।
असोज–कात्तिक मनास्लु क्षेत्रको मुख्य पर्यटकीय सिजन हो। यस अवधिमा हजारौँ पर्यटक मनास्लु क्षेत्रमा पुग्ने गर्छन्। अहिले पनि दैनिक करिब तीन सय पर्यटक मनास्लु क्षेत्रमा प्रवेश गरिरहेको एमक्यापले जनाएको छ।
क्यूआर कोड प्रणालीले पर्यटकको प्रवेश व्यवस्थापनलाई सहज बनाउनुका साथै तथ्याङ्क सङ्कलन र अभिलेखीकरणलाई पनि थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। नयाँ प्रणाली लागू भएसँगै पर्यटकको विवरण प्रविष्ट गर्न लाग्ने समय घट्ने र चेकपोस्टमा हुने लामो प्रतीक्षा कम हुने विश्वास गरिएको छ।


















