काठमाडौं । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले नेपाल संवत नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीको मौलिक संवत भएको जनाएका छन् ।
मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल संवत नेपालको मौलिक पहिचान र राष्ट्रिय स्वाभिमानसँग जोडिएको जनाएका हुन् ।
उनले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाले सर्वसाधारण जनतालाई ऋणमुक्त गराएर मानवता र परोपकारको उत्कृष्ट उदाहरण प्रश्तुत गरेको उल्लेख गरे । साख्वाको योगदानलाई आर्थिक तथा सामाजिक क्रान्तिका रूपमा लिनुपर्ने उनको धारणा छ ।
‘शङ्खधर साख्वाःले ऋणमा डुबेका सर्वसाधारण जनतालाई ऋणमुक्त गराई मानवता, परोपकार र सामाजिक न्यायको अनुपम उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले कुनै शासकको नाममा नभई नेपाल देशकै नाममा नेपाल सम्वत प्रचलनमा ल्याउनु हाम्रो राष्ट्रिय गौरव र मौलिक पहिचानको विषय हो,’ उनले भने ।
श्रेष्ठले नेपाल संवत प्रारम्भ भएको दिनलाई जनताको ऋणमुक्तिको दिन अर्थात मुक्ति दिवसका रूपमा समेत लिन सकिने जनाए । कुनै राजा वा शासकले नभई एक सामान्य नेपाली नागरिक तथा व्यापारीले जनताको हितका लागि आफ्नो नाममा नभई देशकै नाममा संवत स्थापना गर्नु गौरवको विषय भएको उनले उल्लेख गरे ।
उनले पञ्चायतकालमा नेपाल संवत र शङ्खधर साख्वालाई लोकतान्त्रिक आन्दोलनको प्रतीकका रूपमा अघि सारिएको स्मरण गर्दै त्यसैका कारण नेपाल संवत् नेवार समुदायको मात्र हो भन्ने भ्रम सिर्जना भएको जनाए । नेपाल संवत सम्पूर्ण नेपालीका लागि स्थापना भएको मौलिक संवत् भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सबैको दायित्व रहेको उनको धारणा छ ।
‘नेपाल सम्वत कुनै एक जाति वा समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय संवत हो । यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो । नेपाल सरकारले नेपाल सम्वतलाई राष्ट्रिय संवत् र शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता दिनु ऐतिहासिक उपलब्धि हो,’ उनले भने ।
नेपाल सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा घोषणा गर्नु र सरकारी कार्यालयका लेटरप्याडमा समेत यसको प्रयोग सुरु गर्नु सकारात्मक भएको उनले जनाए ।
यद्यपि, नेपाल संवत्को प्रयोग र महत्वबारे आम नागरिकमा अझै पर्याप्त जानकारी नरहेको भन्दै यसको व्यापक प्रचारप्रसार आवश्यक रहेको उनले औल्याए । नेपाल संवतको प्रवद्र्धनका लागि शङ्खधर साख्वाको नाममा विश्वविद्यालय स्थापना गर्न, मुद्रा तथा पाठ्यपुस्तकमा नेपाल संवत्को मिति र तिथिलाई समावेश गर्न तथा विद्यालय तहदेखि नै यसको इतिहास र महत्वबारे अध्ययन गराउनुपर्ने प्रस्तावसमेत उनले राखे ।
‘अब विद्यालयका पाठ्यपुस्तक, सरकारी कामकाज र राष्ट्रिय दस्तावेजहरूमा यसको प्रयोग अझ व्यापक बनाउन आवश्यक छ । नयाँ पुस्तालाई शङ्खधर साख्वाःको योगदान र नेपाल सम्वत्को ऐतिहासिक महत्वबारे जानकारी गराउनु हाम्रो जिम्मेवारी हो,’ उनले भने ।


















