काठमाडौं । देशभरका अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याइएको निःशुल्क शय्याको उपलब्धता अब अनलाइनबाटै सहजै हेर्न सकिने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क उपचार सेवालाई प्रभावकारी, पहुँचयोग्य र पारदर्शी बनाउने उद्देश्यले ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएसँगै सर्वसाधारणले घरमै बसी शय्याको अवस्थाबारे जानकारी पाउन सक्नुहुने भएको हो ।
नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था सुनिश्चित गरेको छ । सोही संवैधानिक हक र नेपाल सरकारको ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७’ को दफा ७० ‘घ’ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले यो अनलाइन प्रणालीको विकास गरेको हो ।
उक्त मापदण्डअनुसार अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याई अनिवार्य रूपमा निःशुल्क उपचार उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ । विगतमा अस्पतालमा निःशुल्क शय्या खाली भएरनभएको जानकारी नहुँदा लक्षित वर्गका बिरामीले सास्ती खेप्नुपरेको गुनासो आउने गरेको थियो ।
मन्त्रालयका अनुसार सर्वसाधारणले पोर्टलको आधिकारिक वेबसाइट https://freehealth.mohp.gov.np/ मा गएर कुन अस्पतालमा कति निःशुल्क शय्या उपलब्ध छन् भन्ने वास्तविक विवरण हेर्न सक्नुहुनेछ । साथै, सेवा लिनका लागि आवश्यक पर्ने थप जानकारी तथा समन्वयका लागि सोही वेबसाइटमा सम्बन्धित अस्पतालको सम्पर्क व्यक्ति (फोकल पर्सन) को फोन नम्बरसमेत उपलब्ध गराइएको छ । यस प्रणालीले लक्षित वर्गलाई छिटो, छरितो र झन्झटरहित ढङ्गले निःशुल्क उपचार सेवा प्राप्त गर्न मद्दत पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।


















