काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमण द्विपक्षीय आर्थिक सहकार्य, व्यापार, लगानी, ऊर्जा र पूर्वाधार विकासमा केन्द्रित हुने भएको छ। भ्रमणका क्रममा नेपाल–भारतबीच विभिन्न परियोजनाको उद्घाटन, शिलान्यास तथा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिन शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले आपसी सहयोग र सहकार्यका साथै विकास निर्माण एवं आर्थिक गतिविधिलाई भ्रमणको प्राथमिकतामा राखिएको जनाए।
उनका अनुसार भ्रमणका क्रममा द्विपक्षीय सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गरिनेछ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्न विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ। यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ।
नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल–भारत बिजनेस फोरम पनि आयोजना गरिने भएको छ। उक्त फोरममा भारतीय व्यवसायीका चासो र सरोकार सम्बोधन गर्दै नेपालमा लगानीका अवसरबारे जानकारी गराइनेछ। भारतीय लगानी बढाउन सरकारले अपनाएका नीतिगत व्यवस्था र प्रयासबारे पनि प्रस्तुत गरिने परराष्ट्र सचिव राईले बताए।
प्रधानमन्त्रीको भ्रमणमा नेपाली निजी क्षेत्रको पनि सहभागिता रहनेछ। आफ्नै खर्चमा उद्यमी तथा व्यवसायी सम्मिलित ५२ सदस्यीय टोली भ्रमणमा सहभागी हुने भएको छ। नेपाली र भारतीय व्यवसायीबीच सहकार्य विस्तार गर्न बिजनेस फोरमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
‘नेपाल–भारतबीच सदिऔँदेखिको मित्रवत् सम्बन्धलाई अझ सुदृढ गर्दै सहकार्य र सहयोगात्मक साझेदारीको भावनाअनुरूप दुवै देशका प्रधानमन्त्रीबीच पारस्परिक हित र चासोका समग्र विषयमा छलफल हुनेछ,’ सचिव राईले भने।
प्रधानमन्त्री शाहले मंसिर ७ गते सोमबार भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोही दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।
त्यसअघि आइतबार भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री शाहले आइतबार नै नयाँदिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम पनि छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ अधिकारी, व्यवसायी र पत्रकारसहित ३४ सदस्य रहनेछन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राजनीतिक, कूटनीतिक तथा बौद्धिक क्षेत्रले महत्त्वका साथ हेरेको छ। भ्रमणबाट दुई देशबीचको परम्परागत सम्बन्धलाई आर्थिक साझेदारी, लगानी र विकास सहकार्यमा थप विस्तार गर्ने अपेक्षा गरिएको छ।


















