हेटौडा। बागमती प्रदेशसभामा मुख्यमन्त्रीको रुपमा किरण थापा मगर आउनु भएपछि पहिलो पटक प्रदेश सभा बैठक बस्ने भएको छ। बागमती प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत १९ औँ बैठक मंसिर १५ गते बस्ने भएको हो।
गत भदौ ९ गते मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिनुभएपछि प्रदेशसभा बैठक बसेको छैन । प्रदेशसभा सचिवालयको सूचना अनुसार मंसिर १५ गते दिउँसो १ बजे बस्नेगरि बैठक बोलाइएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुख अप्सरा चापागाईंले बैठक आह्वान गर्नुभएको हो ।
प्रदेशसभा सभामुखविहीन
बागमती प्रदेशसभा १४ महिनादेखि सभामुखविहीन छ। लामो रस्साकस्सीमा समेत प्रदेशको सत्तारुढ गठबन्धनभित्र सहमति हुन नसक्दा सभामुख पद रिक्त रहेको हो। सत्ता पक्षीय दलहरुबिचको आपसी विवादका कारण सभामुख चयन प्रक्रिया अघि बढ्न नसकेको आरोप खेक्दै आएको छ । बागमती प्रदेश सभा २०८२ असोज १ देखि सभामुखविहीन।
नवयुवा आन्दोलनपछि तत्कालीन सभामुख भुवनकुमार पाठकले सोही असोज १ मा राजीनामा दिनुभएको थियो । त्यस यता अघिल्लो सरकारले सभामुख चयन प्रक्रिया अघि बढाउने प्रयास गरे पनि दलहरूबिच सहमति जुटेन। गत भदौमा नयाँ प्रदेश सरकार गठन भएपछि सभामुख पदको टुङगो लगाउन गरिएको प्रयास निर्णायक हुन नसकेको बताइएको छ।
सत्तारुढ दल नेकपा (एमाले) र नेकपाबिच सभामुख चयनको विषयमा सहमति खेज्ने क्रम जारी रहेको छ । सरकार गठनका क्रममा सभामुखसहित दुई मन्त्रालय नेकपाले पाउने र मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमालेले लिने सहमति भएको थियो। सोहीअनुसार एमालेका किरण थापा मुख्यमन्त्री बन्नुभयो । अहिले नेकपा, राप्रपा र एमालेबिच साझेदारीमा यो पदपुर्तिको प्रयास जारी रहेको स्रोतको दाबी छ।


















