वरिष्ठ प्रहरी उपरीक्षक न्यौपाने र प्रहरी निरीक्षकको अन्त्येष्टि

318

काठमाडौँ, ८ भदौ । कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनामा आन्दोलनकारीका आक्रमणबाट निधन हुनुभएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको आज पशुपति आर्यघाटमा सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

न्यौपानेको पार्थिव शरीरमा उहाँका छोरा सन्देशले दागबत्ती दिनुभयो । दागबत्ति दिनुअघि प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । त्यसअघि न्यौपानेको पार्थिव शरीर गौशालास्थित महानगरीय प्रहरी वृृत्तमा श्रद्वाञ्जलिका लागि राखिएको थियो । गौशालाबाट आर्यघाटसम्म न्यौपानेको शवयात्रा गरिएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम आर्यघाटमा पुगी न्यौपानेलाई श्रद्धाञ्जलि दिनुभएको थियो । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, सिँचाइमन्त्री एनपी साउद, नेपाली सेनाका कामु प्रधानसेनापति राजेन्द्र क्षत्री, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलगायत पूर्व र बहालवाला सुरक्षा निकायका अधिकारी न्यौपानेलाई श्रद्वाञ्जलि दिन गौशाला पुग्नुभएको थियो ।

सोमबार वरिष्ठ प्रहरी उपरीक्षक न्यौपानेसहितका सात सुरक्षाकर्मी र एक बालक आन्दोलनकारीको आक्रमणमा मारिएका थिए । स्व न्यौपानेका श्रीमती, एक छोरा र छोरी छन् ।
भीमदत्तनगर– टीकापुरमा सोमबार हत्या गरिएका नेपाल प्रहरीका दुई प्रहरी निरीक्षकको आज गृहजिल्ला कञ्चनपुरमा अन्त्येष्टि गरिएको छ ।

मृत्यु भएका कञ्चनपुर झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर घर भएका बलराम विष्ट र बेलौरी नगरपालिका–८ विद्यानगर घर भएका केशव बोहराको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी निरीक्षक विष्ट र बोहराको शव आजै घरमा पु¥याइएको थियो । विष्टको महाकाली नदी र बोहराको दोदा नदीमा अन्त्येष्टि गरिएको हो । निरीक्षकद्वयको शव घरमा आइपुग्दा गाउँमा सन्नाटा छाएको थियो । उहाँहरुको शवयात्रामा प्रहरी र सयौंँ सर्वसाधारण सहभागी हुनुहन्थ्यो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here