काठमाडौँ, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको उपचारका क्रममा अमेरिकाको कोलोराडोमा निधन भएको छ । क्यान्सरको उपचार गराइरहेका गुरुङको शनिवार राति मृत्यु भएको हो । स्याङ्जाको पञ्चमूल सिरुवारीमा २०१२ सालमा जन्मिएका गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद् थिए । गुरुङको निधनमा राप्रपा नेपालले सात दिन शोक मनाउने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बिहान पार्टी कार्यालय, धुम्बाराहीमा बसेको आकस्मिक बैठकले सात दिनसम्म शोक मनाउने, तीन दिनसम्म पार्टीको झन्डा झुकाउने र १३ दिनसम्म पार्टीले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निणर्य गरेको छ ।
बैठकले गुरुङको पार्थिव शरीरलाई नेपाल ल्याउने र वैद्धिक परम्पराअनुसार दाहसंस्कार गर्नेलगायत व्यवस्थापनका लागि पार्टी उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।