काठमाडौं, मंसिर २ । आईसीसी विश्वक्रिकेट लिग च्याम्पियनसीपको दोस्रो चरणको दोस्रो खेलमा नेपालले फेरि पनि हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल पपुवा न्युगिनीसँग ३ विकेटले पराजित भएको छ ।
नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । तर नेपालको सुरुवात खराब रह्यो । एक ओभरमा आफ्ना दुई ओपनिङ ब्याटसम्यान सुवास खकुरेल र अनिल मण्डललाई नेपालले गुमाएको थियो । नेपालका मध्यक्रमका ब्याटसम्यानले सम्हालिएर खेल्दा नेपालले २ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पपुवा न्युगिनीले २ बल बाँकी छँदा ७ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो ।
खेलको अन्तिमसम्म नेपालले पपुवान्युगिनीमाथि दबाब राखे पनि ज्याक भारेले ७६ रनको उत्कृष्ट इनिङ खेलेपछि नेपाल पराजित भएको हो । उनलाई जोन रिभाले ३१ रन बनाएर राम्रो साथ दिए । त्यस्तै सेसे बाउले पनि ३६ रनको योगदान दिए ।
नेपालका लागि सोमपाल कामीले ३ तथा बसन्त रेग्मीले २ विकेट लिए भने सागर पुन र शक्ति गौचनले १–१ विकेट लिए ।
अघिल्लो खेलमा नेपाल पपुवा न्युगिनीसँग २ विकेटले पराजित भएको थियो । यो हारसँगै नेपालले अंकतालिका कुनै अंक जोड्न सकेन । नेपालले केही महिनाअघि स्कटल्याण्डसँग खेलेको दुवै खेलमा पनि हार व्यहोरेको थियो ।