काठमाडौं । बार्सिलोनाले ६१औं जोआन गाम्पर ट्रफी जित्दै २०२६–२७ सिजनको औपचारिक सुरुवात गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा स्पेनिस च्याम्पियन बार्सिलोनाले इजिप्टको अल अहलीलाई २–१ ले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो ।
यस संस्करणको गाम्पर ट्रफी विशेष रह्यो, किनभने अल अहली प्रतिष्ठित प्रि–सिजन प्रतियोगिता खेल्ने पहिलो अफ्रिकी तथा अरब क्लब बन्यो । खचाखच भरिएको क्याम्प नोउमा भएको खेलले विश्व फुटबलका दुई फरक महादेशका सफल क्लबबीचको ऐतिहासिक भिडन्तको रूप लिएको थियो ।
दोस्रो हाफमा अल अहलीका जिजोले गोल गर्दै गोल अन्तर घटाए । बार्सिलोनामा यसै सिजन भित्रिएका एन्थनी गोर्डनले पेनाल्टी मिस गर्दा बार्सिलोना फेरि दुई गोलको अग्रता बनाउन भने चुक्यो ।
हरेक वर्ष ला लिगा सुरु हुनुअघि आयोजना हुने यो खेल बार्सिलोनाको पहिलो टोलीलाई घरेलु समर्थकमाझ औपचारिक रूपमा प्रस्तुत गर्ने परम्परागत कार्यक्रम पनि हो । त्यसैले गाम्पर ट्रफीलाई बार्सिलोनाको ‘सिजन कर्टेन–रेजर’ का रूपमा चिनिन्छ ।
अफ्रिकाकै सबैभन्दा सफल क्लबमध्ये एक अल अहलीले पहिलोपटक गाम्पर ट्रफीमा सहभागिता जनाउँदै नयाँ इतिहास रच्यो । इजिप्टियन च्याम्पियनले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि अन्ततः बार्सिलोनाको घरेलु मैदानमा उपाधि उचाल्न भने सकेन ।
बार्सिलोनाले अब यही जितको आत्मविश्वासका साथ नयाँ ला लिगा सिजनको तयारी पूरा गरेको छ ।


















