काठमाडौं/ नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भारत र बेलायतलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । विप्लवले नोभेम्बर १२ तारिखका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेबिट क्यामरुनद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपालको सन्दर्भमा दिइएको अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता विषयमा संवेदनशील हुन दुवै मुलुकलाई चेतावनी दिएका छन् । नेपालमा जारी संविधान र वर्तमान राज्य व्यवस्थाप्रति पार्टी सहमत नभएको र घोषित संविधानबाट नेपाली जनताले विगतमा गरेका सबैखाले संघर्षहरूबाट प्राप्त अधिकारहरूलाई कटौती र कुण्ठित गरेको भए पनि यो नेपालको आन्तरिक मामिला भएकाले हस्तक्षेप नगर्न उनले चेतावनी दिएका छन् । नेपालको आन्तरिक पक्षमा भएका संघर्षहरूको अनुचित फाइदा उठाई केही समयदेखि भारतीय शासक वर्गहरूको नेपालमा अनावश्यक र अस्वाभाविक क्रियाशीलता बढ्दै गएको र नेपालको तराई र मधेसमा भएका आन्दोलनमा भारतीय शासक वर्ग त्यसमा पनि मोदी सरकारको रवैयाले नेपालको राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथिको ठाडो हस्तक्षेप गरेको भन्दै माओवादीले विरोध जनाएको छ ।
मधेशमा भएको आन्दोलनलाई ‘बाादरलाई लिस्नो’ को रूपमा प्रयोग गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुनविपरीत नाकाबन्दी गर्दै आएका कारण नेपालमा आर्थिक संकट सिर्जना हुनुका साथै गम्भीर मानवीय संकट पैदा भइराखेको भन्दै उनले यसबाट सम्पूर्ण नेपाली जनता भारतको यो रवैयाप्रति चिन्तित र आक्रोशित हुनु स्वाभाविक भएको जनाएका छन् । विप्लवले नेपाल र नेपालीको यो अवस्थाप्रति अन्तर्राष्ट्रिय क्षेत्रको पनि ध्यानाकर्षण भइराखेको अवस्थालाई भ्रमित पार्न र नेपालमा थप संकट पैदा गरी त्यसबाट अनुचित लाभ लिनका लागि यो वक्तव्यबाजी गरिएको आरोप लगाएका छन् । विप्लवले भारतीय शासक वर्गले नेपालमाथि थोपरेको नाकाबन्दी, नेपाली भूभागमाथिको अतिक्रमण, नेपालको आन्तरिक मामिलाको सूक्ष्म व्यवस्थापनमाथिको हस्तक्षेपविरुद्ध सशक्त संघर्षमा उत्रिने घोषणा समेत गरेका छन् ।