काठमाडौं/ नेपाल र बेलायतबीच सन् १८१५ मार्च ४ मा सुगौली सन्धि भएको २ सयवर्ष पुगेको सन्दर्भ पारेर यही फागुन २१ गते शुक्रबारका दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय राजदूतावास अगाडि सुगौली सन्धिको प्रतिलिपि जलाउन खोज्दा प्रहरीसाग भएको झडपपछि मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल र उपाध्यक्ष बी.एन.शर्मासहित ११ जना पक्राउ परेका छन् । पक्राउ परेका मोर्चाका कार्यकर्तालाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको थियो ।
ग्रेटर नेपालको व्यानरसहित भारतीय दूतावासतर्फ जाने क्रममा प्रहरीले उनीहरूलाई लैनचौरमै रोकेको थियो । मोर्चाका अध्यक्षले त्यहीं सन्धि जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरीसाग केहीबेर तानातान भएको थियो । प्रहरी हस्तक्षेपपछि प्रदर्शनकारीले भारतविरुद्ध चर्को नाराबाजीपछि प्रहरीले पहिले मोर्चाका अध्यक्षलाई पक्राउ गरी प्रहरी भ्यानमा हालेको थियो । त्यसपछि कार्यकर्ताले झन् चर्को नारा लगाएपछि उनीहरूलाई पनि भ्यानमा हालिएको थियो । सन् १८१६ मार्च ४ मा नेपाल र बेलायतबीच भएको सुगौली सन्धिपछि सन् १८१६ डिसेम्बर ११ र सन् १८६० नोभेम्बर १५ मा दुई पटक जमिन फिर्ता भए पनि अझै ६० हजार वर्ग कि.मि. भू–भाग भारतमा रहेकोले टिस्टा वारी र सतलज वारीको सो भू–भाग फिर्ता हुनुपर्ने माग मोर्चाले गर्दैआएको छ । शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी हस्तक्षेपको निन्दा गर्दै मोर्चाका अध्यक्ष नेपालले जमिन फिर्ता नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।