भक्तपुरमा नेवाः पत्रकारको अधिवेशन सम्पन्न

175

भक्तपुर । नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । भक्तपुरमा आयोजना गरिएको सो अधिवेशनको उद्घाटन नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले गर्नुभएको थियो ।
कार्कीले देशको सार्वभौमिता, स्वतन्त्रता र राष्ट्रिय अखण्डता खतरामा परेका बेला सबै भाषाभाषी, जातजाति तथा क्षेत्रका सञ्चारकर्मीहरु यसको सुरक्षामा लाग्नुपर्ने बताउनुभयो । उहाँले सञ्चारकर्मी तथा सञ्चारमाध्यमले कुनै पनि क्षेत्रमा समस्या बढाउनेभन्दा भइरहेको समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

 

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले श्रमजीवी पत्रकारहरुको अवस्था दयनीय भएकाले पत्रकारितालाई मर्यादित, व्यवस्थित र आकर्षित गर्न श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार पाँच सय र सञ्चार खर्च एक हजार गरी २० हजार पाँच सय सिफारिस गरिएको बताउनुभयो । नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले नेपाल पत्रकार महासंघ सबै भाषाभाषी र जातजाति तथा क्षेत्रका सञ्चारकर्मीहरुको साझा संस्था हुन नसकेको गुनासो गर्नुभयो । नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय उपाध्यक्ष राज्यलक्ष्मी शाक्यले महिला पत्रकारको संख्या अत्यन्त न्यून भएका कारण महिलालाई पनि पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न नेपाल पत्रकार महासंघलगायत संस्थाबाट नै विशेष योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

सो अधिवेशनले ईश्वरकाजी खाइजूको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा सुन्दर शिल्पकार, सचिव सिमान्त शिल्पकार, सहसचिव रामगोपाल तमखु र कोषाध्यक्षमा दीपक श्रेष्ठ चुनिएका छन् । सदस्यहरुमा रमिता त्वानावासु, रीता दुवाल, प्रतिमा सैंजू, सुरेन्द्र श्रेष्ठ, किरण सुवाल, नारायण त्यात, प्रकाश मल्ल र राजन गरु सर्वसम्मत भएका छन् । कीर्तिपुरमा आगामी वैशाख ११ गते हुन गइरहेको नेवाः राष्ट्रिय पत्रकारको दोस्रो राष्ट्रिय महाधिवेशनका लागि ११ जना पार्षद् सदस्यहरु सो भेलाले चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here