काठमाडौं/ नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच नेपालको पर्यटन प्रवद्र्धनका लागि सम्झौता भएको छ । सम्झौतामा एनआरएनएका केन्द्रीय उपाध्यक्ष भवन भट्ट र नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सम्झौताले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । त्यस्तै, पर्यटन सचिव प्रेमकुमार राईले पर्यटन प्रवद्र्धनमा कूटनीतिक नियोग, एनआरएनए, पर्यटन बोर्ड र सरकारले संयुक्त रूपमा पहल गर्ने जनाए । कार्यक्रममा बोल्दै एनआरएनएका उपाध्यक्ष तथा टुरिजम प्रमोशन नेपाल कमिटीका अध्यक्ष भवन भट्टले अभियानबाट आफू उत्साहित भएको र यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने दाबी गरे ।
नेपालमा विदेशी पर्यटकहरू भित्र्याउने उद्देश्यसहित सुरु गरिएको ‘अतिथि देवो भव:’ अभियानअन्तर्गत एनआरएनए, पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत संलग्नता हुने जनाइएको छ । उक्त अभियानलाई भवन भट्ट अध्यक्ष रहेको टुरिजम प्रमोशन नेपाल कमिटीले व्यवस्थापन गर्नेछ । अभियानको मुख्य उद्देश्य नेपालमा गुणात्मक र संख्यात्मक पर्यटक आगमन बढाउनु रहेको छ । त्यस्तै नेपालभित्र राष्ट्रियस्तरमा अतिथि सत्कारको क्षेत्रमा जागरुकता ल्याउने र आतिथ्यलाई क्रियाकलापमा परिवर्तन गर्ने किसिमका कार्य गर्ने, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने, आन्तरिक पर्यटन वृद्धि गर्ने, विदेशमा नेपालका पर्यटकीय क्षेत्र तथा आतिथ्यको ७५ मुलुकमा रहेको एनआरएनए नेटवर्क प्रयोग गरी त्यहााका सरकारी निकायका साथै नेपालीको सहयोगमा अतिथि देवो भव: अभियान प्रचारप्रसार गर्ने लगायतका उद्देश्य रहेका छन् ।