काठमाडौं/ भारत र पाकिस्तानबीच आतंकवादी हमलाको घटनालाई लिएर सुरु भएको विवादपछि पाकिस्तानलाई एक्ल्याउने रणनीति लिएको भारतले अन्य सार्क मुलुकसागै नेपालले पनि भारतलाई साथ दिएको जनाएको छ । पाकिस्तानमा हुने भनिएको १९औं सार्क शिखर सम्मेलनमा भारतले सहभागिता नजनाउने जनाएपछि अन्य कतिपय सार्क मुलुकहरूले पनि सहभागिता नजनाउने खबर अध्यक्ष मुलुक नेपाललाई पठाएका थिए । अध्यक्षको हैसियतले सार्क सम्मेलनको लागि पहल गर्नुपर्ने नेपालले पनि गत आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै भारतको निर्णयलाई समर्थन गरेको आशय व्यक्त गरेपछि भारत हौसिएको छ । नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेपछि भारतीय मिडियाले भारतले पाकिस्तानलाई एक्लो पार्ने नीतिलाई नेपालले पनि समर्थन गरेको जनाएका छन् । नेपालले असंलग्न मुलुकको रूपमा आफूलाई उभ्याउादै आएकोमा पछिल्लो पटक प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको सम्झौतापछि आफ्नो विगतको नीतिबाट यु टर्न गरेको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई मुलुकबीच अन्तर्राष्ट्रिय फोरममा साझा धारणा बनाउने सहमति भएको थियो ।
भारतीय अखबार दि इन्डियन एक्सप्रेस, टाइम्स अफ इन्डियालगायतका सञ्चारमाध्यमहरूले नेपालले भारतीय नीतिलाई समर्थन गरेको भन्दै समाचार प्रकाशित गरेका छन् । भारतीय पत्रिका इन्डियन एक्सप्रेसले त भारतीय विदेश मन्त्रालयले सार्क सदस्यहरूलाई पाकिस्तानको सीमा क्षेत्रमा सर्जिकल आक्रमण गर्नुभन्दा एक दिन पहिले फोनमार्फत सम्मेलन स्थगन गर्न आग्रह गरेको समेत उल्लेख गरेको छ ।


















