सरकारभन्दा शक्तिशाली सुजाता

268

काठमाडौ÷ माथिको शीर्षक हेरेपछि अवश्य पनि पाठकहरूलाई आश्चर्य लाग्नेछ । सरकारभन्दा एक जना व्यक्ति कसरी शक्तिशाली हुनसक्छ भनेर आश्चर्य मान्नु स्वभाविक नै हो । तर उनै सुजाताको स्वास्थ्य उपचारका लागि रकम निकासा गर्ने विषयमा नेपाल सरकार सुजाताभन्दा कमजोर देखिएको छ । बहुदलीय व्यवस्थालाई सबैभन्दा धेरै बदनाम गर्ने एउटा घटना तत्कालीन शाही नेपाल वायु सेवा निगममा भएको थियो । जुन घटनालाई ‘धमिजा काण्ड’ भनेर चर्चा गर्ने गरिन्छ । त्यस घटनाको प्रमुख पात्रका रूपमा चर्चित सुजाता कोइराला नेपाली राजनीतिमा त्यसपछि मात्र चर्चामा आएकी हुन् । धमिजा काण्डमा गिरिजाप्रसाद कोइरालाले समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिनुपरेको थियो । आफ्ना पितालाई समेत बदनाम गराउने सुजाता कोइराला धमिजा काण्डपछि चर्चित पात्र बनिन् । यिनै सुजाताले लाउडा विमान काण्ड पनि गराउन सफल भइन् । पछि विभिन्न कारोबारहरूमा बदनामी कमाउँदै आएकी जर्मनी नागरिकसँग विवाह गरेकी यी महिलाले आफ्नी छोरीको विहे बंगलादेशका नागरिकसँग गराएकी छिन् । यिनै कांग्रेसी महिला नेतृ बनेकी सुजाता अहिले सरकारभन्दा पनि शक्तिशाली बन्न पुगेको छिन्, जसले उपचार खर्चका नाममा सरकारी कार्यविधिलाई नै रोकेर राज्य कोषको ५० लाख रूपैयाँ हात पार्न सफल भएकी छिन् । कोइरालालाई गृहमन्त्रालयको सिफारिसमा ५० लाख सहायता गर्ने तयारी छ । उनको सहायता रकम निकासाका लागि सरकारले नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी दोस्रो संशोधन कार्यविधि २०७३ लाई नै रोकेको छ ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधिमा वर्तमान र भुतपूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सर्वोच्व अदालतका प्रधानन्यायाधीश, उपसभाभुख, उपप्रधानमन्त्री तथा मन्त्री, राज्य मन्त्री, सहायक मन्त्री, सांसद, संवैधानिक निकायका बर्तमान तथा भूतपूर्व पदाधिकारीहरूलाई बढिमा १५ लाख रूपैयाँसम्म औषधि उपचार सहायता उपलव्ध गराइने उल्लेख गरिएको छ । उक्त कार्यविधि समयमै पारित भएको भए सुजाताले स्वास्थ्य उपचारका नाममा राज्यकोषबाट यति ठूलो रकम हात पार्न सक्ने थिइनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here