रसिया÷ अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हासिल गरेपछि डोनाल्ड्र ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । आफ्ना राष्ट्रपति र अमेरिकी नवनिर्वाचित राष्ट्रपतिबीच टेलिफोन सम्वाद भएको पुष्टि गर्दै क्रेमलिनले भनेको छ, ‘दुवै राष्ट्रपति अमेरिका रुस सम्बन्ध सामान्य गर्ने प्रयास गर्न सहमत भएका छन् ।’
फोनवार्तामा रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई चुनावी कार्यक्रम लागू गर्नमा सफलताको शुभकामना व्यक्त गरेका थिए । ट्रम्पले रुसको साथ स्थायी सम्बन्ध बनाउन चाहेको जनाएका थिए । चुनावी अभियानका क्रममा ट्रम्पले पुटिनको प्रशंसा गरेका थिए ।
यसैबीच अमेरिकी राष्ट्रपति बराक ओबामाले भनेका छन् कि नवनिर्वाचित राष्ट्रपति ट्रम्प एक बलियो नेटो बनाउनका लागि प्रतिबद्ध हुनेछन् ।
यता रुसी राष्ट्रपतिको मुख्यालय क्रेमलिनले भनेको छ, ‘पुटिन र ट्रम्पबीच सिरियाको बारेमा पनि चर्चा भएको थियो र दुईबीच सहमति भएको छ कि वर्तमान रुसी–अमेरिकी सम्बन्ध ‘अन्त्यन्त सन्तोषजनक’ छ ।
उनीहरूबीच यो विषयमा पनि चर्चा भएको थियो कि आगामी वर्ष अमेरिका र रुसबीच सम्बन्ध स्थापना भएको २ सय १० वर्षको अवसरमा आपसमा व्यावहारिक, पारस्परिकरूपमा लाभप्रद सहयोगका लागि प्रोत्साहन गर्नुपर्छ ।
क्रेमलिनले भनेको छ, ट्रम्प र पुटिन दुवैजना टेलिफोन सम्पर्कमा रहँदै गर्ने तथा भविष्यमा समय मिलाएर भेट्ने सहमति पनि गरेका छन् । तर क्रेमलिनले दुईमध्ये कसले फोन गरेको भन्ने चाहिँ खुलाएको छैन ।
यसअघि डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि टेलिफोन वार्ता भइसकेको छ ।

















