महिलाहरू कहिलेसम्म प्रताडित हुनुपर्ने हो ?

182

राज्यलक्ष्मी शाक्य

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला हालै मात्र काभे्रकी लक्ष्मी परियारलाई बोक्सीका आरोपमा मलमूत्र खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । दलित समुदायकी लक्ष्मीमाथि बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाउने भनिएका हिरा लामा जो आफैँ गाउँको स्कुलमा सामाजिक शिक्षा बढाउने शिक्षक भएको खुल्न आएको छ । सामाजिक शिक्षा आफैँमा समाजमा हुने विकृति, विसंगति तथा कुसंस्कारलाई हटाउन प्रेरित गर्ने शिक्षा हो । समाजमा हुने सबै किसिमका विभेदको अन्त्य गर्न सकियोस् र समाजलाई प्रगतिशील बाटोमा अघि बढाउन सकियोस् भनेरै विद्यार्थीहरूलाई सामाजिक शिक्षा अध्ययन गराउने गरिन्छ । तर काभ्रेमा एउटा शिक्षकबाट जुन किसिमको घटना गराइयो, यसले हामीले निर्माण गर्न खोजेको समाज कस्तो हो भन्ने पुष्टि गरेको छ । समाजलाई राम्रोसँग बुझेकै व्यक्तिबाट यस्ता घटनाहरू हुन थालेपछि त्यस्ता व्यक्तिबाट सामाजिक ज्ञान प्राप्त गर्नेहरूको व्यवहार कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ ।
महिलाहरूमाथि हुने लैंगिक हिंसाहरू रोकिनुपर्ने भन्दै प्रत्येक वर्ष हप्ताँैसम्म पाँच तारे होटलमा ठूलो धनराशी खर्च गरेर सेमिनार गोष्ठीहरू आयोजना भइरहन्छन् । महिला हिंसा तथा सामाजिक विभेद अत्य गर्न भन्दै राज्यले पनि करोडाँै रकम लगानी गर्ने गरेको छ । तर महिलाविरुद्ध हुने हिंसा तथा शोषणका घटनाहरू भने यथावत् नै छन् । काभ्रेकी लक्ष्मी परियार प्रतिनिधि पात्र मात्र हुन् । हरेक वर्ष सरकार तथा महिला अधिकारका लागि काम गर्ने भनिएका कथित संघसंस्थाहरूले लैंगिक हिंसाविरुद्ध चर्काे आवाज उठाउने गरेका छन् तर त्यही बेला महिला हिंसाका कहालीलाग्दा घटनाहरू सार्वजनिक हुने गरेका छन् । महिला हिंसा अन्त्य गर्न भन्दै राज्यले कानुनलाई पनि महिलामैत्री बनाएको छ । तर कानुनको पालना गराउने सुरक्षा निकायबाटै महिलाहरूमाथि हिंसात्मक व्यवहार भइरहेका घटनाहरू बेलाबेलामा सार्वजनिक भइरहेका छन् । काभ्रेकै घटनामा पनि एउटा दलित महिलामाथि अमानवीय व्यवहार भएको छ तर जनताको सुरक्षाका लागि खटिएका प्रहरीहरूबाट पीडितलाई न्याय दिने तथा अपराधीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टामा मिलापत्र बनाएर छोडिएको घटना सार्वजनिक भएको छ । यसले महिला हिंसाविरुद्धका घटना कम गराउन होइन, अपराधीलाई यस्ता घटनाहरू दोहो¥याउन थप टेवा पुग्छ । त्यसैले काभ्रेको घटनामा सुरक्षाकर्मीहरू पनि दोषी देखिन्छन् ।
एकातर्फ राज्यका महत्वपूर्ण अंगहरूमा महिलाहरूले नेतृत्व गरिरहेका छन् । अर्काेतर्फ त्यही राज्यमा महिलाहरूलाई पशुलाई भन्दा पनि क्रूर र अमानवीय व्यवहार गर्दै हत्या गरिन्छ । यसबाट आम जनताले महिलाहरूले अधिकार पाएको सम्झने वा महिलाहरू अहिले पनि विभेद र हिंसा मुक्त छैनन् भनेर अनुमान गर्ने ? महिला हिंसाविरुद्धका विभिन्न अभियान सञ्चालन गर्ने नाममा वार्षिक कति रकम खर्च हुने गरेको छ ? के त्यसबाट सन्तोषजनक परिणाम आएको छ त ? यस्ता विषयमा राज्य तथा पाँचतारे होटलमा बसेर डलरको खेती गर्नेहरूले सोच्न आवश्यक छ । राष्ट्र प्रमुखमा महिला, कानुन निर्माण गर्ने संसद्को सभामुखमा महिला, न्याय कार्यान्वयन गर्ने सर्वाेच्च अदालतमा महिला प्रमुख भएको अवस्थामा त्यही मुलुकमा महिलाहरू अहिले पनि पशुतुल्य जीवन बाच्न बाँध्य बनिरहेका छन् । यसप्रति महत्वपूर्ण पदमा पुग्ने महिलाहरूले सोच्न पर्छ कि पर्दैन ?
महिलाहरूलाई हिंसामुक्त गराउँदै हरेक क्षेत्रमा उनीहरूको समान अवसर, समान व्यवहार र समान हैसियत स्थापित गर्नका लागि सहरमा पाँचतारे होटलमा गर्ने सेमिनार वा गोष्ठीले केही फरक पार्दैन । महिलाहरू हरेक ढंगले सक्षम र सबल छन् भन्ने पुष्टि गर्नका लागि दूरदराज क्षेत्रमा (जहाँ अहिले पनि उनीहरूमाथि विभिन्न किसिमका विभेद तथा हिंसाहरू हुने गर्छन्) पुगेर चेतना अभिवृद्धि गर्न आवश्यक छ । साथै राज्यले पनि सहरी क्षेत्रमा मात्र नभई हरेक क्षेत्रमा महिला हिंसाविरुद्धका गतिविधि सञ्चालन गर्ने चेष्टा गर्नुपर्छ । समाजका हरेक मानिसहरूले महिलाविरुद्ध हुने विभेद र हिंसाका विरुद्ध आवाज उठाउनुपर्छ । अनि मात्र महिला हिंसाका घटनाहरू आफैँ हराएर जान्छन् । यदि पीडितहरूलाई न्याय नदिने तथा जनचेतना जगाउनेलगायत गतिविधिलाई प्रभावकारी नबनाई सीमित समयमा सीमित क्षेत्रमा काम गरेजस्तै गरी स्वदेश तथा विदेशबाट प्राप्त भएको सहयोग रकमलाई खाने काम मात्रै गर्ने हो भने यस्ता गतिविधिहरूले निरन्तरता पाइरहनेछन् भने महिलाहरूलाई देखाएर हुने डलरको व्यापार पनि चलिरहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here