पूर्वराजालाई तर्साउँदै हत्याकाण्डको भूत

144

दरबार हत्याकाण्डका बेला अर्थात् ०५८ जेठ १९ गते शुक्रबारको दिन पूर्वराजा ज्ञानेन्द्र शाह दरबारमा थिएनन् । उपत्यका बाहिर रहेका उनी दाजुको वंशनाश हुने गरी दरबारमा भएको नरसंहारपश्चात् आइपुगेका हुन् । हत्याकाण्डका बेला पूर्वरानी कोमल तथा पूर्वयुवराज पारस पनि सँगै रहेका थिए । पूर्वरानी कोमललाई गोली लागे पनि उपचारपश्चात् निको भइन् तर पूर्व युवराज पारस भने सामान्य अवस्थामै थिए । उनलाई गोली लागेन । एउटै घटनामा तत्कालीन राजा वीरेन्द्रको वंश नै नाश हुँदा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार सुरक्षित हुनुले दरबार हत्याकाण्डको तीर पूर्वराजा ज्ञानेन्द्रतर्फ पनि तेर्सिनु स्वभाविक हो ।
दरबार हत्याकाण्ड भएको केही वर्षसम्म हत्याकाण्डको दोष पूर्णरुपले पूर्वराजा ज्ञानेन्द्रमाथि लाग्ने गरेको थियो । राजतन्त्र अन्त्य हुनुको एउटा महत्वपूर्ण फ्याक्टर पूर्वराजा ज्ञानेन्द्रसँग जनताको आशंका र आक्रोश पनि हो भन्नेहरु धेरै पाइन्छन् । तर राजसंस्था हटाउने आन्दोलनलाई व्यापक दमन गर्न सक्ने आम अनुमानलाई गलत तुल्याइदिँदै जब पूर्वराजा ज्ञानेन्द्र शाहले सहजै दरबार छाडिदिए, त्यसपछि भने उनीप्रति जनताको पूर्वअनुमान कमजोर हुँदै गयो र दरबार हत्याकाण्डलाई तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको हत्या भए जसरी षड्यन्त्रपूर्वक ढंगले हत्या गरिएको भन्ने तर्क बलियो बन्दै गइरहेको छ ।
वर्तमान राजनीतिक अस्थिरता र मुलुकमा उत्पन्न हुने राजनीतिक संकटलाई नजिकबाट हेरिरहेका पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो समय आफूप्रति जनविश्वास बढ्दै गएको पाएपछि बेलाबेलामा जनताको मन जित्न वर्तमान व्यवस्था र राजनीतिक दलहरुका विरुद्ध आवाज उठाउने गरिरहेका छन् । तर जब उनी केही सक्रिय हुन खोज्छन्, राजनीतिक दलहरुले उनीमाथि पुरानै आरोप अर्थात् दरबार हत्याकाण्डको प्रसंग उठाएर तर्साउने प्रयास गर्छन् । तर यस विषयमा न त पूर्वराजाको कुनै प्रतिक्रिया आउने गर्छ न दलहरुले नै अनुसन्धानको प्रक्रियालाई अघि बढाउने हिम्मत नै गरिरहेका छन् ! जसले गर्दा यो घटना थप रहस्यमय बन्दै त गइरहेको छ नै सँगसँगै नेपालको इतिहाससँग जोडिएको राजपरिवारको दुःखद अन्त्यको घटना दलहरुको बार्गेनिङको विषय पनि बनिरहेको छ भने यसले पूर्वराजालाई समेत भूत बनेर तर्साइरहेको छ । यस्तो संवेदनशील घटनालाई बार्गेनिङको विषय बनाउनुभन्दा पनि सत्यतथ्य बाहिर ल्याउनु राजनीतिक दलहरुको पनि दायित्व र जिम्मेवारी हो । साथै, घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वराजा ज्ञानेन्द्रले पनि सहयोग गर्न आवश्यक देखिन्छ । दरबार हत्याकाण्डको जाँच तथा अनुसन्धान गरेर सत्यतथ्य बाहिर नल्याएसम्म जनतामा आशंका पनि रहिरहनेछ भने यसले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत यो कहालीलाग्दो घटनाले भूत बनेर तर्साइरहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here