तीन धर्मको एक धाम हलेसी महादेव

911

नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवको गुफालाई दुई फरक÷फरक धर्मको संगमस्थलको रुपमा लिइन्छ । नेपालको हिन्दू एवं बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल मानिने यो गुफा समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ ।
‘हलेसी गुफा’को प्राकृतिक भू–बनोटको संरचना अनौठो किसिमको छ । करिब २६ रोपनीको क्षेत्रफल फैलिएर रहेको उक्त स्थान धार्मिक तथा पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिन्छ । नजिकै गुराँसे, तुवाचुङ, जायजुम, मलाथुम्की र रूपाकोट डाँडाजस्ता सदाबहार डाँडाका काखमा रहेको हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीले आदिम भूमि ठान्दछन् ।
हलेसी धाममा महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् । यीमध्ये महादेव गुफा गुफाभित्र प्रवेश गरी करिब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजारभन्दा बढी मानिस अटाउन सक्ने खुल्ला ठाउँ रहेको छ । गुफाभित्रको महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ । सो स्थानमा पार्वतीले गणेशजीका लागि दूध ल्याइरहेको जस्तो आकृति छ, जहाँ निःसन्तानले सन्तान माग्ने चलन छ । गुफाभित्रको उत्तरी कुनामा धर्मद्वार, पापद्वार छ । त्यस द्वारबाट धर्मात्माहरू छिर्न सक्ने र अधर्मी छिर्न नसक्ने किम्वदन्ती छ । यसबाहेक जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तीसकोटी देवताका प्रतिमूर्तिलगायतका विशेष महत्वका ढुंगाका प्राकृतिक मूर्तिसमेत गुफाभित्र छन् ।
किरात, हिन्दू र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थलमध्ये एक हो । ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किम्वदन्ती छ । त्यहाँ प्रत्येक वर्ष किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बुलगायतका किराती भेला भई आफ्ना पितृलाई पुज्ने गर्छन् । त्यस्तै बौद्ध धर्मअनुसार यस भूमिमा सयौं वर्षअघि महान् बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्या गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो । त्यसैले पनि यहाँ वर्षेनी किरात, बौद्ध तथा हिन्दू धर्मावलम्बी हजारौंको संख्यामा भित्रिन्छन् । हलेसी धाममा दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ भने त्यहाँ पूजा गरेमा अन्न–बालीको सह लाग्ने, पराक्रम बढ्ने र शान्ति मिल्नेजस्ता कुरामा यताका मानिसहरुले विश्वास राख्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here