दीपेन्द्र रोकाया
आधुनिक नेपालले विश्वका १४० देशसँग दौत्य सम्बन्ध स्थापना गरेको अवस्था छ । सबभन्दा पहिले अर्थात् सन् १९३४ मे १७ मा संयुक्त अधिराज्य बेलायतसँग भएको थियो भने सबभन्दा पछि अर्थात् सन् २०१५ अक्टुवर ३ मा जमैकासँग दौत्य सम्बन्ध स्थापना भएको छ । यस बाहेकका देशहरुसँग संयुक्त राष्ट्रसंघमार्फत सम्बन्ध स्थापित भएकै मान्न पर्दछ । सौर्यमण्डलको एक टुक्राको रुपमा रहेको पृथ्वीमा नेपालको सम्बन्ध नभएको कतै छैन । यो देशको सीमाभित्र समुद्र छैन । यद्यपि छिमेकीहरुको समृद्धिको अंशियार नेपाली पनि हुने आधार प्रशस्तै छन् । यसमा केवल विश्वको पहिचान र परिचालन गर्ने क्षमता नेपालले राख्न सके पुग्छ । नेपालीले आफूलाई नचिन्दाको परिणाम नेपालको विकास हुन सकिरहेको छैन भन्दा हुन्छ ।
नेपालको परराष्ट्र नीति सञ्चालनका आधारहरु भनेका संयुक्त राष्ट्रसंघको वडापत्रप्रतिको आस्था, पञ्चशीलको सिद्धान्त, असंलग्नता, विश्व शान्ति र अन्तर्राष्ट्रिय कानुनको मान्यता, निशस्त्रीकरण, भूपरिवेष्ठित एवं अति कम विकसित राष्ट्रहरुको हितको वकालत, विवादको शान्तिपूर्ण समाधान, नयाँ अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थामाथि जोड, समसामीप्यको सिद्धान्त, साम्राज्यवाद–विस्तारवाद–उपनिवेशवाद–नवउपनिवेशवाद र जातीय भेदभावजस्ता विविध कुराको विरोध गर्नु, क्षेत्रीयता र क्षेत्रीय सहयोगको भावनाहरु हुन् । यो सैद्धान्तिक अवधारणा हो । यसको व्यावहारिक अभ्यास यहाँको भौगोलिक अवस्थिति, प्राकृतिक सम्पदा, भूपरिवेष्ठत अवस्था, आर्थिक–सामाजिक–साँस्कृतिक अवस्था, व्यापारिक र वाणिज्यका कार्य व्यवहारबाट भइरहेको छ ।
हरेक देशको परराष्ट्र नीतिले आफ्नो देशको प्रभाव विस्तार गर्ने र अरु देशबाट आफ्नो हितका लागि कार्य सम्बन्ध विस्तार गर्नेमा केन्द्रित भएको हुन्छ । नेपालको परराष्ट्र नीतिका उद्देश्यहरु हेर्दा देशको सावभौमिकताको रक्षा गर्ने, राष्ट्रिय स्वतन्त्रता र अखण्डताको सुरक्षा गर्ने, देशको वृहत्तर आर्थिक विकास गर्ने, संयुक्त राष्ट्रसंघलाई सवल र सुदृढ बनाउने, विश्व शान्तिको पक्षमा काम गर्ने, उपनिवेश, साम्राज्यवाद र जातिवादको विरोध गर्ने, क्षेत्रीय सहयोगमा जोड दिने र विश्वका सबै समस्याहरुको समाधानका लागि स–साना देशहरुको भूमिका सबल बनाउने देखापर्दछन् । नेपालले यस उद्देश्य पूरा गर्न के कति काम गरेको छ ? समीक्षाको विषय बन्न जरुरी छ ।
लामो समयदेखि संघर्षको बीचबाट जारी गरिएको नेपालको संविधान, २०७२ ले धारा ५० (४) अनुसार नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुनेछ भनेको छ । यस्तै धारा ५१ ड (१) र ५२ ड (२) ले स्वतन्त्र परराष्ट्र नीति सञ्ञ्चालन गर्ने र विगतमा भएका सन्धिसम्झौताको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितका आधारमा सन्धि सम्झौताहरु गर्ने कुरा उल्लेख गरेको छ ।
यही आधारमा नेपालका विदेशस्थित २९ वटा आवासीय राजदूतावास र नियोगहरुले काम गरिरहेका छन् भन्ने विश्वास गर्नुपर्दछ । यस्ता दूतावासहरु बंगलादेश, बेल्जियम, गणतन्त्र चीन, इजिप्ट, फ्रान्स, जर्मनी, भारत, जापान, म्यानमार, पाकिस्तान, रसिया, साउदी अरेबिया, श्रीलंका, थाइल्याण्ड, संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका, कतार, मलेसिया, संयुक्त अरव इमिरेट्स, दक्षिण कोरिया, अस्टे«लिया, डेनमार्क, इजरायल, क्यानडा, दक्षिण अफ्रिका, कुवेत, ब्राजिल, बहराइन र ओमनमा रहेका छन् । नियोगहरुमा जेनेभा र नियोर्कमा छन् । जेनेभास्थित नियोग संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसन हो भने न्युयोर्कको नियोग संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग हो । यसो त नेपालको हित प्रवद्र्धनका लागि कलकत्ता, ल्हासा, हङकङ, न्युयोर्क र साउदी अरेबियाको जेद्दामा महावाणिज्य दूतावासहरु रहेका छन् ।
यसो त आफ्नो देशको हितका लागि नेपालमा राजदूतावास नै स्थापना गरेर रहेका २३ वटा राज्यबाट पनि नेपालले फाइदा उठाउन सक्नु पर्दछ । उनीहरुमार्फत नेपालको विकास, शान्ति र प्रगतिको सन्देश जसै सर्वोच्च शिखर सगरमाथाको देशबाट दिन सक्नुपर्दछ । उनीहरुको इसारामा नाच्ने होइन, उनीहरुको आपसी हितका आधारमा हितैषी हातहरु मिलाउने हो । नेपालमा रहेका विदेशी राजदूतावासहरुमा भारत, जनगणतन्त्र चीन, अमेरिका, बेलायत, जापान, जर्मनी, फ्रान्स, बंगलादेश, पाकिस्तान, श्रीलंका, स्वीट्जरल्याण्ड, अष्टे«लिया, रसिया, थाइल्याण्ड, दक्षिण कोरिया, म्यानमार, फिनल्याण्ड, इजिप्ट, इजरायल, उत्तरकोरिया, नर्वे, डेनमार्क र मलेसियाका छन् ।
नेपालको छिमेकी देश भारतसँग भौगोलिक निकटता छ । धार्मिक तथा सांस्कृतिक समानता छ । खुल्ला सिमाना छ । दुवै देशका करिब २५ वटा संयन्त्रहरु छन् । उच्च स्तरीय भ्रमणहरु नियमित रुपमा आदानप्रदान हुन्छन् । उसले विभिन्न क्षेत्रमा सहयोग पनि गरेको छ । यस्ता सहयोगमा भारतले ट्रमा सेन्टर, पूर्व–पश्चिम राजमार्गमा ९०४ कि.मी. अप्टिकल फाइवर बिच्छ्याउने कार्य, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रसूति गृह, भूपू गोर्खा सैनिक कल्याणकारी परियोजना, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजपथ, बाहिरी जनकपुर परियोजना, बृहत् जनकपुर परियोजना, महेन्द्र राजमार्गको काँकडभिट्टा–ढल्केवर र बुटवल–वनवासा खण्ड, काठमाडौं रञ्जु मार्ग, बाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध, भारतीय पुस्तकालय देखिँदा उदाहरण हुन् ।
यस्तै सम्बन्ध र सहयोग उत्तरको छिमेकी देश चीनबाट प्राप्त भएको छ । बीपी स्मृति क्यान्सर अस्पताल चितवन, हेटांैडा कपडा कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, अरनिको राजमार्ग, निजामती अस्पताल काठमाडौं, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र काठमाडौं, पोखरा–बाग्लुङ मार्ग, नारायणगढ–मुग्लिङ सडक, पृथ्वी राजमार्गको नौबीसे–पोखरा, काठमाडौं रिङरोड, काठमाडौंमा बन्ने तयारीमा रहेको बाह्य रिङरोड, राष्ट्रिय सभागृह, नेश्नल टे«डिङ कम्प्लेक्स, काठमाडौं र वीरगञ्जमा वायर हाउस, ललितपुरको सातदोबाटोमा खेलकुद भवन, पौडी पोखरी तथा सुटिङ रेन्ज, दशरथ रंगशालाको आधुनिकीकरण, काठमाडौं–भक्तपुर ट्रली मार्ग, सुनकोशी जलविद्युत् आयोजना, भक्तपुर इट्टा कारखाना, भृकुटी कागज कारखाना, लुम्बिनी चिनी कारखानाजस्ता सहयोग गरिएका क्षेत्र देखापर्दछन् ।
शक्ति राष्ट्र अमरिकाले भक्तपुरको विकास योजना, ग्रामीण सहकारी विकास योजना, राष्ट्रिय शिक्षा योजना, २०२८, बालाजु औद्योगिक क्षेत्र, शिक्षाशास्त्र अध्ययन संस्थान, जनक शिक्षा सामाग्री केन्द्र, सानोठिमी, लोबोरोटेरी स्कूल कीर्तिपुर, नेपाल टिम्बर कर्पोरेशन, केन्द्रीय तथ्याङ्क विभाग, आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), पूर्व–पश्चिम राजमार्गको हेटौंडा–भरतपुर खण्डका लागि सहयोग गरेको पाइन्छ । यस्तै, बेलायतले धरान–धनकुटा सडक, पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड, सगरमाथा भू–उपग्रह केन्द्रको स्थापना, हेटौंडा डिजेल प्लान्ट, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, रेशमखेती अनुसन्धान, बुढानिलकण्ठ स्कूल, सामुदायिक विकास र रेडियो नेपालको क्षमता विस्तारमा सहयोग गरेको पाइन्छ । यसैगरी जापानले धादिङ मलेखु पुल, बाग्मती पुल, कर्नाली चिसापानी पुल, शिक्षण अस्पताल महाराजगञ्ज, नयाँ बसपार्क, कुलेखानी जलविद्युत आयोजना, रेडियो नेपाल, कास्की र दाङमा वागबानी विकास, भक्तपुर मनोहरा खानेपानी परियोजना, कास्कीको वेगनासमा माछापालनका लागि सहयोग गरेको पाइन्छ ।
यस्ता सहयोगका विवरणहरु अरु देशका पनि छन् । यसखाले विवरण देख्दा लाग्दछ, हामी विदेशी सहयोगमा मात्र विकास भएको देखिरहेका छौं । मानौं, विदेशी सहयोग भएन भने घर अगाडिको फोहोर उठाउन पनि सक्तैनौं कि ! भन्ने अवस्थामा पुगेका छौं । यसैको प्रभावको एक अंशका रुपमा नेपालमै गर्नुपर्ने मिहिनेत पराईको भूगोलमा गर्न तयार भई दैनिक दिन औसत पन्ध्र सय युवाहरु विदेशिने संस्कारै बसेको छ । यसले नेपाली मानवता नाश भइरहेको छ । छिमेकीको तुलनामा सानो र विकासमा पछि परेको देश हो, तर यहाँका शासकहरुको दिमागमा रहेको गरिबीका कारण देशको विकास, प्रगति र समृद्धिमा पछि परेको छ । विश्वमा कैयांै देश भन्न पनि लायक छैनन्, तर तिनको विकासले गर्दा विश्वभर लोकप्रिय भएका छन् । यसैले व्यापारमा केन्द्रित भई पर्यटन, जलस्रोत, कृषि तथा प्रविधिको क्षेत्रमा विश्वको ध्यान खिच्न सकेमा देशको विकास सम्भव हुने देखिन्छ ।
















