सुन व्यवसायीहरुबीच आपूर्तिमन्त्रीको प्रतिबद्धता

163

काठमाडौं ÷ नेपाल सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघको संयुक्त आयोजनामा भएको ‘बहुमुल्य गहनाको उत्पादन, कारोबार तथा अनुगमन निर्देशिकाको मस्यौदा’बारे सुझाव तयार गर्न आयोजित राष्ट्रिय सम्मेलन गत सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।
व्यावसायिक अनुगमन तथा नियमन निर्देशिका माथिको छलफलमा केन्द्रित रहेको सम्मेलनको उद्घाटन गर्दै आपूर्तिमन्त्री दीपक बोहोराले सुनचाँदी व्यवसायलाई व्यवस्थित तुल्याउन निर्देशिका जारी गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो । उपत्यकाभित्र ६० प्रतिशत र अन्य १३ अञ्चललाई ४० प्रतिशत सुनचाँदी वितरणको प्रणाली वैज्ञानिक नरहेकोले सुनचाँदीको वितरण प्रणाली वैज्ञानिक हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । सुनचाँदी संबन्धी निर्देशिका नभएका कारण बजार अनुगमनमा समस्या परेको भन्दै निर्देशिकाले सुन बजारलाई मर्यादित र अनुशासित बनाउने आपूर्तिमन्त्रीको जोड थियो ।
मन्त्री बाहोराले उपभोक्ता ऐनको मस्यौदामा सुनमा कालोबजारी गर्ने तथा मिसावट गर्नेलाई कडा कारबाहीको व्यवस्था गरिएको भन्दै यसतर्फ सजग र सचेत रहन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले बैंकहरुको सुन खरिदको प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो । व्यवसायीहरुले बैंकको सुन खरिद प्रक्रिया झन्झटिलो भन्दै आइरहेका बेला सबै सरोकारवालाहरुसँग छलफल गरी वितरण प्रणाली सहज बनाउनुपर्नेमा अध्यक्ष शाहको जोड थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले सधैँजसो बजारमा सुनको अभाव हुने भएकाले यथाशीघ्र कोटा वृद्धि गर्नुपर्ने सुझाव राख्नुभयो । बजारमा सुनको अभाव भएका कारण व्यवसाय बन्द गर्नुपर्ने स्थिति आएको सुनारको भनाइ थियो । मुलुक प्रान्तीय प्रणालीमा गए पनि सुनको वितरण प्रणाली भने केन्द्रीकृत भएकोप्रति अध्यक्ष सुनारको असन्तुष्टि थियो ।
कार्यक्रमलाई नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले सुनचाँदीको मापदण्डसम्बन्धी मस्यौदाको कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ता र व्यवसायी कसैलाई पनि अप्ठ्यारो नपर्ने गरी मापदण्ड बनाउन आवश्यक रहेको विचार राख्नुभयो । कार्यक्रममा आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठले मापदण्डसम्वन्धी अधिकांश बुँदामा छलफल भइकेको र उपभोक्ताको हक अधिकार सुनिश्चित हुने गरी यसलाई निर्माण गरिने जानकारी गराउनुभयो । नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले तीन वर्षदेखि मापदण्डको विषय चलिरहेको चर्चा गर्दै यसलाई शीघ्र टुंग्याउन आग्रह गर्नुभयो ।
बन्द सत्रको छलफलका क्रममा महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, विशिष्ट सदस्य तेजरत्न शाक्य, वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, उपाध्यक्ष ज्ञानुराज शाक्य, उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष मोहनकाजी शाक्य, उपाध्यक्ष प्रेमकुमार सेन्चुरी, उपाध्यक्ष दियसरत्न शाक्य, महासचिव धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्ष महेन्द्ररत्न शाक्य, सचिव किरणभाइबज्राचार्यलगायतका व्यवसायीहरुले मापदण्डका विषयमा आ–आफ्नो भनाइ राख्नु भएको थियो । कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारको सभापतित्वमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here