चन्द्रप्रकाश बानियाँ
ऐना हेर्दा आफूलाई कुरूप देख्ने मानिस सायदै कोही हुन्छ होला ! कुरूपताको पर्याय नै बनेका आइन्स्टाइनले त झन् खल्तीमा ऐना राखेर हिंड्थे भनिन्छ । अर्थात् स्वमूल्यांकनमा सबैले आफूलाई पूर्णाङ्क दिन्छन । मान्छेको जातै त्यस्तै हो । त्यसलाई स्वाभाविक मानवीय मनोवृत्ति भन्न सकिन्छ । अझ कसैकसैमा त आफूलाई वास्तविकताभन्दा निकै माथि सम्झने प्रवृत्ति हुन्छ । आफूलाई सधैं हात्ती पार्टी सम्झने तर नतिजामा कहिल्यै सावित गर्न नसकेको नेकपा एमालेले सप्तरी घटनामा सिंगो नेतृत्वलाई एकै चिहान बनाउने षड्यन्त्र रचिएको थियो÷रहेछ भनेर प्रचार गर्न थालेको छ ।
उसको त्यो मिथ्या प्रचारले प्रहरी प्रशासनको उदण्डता ढाकछोप गर्नुभन्दा बढी लाभ अरु कोही कसैलाई भएको होला जस्तो लाग्दैन । पुष्टि नभएको मदन भण्डारीको हत्या षड्यन्त्रले एमालेको शारीरिक सम्पुष्टि र सुगठनमा ठूलो भूमिका निर्वाह गरेको कुरा सत्य हो । देश र जनताको पक्षमा लिइएको नीति, सिद्धान्त, दृष्टिकोण र कार्ययोजनाका कारणले भन्दा मदन भण्डारीको अकाल मृत्युप्रतिको जनमानसमा विकसित भएको सहानुभूतिले एमालेको शारीरिक विकासमा ठूलो योगदान पु¥याएको हो । त्यही घटना र वास्तविकतालाई उदाहरण मानेर यसपटक पनि वाहियात हल्ला गर्न थालिएको होइन भन्न मिल्दैन ।
जनयुद्धको नाममा दुई हजार पच्चीस सय चानचुन नेपालीहरूको ज्यान लिने मूर्खता गरेको तत्कालीन माओवादीलाई सत्र हजार नेपालीको ज्यान लिएको आरोप लाग्दै आएको छ । त्यो अस्वाभाविक पनि होइन ।
सदनमा प्रवेश गरिसकेको पार्र्टी संसदबाट निस्केर जङ्गल पस्यो । जङ्गल पसेको मात्र होइन, हतियार पनि उठायो । उसको त्यो चेष्टा हजारौैं नेपालीहरूको सहादतको कारण बन्यो । त्यसैगरी एमाले पनि जानीबुझीकन आफै सप्तरीको गोलीकाण्डको कारण बन्न गएको थियो । त्यो जिम्मेवारीबाट ऊ उम्कन पाउँदैन । किनकि एमाले नेताको छुद्र बोलीले मधेशी समुदायलाई मर्माहत बनाउँदै आएकै हो ।
आफ्नै आगनमा उभिएर आफैलाई दिइने छुद्र गालीगलौज सुन्ने पचाउने धैर्य मधेशी समाजमा नहुनु आश्चर्यको विषय होइन । त्यसैले त्यस दिन जुनसुकै खालको अप्रिय दुर्घटना निम्तन सक्छ भन्ने आम अनुमान रहेकै थियो । सायद त्यही बुझाइले प्रहरी प्रशासनलाई आवश्यकताभन्दा बढी सतर्क बनाएको होला । परिस्थितिको अधिमूल्यांकनकै कारणले पुलिसलाई थप उत्तेजित र हिंस्रक बनाएको हुनसक्छ । अनावश्यकरूपमा शक्तिप्रयोग हुनुको कारण त्यही हो ।
एमालेले उछाल्दै आएको पहाडी राष्ट्रवादको नाराले पनि सायद पहाडीमूलका पुलिस अधिकारीहरूलाई सम्मोहित बनाएको हुनसक्छ । जे होस् सप्तरीमा हुनुनपर्ने घटना भएकै हो । एमालेको कार्यक्रम समाप्त नहुँदै त्यो घटना भएको हुन्थ्यो भने पुलिप्रशासनले उन्मुक्ति पाउने ठाउँ पाउँथ्यो । एमालेलाई सकुशल बिदाई गरिसकेपछि गोलीकाण्ड चलाइनुले पुलिसको नियतमा शंका गर्नुपर्ने अवस्था उत्पन्न भएको हो ।
‘मान नमान मै तेरो मेहमान’ भनेजस्तो एमालेको जिद्दीले परिस्थिति अवश्य असहज र अप्रिय बनाउँछ भन्ने पूर्वानुमान सबैको थियो । प्रतिकूल परिस्थितिको जानकारी हुँदा हुँदै प्रहरीप्रशासनको सुरक्षा घेराभित्र, जनता सहभागी नभएको र समाजले अस्वीकार गरेको सभा गर्नुको कुनै अर्थ थिएन । आफ्ना कुरा सुन्ने मूडमा जनता थिएनन भने खाली रहेको औद्योगिक क्षेत्रका कलकारखानालाई भाषण सुनाउनुको लाभ के थियो र ? तैपनि एमालेले बालहठ प्रदर्शन ग¥यो ।
अस्वाभाविक जिद्दी देखायो र रहर पूरा ग¥यो । प्रहरी प्रशासनले एमाले लस्करको सुरक्षित आवागमनको प्रबन्ध मिलायो । कुरो त्यतिमै टुंगिदिएका भए ठिकै थियो । एमालेलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइसकेपछि प्रहरी प्रशासनका अधिकारीहरूमा किन कसको भूत चढ्यो ? गोर्खे बहादुरी प्रदर्शन गर्ने सनक किन कसरी चढ्यो र त्रूmर र हिंस्रक उद्दण्डता प्रदर्शन गरियो ? सदनलाई घटनाको जानकारी दिने सन्दर्भमा गृहमन्त्रीबाट जे जस्तो औपचारिक विवरण प्रस्तुत गरिएको भए पनि स्वयम् गृहमन्त्री र प्रधानमन्त्री समेतबाट सम्बन्धित अधिकारीहरूलाई संयमित रहन र कस्तै अवस्थामा पनि गोली नचलाउन आदेश भएको कुरा सार्वजनिक भएको हो । त्यसको अर्थ गल्ती प्रहरी प्रशासनकै थियो । आदेश नमान्ने प्रहरी संगठनको हाकिम भइरहने लोभ सम्वरण गर्न नसकेपछि मन्त्रीबाट यस्तो लाचारी प्रदर्शन हुनु स्वाभाविक हुने नै भो । गोली चलाउनै पर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको नक्कली पैरवी गर्नै प¥यो । कर्तव्यविमुख हुने अधिकारीहरूको पक्षपोषण गर्नै प¥यो । नैतिकताको आधारमा पद छोड्नुभन्दा प्रहरी प्रशासनको गल्ती ढाकछोप गर्ने लाजमर्दो अभिनय गर्नु लाभदायक ठानिने नै भो ।
गृहमन्त्रीहरूको पदमोहले सधैं प्रहरी प्रशासनका गलत क्रियाकलापलाई सह मिल्दै आएको लामो परम्परा रहीआएको छ । सडकमा जनता देख्नासाथ प्रहरी प्रशासनमा उद्दण्डता प्रदर्शनको सनक चढी हाल्छ । त्यसैले त कहिले आफ्नै घरको झ्यालमै मानिसहरू गोलीको शिकार हुन्छन्, कहिले स्कूल आउजाउ गर्ने कलिला बालाबालिकाहरू चाँदमारीको निशाना बन्छन् । पछिल्लो समय प्रहरी प्रशासनको लाज छोप्ने साधन टीकापुर घटना बनेको छ ।
तर, त्यो घटना पनि प्रशासनको त्यही गलत प्रवृत्तिको सहउत्पादन थियो भन्दा फरक पर्दैन । ‘झ्यालढोका थुनेर पिट्न थालेपछि बिरालो पनि आक्रमणमा उत्रन्छ’ भनिन्छ । मानिस मारेरै भए पनि शान्तिसुरक्षा कायम गर्नु आफ्नो दायित्व हो भनेर सम्झने पुलिस हाकिमहरूको बुझाइमै खोट छ । पुलिस जनताको रक्षक हो भन्ने सिकाइ हाम्रो सुरक्षा निकायहरूलाई पुगेको छ भन्न सकिँदैन । सरकार निर्माता जनता हुन् । जनताले आफ्नो हितकल्याणका खातिर सरकार बनाउँछन्, परिवर्तन गर्छन् । जब सरकारले जनताको पक्षमा काम गर्न सक्तैन वा गर्दैन तब जनतामा आक्रोश र निराशा उत्पन्न हुन्छ ।
आफैले बनाएको सरकार भए पनि चाहेको बेलामा हटाउन सकिने हतियार जनतासँग रहँदैन । त्यसैले जता आफ्ना माग लिएर सडकमा ओर्लन बाध्य हुन्छन् । जनताको सबभन्दा ठूलो हतियार नै सडक हो । जनता सडकमा ओर्लनासाथ पुलिस हाकिमहरूको कन्सिरी तात्नुको अर्थ जनता र सरकाबीचको अन्तर्सम्बन्ध बुझ्ने चेतना प्रहरी प्रशासनमा नरहनु हो ।
यही हप्ता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयास गरेको आरोपमा प्रहरी प्रशासनले नियन्त्रणमा लिएछ । निषेधित क्षेत्र घोषणा हुनुबाट नै ‘दालमा केही कालो छ’ भन्ने स्वाभाविक अर्थ लाग्दछ । सरकारलाई आफूले गरेको गलत कामको विरोधमा जनता उठ्छन् भन्ने पूर्वानुमान हुने हुनाले नै त्यस्तो सतर्कता अपनाइने हो । गलत कामको विरोध अनपेक्षित हुँदैन ।
विरोध प्रदर्शन हुने निश्चित छ भने अलि ठूलो परिमाणमा शक्ति परिचालन गरेर निषेधित क्षेत्रलाई अभेद्य किल्ला बनाए भइहाल्थ्यो । धर्ना बस्न आउनेहरूले कार्यालयहरूमा आक्रमण गर्दैनन् । सरकारले गरेका जनविरोधी कामहरूको मूकदर्शक बन्न जनता विवश हुन्छन् भने सरकार विरोधप्रदर्शनको मूकदर्शक भइदिन किन नहुने ? होइन, सरकारको उपस्थिति जनाउनकै लागि बलप्रयोग, गिरफ्तारी र धरपकड गर्नुपर्ने हो भने पनि कमसेकम देशको कार्यकारी मुखियाको हैसियत प्राप्त गरिसकेको मानिसप्रति अलिकता भद्रता र सभ्यता प्रदर्शन गर्न नसकिने थियो जस्तो लाग्दैन । पहिलो कुरा त पूर्वप्रधानमन्त्री भट्टराईलाई गिरफ्तार नगरी नहुने परिस्थिति उत्पन्न भएको थियो भन्ने कुरा पत्यार गर्न सकिँदैन ।
ल ठीकै छ, परिस्थिति नियन्त्रणभन्दा बाहिर जाने अवस्था आएछ र गिरफ्तार गर्नुपर्ने नै भएछ भने पनि शालीनतापूर्वक नियन्त्रणमा लिएर गतिलो सवारीसाधनमा सवार गराएर पुलिसठानातिर चलान गर्न सकिँदैन र ? काटिनका लागि ओसारिन लागेका खसी, राँगा, पाठाहरूलाई झैं देशको एउटा सम्मानित नागरिकलाई ट्रकमा कोचेर लाने तरिका पुलिस प्रशासनको मात्र होइन, सरकार स्वयम्का पनि लाजमर्दो जङ्गलीपनको सार्वजनिक प्रदर्शनी होइन भन्न मिल्दैन । पुलिसको प्रवृत्ति त त्यस्तै हो । सुध्र्रन र भद्रता सिक्नका लागि केही वर्ष, केही दशक होइन, कमसेकम आधा शताब्दी लाग्नेछ भन्नलाई ज्योतिषविद्याको सहारा लिइरहनु आवश्यक छैन । कमसेकम सरकारलाई यो घटनाले लज्जित बनाएको हुनुपर्ने हो र भट्टराईसमक्ष प्रधानमन्त्री र गृहमन्त्री दुवैले विनम्रतापूर्वक क्षमायाचना गर्नुपर्ने हो । हुन त लाज हुनेलाई न शरमको अनुभूति हुने हो । नकच्चराहरूलाई न लाज न शरम ।

















