जनसाहित्यको मूल प्रवृत्ति ः जनउत्तरदायी डा. दीपेन्द्र रोकाय

260

यतिबेला म आफ्नै जन्मथलो हुम्लामा पुगेको छु । यहाँको अलिखित साहित्यबारे साथीहरूले छलफल चलाउनु भयो । मेरो विचारमा साहित्य देश, काल, परिस्थिति र समाजको ऐना बन्न जाने भएकाले यसको महत्व हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । किनकि हिजो प्रमाण तथा समाज व्यवस्थाका लागि आवश्यक मानिन्थ्यो । आज सु–संस्कृत र समृद्ध समाज निर्माणका लागि साहित्यको सहारा लिने प्रयास भइरहेको छ । भोलि समाजको आवश्यकता पूर्ति गर्नका लागि साहित्य आवश्यक मानिने नै छ । यहाँ हुम्लाको साहित्य सिर्जना र त्यसको संगठित पहलका बारेमा चर्चा गर्दा चार चरण देखा पर्दछन् ।

१) प्राक्ऐतिहासिक र पौराणिककाल ः

यो कालखण्डमा सायद जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रसम्म बस्ती बस्ने परेको थियो । जौको आविष्कारबाट कृषि युगको जग बसाल्ने महादेवले स्वर्णभूमिको कैलाश मानसरोवर जस्तो पवित्र भूमिलाई केन्द्र बनाएर बसेको देखिन्छ । कैलाश–मानसरोवर क्षेत्रबाट चारवटा नदी चारतिर बग्नुले चार सभ्यता निर्माण गरेको छ । त्यसमा सिन्धु, सतलज, बह्मपुत्र र कर्नाली पर्दछन् । हुम्ला कर्नाली सभ्यताको जननी हो ।

२) मध्यकालदेखि नेपाल विस्तार कालसम्म ः

यस कालखण्डमा पौराणिक कालखण्ड र मध्यकालकै अनुभवले शिवलाई आर्दश मानी देवपुरी हुम्लो बन्न गएको पाइन्छ । सम्पूर्ण शासनसंहिता बाह्देउको रूपमा प्रकट भयो । महादेव, हिल्सा, भवानी, भैराम, कैलाश, कालासिल्तो, रामपाल, लसुर, गुरा, सर्की, मइठोजस्ता बाह्देउ र विनापतिको रेखोठेकोमा संसारको रचना बनेको चर्चा भयो । यसको रक्षा गर्न देउताको अवतार भएको रूपमा व्याख्या हुँदै आयो । उनीहरूले पतुरेर भन्ने इतिहास नै त्यस कालखण्डको साहित्य हो ।

३) पछिल्लो नेपाल विस्तारदेखि बहुदलीय व्यवस्थासम्म ः

यस कालखण्डले पनि मध्यकालकै आदर्श विस्तार ग¥यो । तर, सामान्य रूपमा देउताको साथै देशको राजा पनि मान्नपर्ने धारणा विकसित भयो । कुल देउता र राजालाई दुई खम्बे शक्ति मान्न थालेपछि उनीहरूलाई जनताले तुलनात्मक रूपमा हेर्दै मान्दै आएका थिए । यसैको सेरोफेरोमा विभिन्न सिलोग, चुट्किला, फाग, चाँच्ची तथा देउडा गीतहरू निर्माण भएको पाइन्छ । यस कालखण्डसम्मका साहित्यहरू लोक संस्कृतिका रूपमा स्थापित भएका थिए । ती अलिखित भए पनि लोक भाका बन्न गएका छन् । साँस्कृतिक पैकेलाहरूले यसको महत्व बढाउन पुगे ।

४) ऐतिहासिक जनविद्रोहयताको समय ः

हामीले देउता, राजा भनेका अलौकिक होइनन्, ती संस्था हुन्, शासन गर्न संस्थागत अभ्यास मात्र गरेका हुन् भन्ने बुझ्यौं । उनीहरूले ऐतिहासिक आवश्यकता पूरा गर्ने क्रममा त्यसको रूप विकृत हुँदै जाँदा कार्य व्यवहार अत्याचारमा बदलिन गएपछि आम जनसमुदायमा विद्रोेह आउन थाल्यो । जनता जुटे र उठे । जसका कारण देउताको सत्ता र राजाको सत्ता हल्लियो । जनताको सत्ता स्थापना गर्न खोजियो । तर प्रकारान्तरले राजाको सत्ता ढल्यो । देउताको सत्ताले बनाएको साँस्कृतिक जीवनको विकल्प नदिँदा हुम्लाको जनजीवनमा संक्रमणकाल देखापर्न गएको छ ।

हाम्रो जनसाहित्य जनताको जीवनस्तरसँग जोडिएर लेखिनु पर्ने हुन्छ । यसकारण अबको दिशा भनेको हुम्लाको जनजीविकाको लागि प्रत्येक घरलाई उत्पादन राहत र समग्र सिँचाइको व्यवस्था भए माथिल्लो हुम्लामा पशुपालन, बीचको हुम्लामा फलफूल र तल्लो हुम्लामा अन्न उत्पादन गर्न सकिने धारणा स्थापित गराउन सकिन्छ भन्नेमा केन्द्रित हुन पर्दछ । कालागाडबाट सुरुङ खनी तुम्चमा जलविद्युत् निकाल्न सकिने र यसले सिंगो कर्नाली क्षेत्र उज्यालो पार्न सकिन्छ भनी देखाउन पर्छ । पर्यटनको अथाह सम्भावना रहेको हुम्ला कैलाश मानसरोवर जाने सबभन्दा सजिलो मार्ग हो भनी देखाउनु पर्दछ ।

यसैले पाक्सिवारा–मारगोर क्षेत्रमा बाह्तले बाह्देउ मन्दिरसहितको भ्यू टावर निर्माण गरी पूर्व सगरमाथा, पश्चिम काश्मिर, दक्षिण गंगाको मैदान र उत्तर कैलाश मानसरोवरको अवलोकन गर्न सक्ने गरी हिमवत्खण्डको केन्द्रीय स्तम्भ निर्माण गर्न प्रेरित गर्नुपर्छ । यो एसियाकै गन्तव्य हुने भएकाले हामीले ठूलै कारखाना खोलेभन्दा बढी फाइदा लिन सक्छौं । हुम्लाका ७ गाउँपालिकाको १ सय ४४ गाउँहरूको एक अध्ययनले बस्नलायक १० ओटा मात्र बस्ती भेटिएकाले त्यसमा थप १५ नयाँ बस्ती निर्माण गर्न सके सुरक्षित र समृद्धिको आधार बन्न जानेछ । त्यसमध्येकै न्यारी बस्ती एक हुन जानेछ ।

पौराणिक कालमा हुम्लालाई स्वर्गभूमि मानिन्थ्यो । यहाँ मातृसत्ता सञ्चालन भएको क्षेत्र हो । त्यसपछि जालन्धर क्षेत्रका रूपमा रह्यो । हुम्लाबाट आएका किरातीहरूले नेपालको नेतृत्व गरे । हुम्ला हुँदै आएका नागराजले खस साम्राज्य नै फैलाए । २००९ सालको असारमा कम्युनिष्ट पार्टी मातहतका किसानहरूले सिमकोटमा जुलुश निकाल्दा गोर्खालीहरूको भागाभाग भयो । यसले गर्दा नेपालको इतिहासमा पहिलोपटक हुम्ला तीन महिनासम्म मुक्त क्षेत्र रहन गएको थियो । यस्ता ऐतिहासिक र प्रेरणादायी विषयवस्तु हामी हुम्लाका जनसाहित्यका विद्यार्थीहरूले प्रचारप्रसारमा ल्याउन जरुरी छ ।

हुम्ला पौराणिक कालदेखि स्वर्णभूमिका नामले प्रख्यात थियो, विभिन्न कारणले नुनबाहेक अरु कुरामा आत्मनिर्भर हुम्लाको हिल्सा पुल बन्दै छ, यो नाका व्यवस्थित भयो भने राजनीति, आर्थिकसँगै कला सँस्कृतिका दृष्टिकोणले पूर्वी युरोपसम्म जोडिने आधार बन्दै छ । यसतर्फ हुम्लाका प्रगतिशील साहित्यकार तथा हुम्लासम्बन्धी अध्ययन गर्ने सम्पूर्ण अध्येताहरू लाग्न जरुरी छ । हाम्रै बलिदानीको भावभूमिमा सिंहदरबारको अधिकार गाउँमा व्यावहारिक रूपमा पुग्ने स्थानीय तहको निर्वाचन भयो । यसमा क्रान्तिकारी योद्धाहरूले नयाँ अध्याय कोर्न सफलता पाउने आधार बनाउनतिर लागौं । आजको साहित्यिक कार्यभार यहीँनेर अन्तरनिहित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here