काठमाडौं/ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत भइसकेका प्रदीपकुमार श्रेष्ठ प्रबन्ध निर्देशक रहेको नेपाली बजारमा चर्चित व्यापारिक घराना पञ्चकन्या समूहमाथि राजस्व अनुसन्धान विभागले छापा मारेको छ । पञ्चकन्या समूहद्वारा सञ्चालित विटुमिन तथा ब्यारेल उद्योगमा राजस्व विभागले गत शुक्रबार छापा मारेको थाहा भएको छ । राजस्व विभागले छापा मार्ने क्रममा पञ्चकन्या समूहबाट मूल्य अभिवृद्धि कर र आयकर छलेको आरोप लगाएको छ । विभागले छापा मारी मूल्य अभिवृद्धि कर र आयकर छलेको प्रमाणका रुपमा पञ्चकन्या समूहबाट विभिन्न कागजातहरु नियन्त्रणमा लिएको थाहा भएको छ ।
पञ्चकन्या समूहद्वारा सञ्चालित ललितपुरस्थित नेपाल विटुमिन तथा ब्यारेल उद्योग कार्यालय तथा अमलेखगञ्जस्थित सोही कम्पनीको कारखानामा राजस्वले छापा मारी कागजातहरु सिलबन्दी गरेर कब्जामा लिएको थाहा भएको छ ।
पञ्चकन्या समूहले आर्थिक वर्ष २०७१/०७२ को कम्पनीको नाफा/नोक्सान तथा वासलातमा देखाएको अन्तिम मौज्दात १ हजार ८ सय ७९ मेट्रिक टन विटुमिनको स्टकमध्ये १ हजार ६ सय ५० मेट्रिक टनको हुने १४ करोड ८५ लाख रुपैयाा बिक्री मूल्यबराबरको विटुमिनमा मूल्य अभिवृद्धि करबिना नै बिक्री गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको आरोप विभागले लगाएको छ । उक्त कार्यमा नेपाल विटुमिन नै बिक्री गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको दावी रहेको छ । विभागले पञ्चकन्या समूहका जिम्मेवार व्यक्तिहरुलाई विभागमै बयानका लागि उपस्थित हुन जनाउ समेत दिएको थाहा भएको छ ।



















