स्याल, सर्प र मुसाको जस्तो राजनीति

138

डा. दीपेन्द्र रोकाया

यस पटक स्थानीय तहको चुनावी अभियानमा पुग्दा एक जना जेष्ठ नागरिकले भनेको प्रसंग याद आयो । उनले करिब आधा घण्टा सुनाएको कथाको संक्षिप्त रूप यस्तो थियो– एक दिन स्याल, सर्प र मुसाको बीच कोसँग कति बुद्धि छ भनी बहस चलेछ । त्यतिबेला सर्पले अघि सरेर गर्वका साथ आफूसँग चौध सय बुद्धि भएको सुनाएछ । सर्पको कुरा सुनेपछि मुसा पनि के कम ? उसले त्यसको ठीक आधा अर्थात् सात सय बुद्धि आफूसँग रहेको तर्क पेश गरेछ । सर्प र मुसाको कुरा सुनेर स्याल ट्वाल्ल परेर बसेछ । सर्प र मुसाले सोधेछन्, तपाईं किन ट्वाल्ल परेर बसेको ! भन्नुहोस्, तपाईंसँग कति बुद्धि छ ? स्यालले लाचार भएर आफूसँग त सुद्धि न बुद्धि रहेको बताउन पुगेछ ।
स्याल, सर्प र मुसाको यति ठूलो बहस चलिरहेको सम्मेलनमा संयोग पनि यस्तो परेछ कि त्यसैबेला उनीहरूको बुद्धि जाँच गर्ने अवस्था आएछ । सम्मेलन स्थलभन्दा तलतिरबाट आगो लाग्दै आगोको लाप्काहरूले सम्मेलनस्थल नै घेरा लगाएछ । अब सबैलाई खरानी बनाउने स्थिति आयो । चौध सय बुद्धि भएको बताउने सर्प लिरीलिरी गर्न पुगेछ । मुसाले यता उता गर्दै निस्सासिएर ङिच्च दाँच देखाउन पुगेछ । सुद्धि न बुद्धिको स्यालले भने हाम फालेर बाँचेछ । यस घटनाले बुद्धि कोसँग कति छ भन्ने कुरा दाबीका आधारमा हुन्न, व्यावहारिक प्रयोगका आधारमा हुन्छ भनी हेर्न सकिन्छ । यो स्थिति नेपाली राजनीतिका पात्र र प्रवृत्तिमा समेत मिल्छ । यहाँ को पार्टी के हो भनी अनुमान लगाउन पनि सकिन्छ । त्योभन्दा पनि यसखाले नियति नेपाल र नेपालको राजनीतिले भोग्न परिरहेको देखा पर्दछ ।
नेपालको राजनीति विश्वका शक्ति राष्ट्रहरूको प्रभावबाट मुक्त रहन सक्तैन । तर उनीहरूको इशारामा यो गर्ने र त्यो नगर्ने स्थिति बन्न हुँदैन । यस पटकसम्म गरी चार पटक प्रधानमन्त्री हुन पुगेका शेरबहादुर देउवाले नेपालको हित हुने गरी सबैसँग सम्बन्ध राख्ने सुदृढ परराष्ट्र नीति अपनाउने कुरा बताएका छन् । मान्छेहरूले देउवाको विगत हेरेर राम्रो आकृति बनाएको पाइँदैन । तर विद्यमान चुनौतीलाई व्यवस्थापन गर्ने हिम्मत गर्नु ७१ वर्षका देउवाको सकरात्मक पक्ष मान्नु पर्दछ । इतिहासभन्दा पनि वर्तमानमा जिउने र सुनौलो भविष्यलाई ध्यान दिई काम गर्न सके देउवाले नयाँ मानक स्थापना गर्ने ऐतिहासिक क्षण प्राप्त गरेका छन् । हेरौं, उनका आगामी कदमहरूले उनलाई कुन पुरुषका रूपमा उभ्याउनेछ ?
माओवादीका अध्यक्ष प्रचण्डले बडो मार्मिक रूपमा संसद्मा बोलेको सुनियो । हो, उनैको कारण नेकपा एमालेका नेताहरू माधव नेपाल, झलनाथ खनाल र के.पी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने वातावरण बनेको थियो । प्रथम संविधानसभाको निर्वाचनमा दुई–दुई ठाउँबाट हारेका माधव नेपाललाई मनोनीत गर्ने प्रस्ताव प्रचण्डले नगरेको भए प्रचण्डले राजीनामा दिएपछि माधव नेपाल प्रधानमन्त्री हुने नै थिएनन् । खनाल र ओली त प्रचण्डको सक्रीय सहयोग र सर्मथनबाटै सरकार प्रमुख बनेका थिए । यदि ओलीले बालहट नदेखाएको भए यतिबेला एमालेका अर्का नेता वामदेव गौतमले ‘चान्स’ पाइसकेका हुन्थे । परिणामस्वरूप यस पटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्न पुगे । यसरी हेर्दा नेपाली राजनीतिको मुख्य चाबी प्रचण्ड हुन पुगेका छन् ।
माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र नयाँ सन्देश दिन सफल त देखिए, त्यही रूपमा आफ्नो पार्टीको आन्तरिक व्यवस्थापन गर्न नसक्दा टुटफुट र भएको मौजुदा पार्टी पनि गुटैगुटमा अभिब्यक्त भइरहेको छ । प्रचण्डको यस प्रवृत्तिले घरको देउतालाई हेला गरिएको रूपमा हेर्न पनि सकिन्छ । माओवादीहरूले प्रचण्डलाई जननेता बनाउन चाहे पनि उनका कार्यहरूले राजनेताको रूप पाइरहेको छ । जे होस्, इतिहासमा उनले यो देशको अभिभावक बन्ने मौका पाएका छन् । यसमा हामी सबैले गर्व गर्न पर्छ । किनकि हाम्रै रगत र पसिनाको प्रतिफल प्रचण्डको व्यक्तित्व निर्माण भएको हो । त्यही अनुरूप प्रचण्डले जसरी घरको अभिभावकबाट ‘सानाबाट खाई ल्याउनु र ठूलाबाट लगाई ल्याउनु’ भनेझैं हेक्का राख्नपर्ने हुन्छ ।
हुन त यो बेलासम्म हाम्रा अभिभावकहरूबाट अपेक्षाअनुसार कुनै पनि परिवर्तनको महसुस नहुँदा जनयुद्धमा रोजगारी पाएसरह आन्दोलनमा होमिएका योद्धाहरूले सम्मान पाएका छैनन् । बरु विदेशका गल्लीहरूमा कुल्ली काम गरेर भए पनि आफ्नो आस्था र विचार जोगाएको पाइएको छ । गाउँ समाजमा माओवादी लागेका कारण सामाजिक रूपमा अवनति बेहोर्न परिरहेका जिन्दगीहरूका बारेमा राजनेता प्रचण्डहरूबाट हरपल सम्झना होस् । प्रचण्डले जो जतिलाई समर्थन गरेर प्रधानमन्त्री बनेका छन्, उनीहरूले माओवादी आन्दोलनकै कारण परिवर्तन र यो स्तरको कार्यकारी हैसियत प्राप्त भयो भनी माओवादी आन्दोलनका अभियन्ताहरूलाई सम्मान गर्न जानुन् । प्रचण्ड अरुका लागि हुन्छबहादुर भइरहेका छन् भने आफ्ना लागि पनि हुन सक्नु पर्दछ । अझ जसलाई प्रचण्डले सम्मान गर्छन्, उनैबाट धोका पाउँदै आएको इतिहास छ । आशा गरौं, आउँदा दिनहरू प्रचण्डको राजनैतिक इमान्दारिताको नजिरले स्थापित गर्न सकोस् । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here