मान्छेको व्यक्तित्व देखाउने जुत्ता हो, के छन् जुत्ता व्यवसायीका गुनासा जुत्ता व्यवसायी राजन श्रेष्ठसँग स्वाभिमान नेपालले गरेको संवाद
जुत्ता व्यवसायीको रुपमा तपाईंको अनुभव कस्तो छ ?
नेपालमा जुत्ता व्यवसायको राम्रो सम्भावना छ । तर, यस व्यवसायलाई तल्लो जातिले गर्ने पेशाको रुपमा लिने गरिन्छ । यो पेशालाई हेय रुपमा हेरिएको मैले महसुस गरेको छु । त्यसकारण यस पेशामा काम गर्ने मानिसको कमी छ । हाम्रोमा काम गर्ने धेरै मजदूरहरु भारतीय छन् । पछिल्लो समय धार्मिक कार्यहरुमा प्रयोग हुने चप्पलहरु बनाउन हामीले महिलाहरुलाई प्राथमिकता दिएका छौं । महिलालाई पनि यो पेशामा आकर्षण गर्ने र रोजगारीको वातावरण सृजना गर्ने दिशामा हामीले काम गर्दै छौं ।
यस पेशालाई किन ‘हेय’ रुपमा हेरिएको होला ?
हाम्रो पुरानो सामाजिक संरचनाकै कारण यो समस्या देखिएको हो । किनभने केही समयअघिसम्म जुत्ता, चप्पलको उद्यम गर्नेहरु निश्चित समुदायका व्यक्ति हुन्थे । यद्यपि, त्यसमा अहिले धेरै परिवर्तन आइसकेको छ । अहिले बाहुन, क्षत्री, नेवारलगायत जातिहरु अझ धेरै संख्यामा हुनुहुन्छ । तर, कतिपय व्यक्तिमा यससम्बन्धी सचेतता आइसकेको छैन । यसो हुनुमा हाम्रो सामाजिक सोच नै प्रमुख कारण हो जस्तो लाग्छ । यसको मतलब केही परिवर्तन भएको छैन भन्ने पनि होइन । क्रमशः त्यस्तो सोचमा परिवर्तन हुँदै छ ।
महिलालाई प्राथमिकता दिएको भन्नु भयो । तपाईंकोमा कति महिला काम गर्नुहुन्छ ?
मेरोमा काम गर्ने महिला दिदीबहिनीहरु १७÷१८ जना हुनुहुन्छ । मेरो साथीहरुको झन् धेरै महिलाहरु कार्यरत हुनुहुन्छ । जुत्ता व्यवसायीहरुको संघको हिसाबले यस पेशामा धेरै महिलाहरु आबद्ध हुनुहुन्छ । तर, यसको मतलब महिलालाई मात्र प्राथमिकता दिएको भन्ने होइन, पुरुष दाजुहरु पनि उत्तिकै हुनुहुन्छ । तर, हाम्रो उद्देश्य महिलाहरुलाई पनि यस पेशामा सामेल गराएर उनीहरुको सशक्तीकरण गर्नु हो ।
तपाईंहरुले बनाउने जुत्ताचप्पलको निर्यात कस्तो छ ?
हाम्रा अधिकांश उत्पादनको खपत देशभित्र नै हुन्छ । तर, गोल्डस्टारको निर्यात भने भारतमा पनि हुने गरेको छ । भारतमा गोल्डस्टारको खपत राम्रो रहेको छ । हाम्रो विचारमा गोल्डस्टारको करिब ५० प्रतिशत उत्पादन भारत पुग्ने गरेको छ । त्यसबाहेक ढाका, मखमल आदिको चप्पल युरोप, अमेरिका पनि निर्यात हुने गरेको छ ।
तपाईंहरुलाई सरकारी पक्षबाट कस्तो सहयोग छ ?
दुःखद भन्नुपर्छ, अहिलेसम्म नेपालमा नै बनेका जुत्ता चप्पलहरुको बारेमा सरकारसँग कुनै स्पष्ट नीति नै छैन । नेपाली जुत्ताचप्पलहरुलाई कसरी प्रोत्साहन गर्ने भन्ने कुरामा सम्बन्धित सरकारी निकायले नसोचेको हामीले पाएका छौं । जस्तै, नेपालमा उत्पादित जुत्ताचप्पललाई सरकारले प्रोत्साहनस्वरूप नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, निजामती कर्मचारीलाई अनिवार्य प्रयोग गर्ने भनेर नीतिनियम बनाउन सकिन्छ । त्यो हुन सकेको छैन । यस्तो व्यवस्था गर्नलाई हामीले धेरै माग गरेका छौं, सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छौं । तर पनि हुन सकेको छैन ।
अर्को कुरा, सरकारले हामीलाई उद्यमी भने पनि त्यसअनुसार व्यवहार गर्दैन । उदाहरणका लागि विदेशी तयारी जुत्ता आयात हुँदा भन्सारमा २ सय रुपैयाँ तिर्दा हुन्छ । तर, हामीले कच्चा पदार्थ ल्याउँदा पनि त्यही हाराहारीमा भन्सार तिर्नुपर्छ । हामीले आयातित जुत्तामा भन्सार मूल्य अलि बढाउनुप¥यो र कच्चा पदार्थमा सरकारले कम भन्सार मूल्य लिनुपर्छ भनेर माग गरेका छौं । यसले व्यवसायीलाई आफ्ना उत्पादन निर्यात गर्न सजिलो होस् भन्ने हो । त्यस्तै, ‘फुटवेयर जोन’को निर्माणको चरणमा पनि हामी छौं ।
नेपालमा विदेशी जुत्ताको प्रयोग धेरै हुन्छ । नेपाली जुत्ताको प्रयोग कसरी बढाउन सकिएला ?
अहिले नेपाली जुत्ताको गुणस्तर निकै राम्रो भइसकेको छ । तर, हामीले यस कुरालाई बुझ्नुपर्छ । हालै मात्र भृकुटीमण्डपमा नेपाली जुत्ताको प्रदर्शनी भयो । त्यो प्रदर्शनीमा एमाले नेता माधवकुमार नेपाल पनि आउनुभएको थियो । उहाँले मेरो स्टलमा एक जुत्तालाई संकेत गर्दै भन्नुभयो, ‘भाइ, यो खासाको जुत्ता हो ?’ उहाँजस्तो व्यक्तिले नेपाली जुत्ताको प्रदर्शनी स्थलमा पुगेर विदेशी जुत्ता हो भनेर सोध्नु हुन्छ भने हाम्रो सोचाइ कहाँ छ ? त्यसकारण यस्तो सोच परिवर्तन गर्न आवश्यक देखिएको छ । हरेक इभेन्टमा प्रयोग गर्न सकिने जुत्ताहरु अहिले नेपालमा नै बन्ने गरेका छन् । सोच परिवर्तन गर्न सके नेपाली जुत्ताको प्रयोग पनि बढ्छ ।
जुत्ता बनाउने तालीम कसरी दिँदै हुनुहुन्छ ?
म संघमा आबद्ध भएको यो तेस्रो कार्यकाल हो । हामीले हरेक दुई वर्षमा जुत्ता बनाउने तालीमहरु दिँदै आएका छौं । तालीम दिएका सबैलाई काम गर्ने स्थान पनि दिएका छौं । तालीम दिने र छोड्ने गरिएको छैन । हामीलाई त झनै धेरै जनशक्तिको खाँचो छ । नेपाली बजारमा ७० प्रतिशत स्थान नेपाली उत्पादनको छ । अझै यहाँ मजदूरको अभाव छ । मेरै उद्योगमा पनि ३० जना चाहिने ठाउँमा मान्छे नपाएर २÷३ जना मात्र छन् ।
अहिले युवाको आकर्षण वैदेशिक रोजगारीमा छ । यसलाई हटाउन के गर्नुपर्ला ?
युवाको आकर्षण वैदेशिक रोजगारीमा हुनुको कारण गलत मनोविज्ञान हो । हाम्रा युवा दाजुभाइमा विदेश जान पाए केके न होला भन्ने छ । यो भ्रमलाई हटाउन जरुरी छ । त्यसका लागि सरकारले नै ध्यान दिने हो । सरकारले नै हरेक वर्ष देशभित्र नै रोजगारीका अवसरहरु सृजना गर्नसक्नुपर्छ । निजी क्षेत्रबाट त प्रयासहरु भइरहेका छन् नै । हामी तालीम दिन, त्यसपछि रोजगारी दिन तयार छौं । सरकारले तोकेको न्यूनतम तलब दिन पनि हामी तयार छौं । हाम्रो क्षेत्रबाट यो व्यवसायलाई गर्नुपर्ने काम गरिरहेका छौं । सरकार पनि हामी व्यवसायीको पक्षमा गम्भीर हुन जरुरी छ ।



















