पहाडी र मधेशी अतिवादको विरोध गरौं, – ‘प्रचण्ड’

185

भदौ १८, सिमरा । राष्ट्रिय जनता पार्टी (राजपा) का तीन जना केन्द्रीय सदस्यसहित ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार दिउँसो सर्लाहीमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
राजपाका केन्द्रीय सदस्य चेतनारायण महतो, राजकुमार साह र सिताराम महतोको नेतृत्वमा ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नेता—कार्यकर्तालाई अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा ‘बादल’, मातृका यादव र रामेश्वर राय यादवले स्वागत गर्नुभएको थियो ।
आइतबार नै बारा जिल्लामा आयोजित विभिन्न कार्यक्रममा ४२० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बारा जिल्लाको कोल्हबीमा २७० र जितपुर सिमरा उपमहानगरमा १५० जना गरी ४२० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आइतबार नै पर्साको बीरगञ्ज महानगरमा आयोजित कार्यक्रममा ३०० जना स्थानीय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मधेशी दलले राजनीतिको ब्यापार गरे, ‘प्रवेशी नेताहरु’

माओवादी केन्द्रमा प्रवेश गर्दै राजपाका नेताहरुले मधेशवादी दल र राजपाले राजनीतिको ब्यापार गरेको बताए । सभामा बोल्दै राजपा नेता चेतनारायण महतोले भन्नुभयो, ‘मधेश आन्दोलनमा त्यत्रो बलिदान भयो । तर, मधेशी नेताहरुले जनताको हित सोचेनन्, आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेनन् । देशको एक मात्र क्रान्तिकारी र विकासको नेतृत्व गर्ने पार्टी माओवादी केन्द्र भएकाले मैले राजपा छोडें । अब मधेशमा राजपाको राजनीतिक औचित्य पनि छैन ।’ कार्यक्रममा बोल्दै नेता रामेश्वर राय यादवले मधेशमा माओवादीको पक्षमा ठूलो लहर आएको बताउँदै माओवादीले मात्रै देश र जनताको हितमा काम गर्न सक्ने बताउनु भयो ।

पहाडी र मधेशी अतिवादको विरोध गरौं, ‘प्रचण्ड’

सभामा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रवादका नाममा अतिवादीहरु मौलाएको भन्दै पहाडी र मधेशी अतिवादको विरोध गर्न अपील गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘एकथरि मान्छेहरु राष्ट्रवादका नाममा मधेशी जनतालाई भारतीयको आरोप लगाइरहेका छन्, तल्लो स्तरमा गिरेर स्वाभिमानमाथि प्रहार गरिरहेका छन् । अर्कोथरि मान्छेहरु पहाडियाप्रति घृणाको नजरले हेर्छ । नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो, एकले अर्काको सम्मान र अधिकार दिएर मात्र देश बलियो हुन्छ । त्यसैले पहाडी र मधेशी अतिवाद र नश्लवादको विरोध गरौं ।’
‘माओवादी मात्रै सच्चा राष्ट्रवादको पक्षमा छ, हामी पहाडसँग मधेश र मधेशसँग पहाड भिडाउने अतिवादको विरुद्धमा छौं’, प्रचण्डले भन्नुभयो, ‘काठमाडौं बन्न मधेशी जनताको रगत र पसिना बगेको छ । मधेश बन्न पहाडको श्रम र पसिना छ, यो यथार्थलाई हामीले झुल्नु हुँदैन । सबैलाई बराबरीको अधिकार दिएर मात्र देश बलियो हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here