तराई, महाभारत र पूर्वी पहाडको हुम्ला ⁄

289

 डा. दीपेन्द्र रोकाया

मान्छेको पहिलो परिचय आफ्नो नाम हुन्छ । त्यसपछि सालनाल गाढिएको क्षेत्र नै हुने रहेछ । म जहाँ जान्छु, आफ्नो नाम भनेपछि हुम्ला रादेउको हुँ भन्छु । मेरा अधिकांश साथीहरू आफ्नो परिचय दिदा शुरुमा हुम्ला भन्दैनन् । तर मलाई मेरो प्यारो हुम्लाको परिचय दिदा गर्व लाग्दछ । किनकि देशका विभिन्न ठाउँमा जाँदा आउँदा साथीभाईसँग परिचय हुने नै भयो । उनीहरूमध्ये केहीले आफुलाई तराईको हुम्लाको हुँ भनी चिनाउँछन् । कसैले चुरे र महाभारतलाई आफ्नो परिवेशको हुम्ला भनी देखाउँछन् भने केहीले पूर्वी पहाडका अविकसित गाउँहरूलाई पूर्वको हुम्ला भनेर चिनाएको पाउँछु । अर्थात् जहाँ दुर्गम, अभाव वा गरिवी छ, त्यस ठाउँलाई हुम्ला भनेर उपमा दिने गरिएको छ । केही वर्ष अघिसम्म यस्ता ठाउँलाई कर्नाली भन्ने गरिन्थ्यो, अब त्यो बिस्तारै हुम्लामा केन्द्रित हुँदैछ । यसको गहिरो अर्थ रहेकाले यस पटक यसै विषयमा केन्द्रित हुन चाहन्छु ।

 
गत हप्ता आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको कार्यक्रम अनुगमन गर्न जाँदा कपिलवस्तुको जितपुर पुगेको थिएँ । सिद्धार्थ सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक पोम नारायण पौडेलजीले कपिलवस्तु शिक्षामा तराईको हुम्ला हो भन्नुभयो । यो बौद्ध विश्वविद्यालयबाट कपिलबस्तुका बौद्ध सम्पदाहरूको बारेमा पिएचडी गरिरहेका पौडेलको मात्र बुझाई थिएन, यस जिल्लाका सहायक जिल्ला शिक्षा अधिकृत बाबुराम भट्टराईको पनि त्यस्तै थियो । तर उहाँले १०÷१५ वर्षअघिको कपिलवस्तुको अवस्था त्यस्तै थियो भन्नुभयो । फुलिका, नन्दनगर, पतरिया, गुगौली, शिवगढी र खुरहुरिया मध्ये नन्दनगरको धतुरगढस्थित श्री निमावि श्रीनगर पुग्दा यो कुराले गहिरो अनुभव गरायो । त्यस विद्यालयका प्रध्यानाध्यापक अमरकुमार श्रीवास्तव भन्दै हुनुहुन्थ्यो– ‘२०४६ सालमा स्थापना भएको यो स्कुलमा २०५० सालसम्म रुख मुनी बसालेर पढाउने गरिन्थ्यो । त्यसपछि सबैतिर पहल गर्दा बल्लबल्ल विद्यालय भवन बन्यो ।’

 
यतिसम्मको अवस्थालाई सहजै लिएको थिएँ । तर प्रअ श्रीवास्तवले थप्नुभयो, ‘हामी ७ जना शिक्षकले ४०५ जना विद्यार्थीलाई पढाइरहेको छौ । तर कक्षा ८ उतीर्ण गरेपछि यहाँबाट ७–८ किलोमिटर टाढा गई ९ कक्षा पढ्न पर्ने भएकाले यहाँका अभिभावकहरूले आफ्ना बच्चाहरूको पढ्ने इच्छा छ भने फेल गराउन अनुरोध गर्न आउँछन् । किनकि असुरक्षित अवस्थामा छोरीलाई कसरी टाढा पढ्न पठाउने भन्ने चिन्ता छ ।’ आफुले निमावि पढ्न जाँदा विहान ओरालो भएकाले साढे एक घण्टा र बेलुका उकालो हुनाले साढे दुई घण्टा हिडेर पढेको दिनहरू सम्झेँ । मावि पढ्नको लागि त चार घण्टा हिडेपछि स्कुल पुगिन्थ्यो । तर कपिलवस्तुमा पढ्ने चाहनालाई निरन्तरता दिने हो भने आफ्ना छोराछोरीलाई फेल गराउन अनुरोध गर्ने अभिभावकको अवस्थाले पिरोल्यो मलाई । यो सन्दर्भ वालित अलि मुसलमानले आफ्नी छोरी रविना ठाकुर कक्षा ८ पढ्दा नै विद्यालयमा अनुरोध गरेको प्रशंग हो । विद्यालयले परिक्षामा उतीर्ण विद्यार्थीलाई कसरी फेल गराउन सक्दथ्यो र ? तर फेल नगराएकै कारण रविनाले यस वर्षदेखि पढाई छोडेको जानकारी पाइयो । यो मनोदशा यस क्षेत्रका प्रायः छोरी मान्छेहरूले भोग्न परेको छ ।

 
प्रगतिनगरका नटुवा समुदायले जिजु, बाजेको पालादेखि सर्प देखाउने, नचाउने र मागी खाँदै आएपनि आफ्नो पहिचानको लागि संघर्ष गरिरहेका छन् । विचाराहरू, पत्थरकटुवालाई दिएजस्तै भत्ताको लागि आवाज उठाइरहेका छन् । विजुली वत्तीको लागि करिव १५ पटक त मेरै अगाडि हात जोडे । यस विषयमा सम्बन्धित निकायमा भनी पनि सकिएको छ । सम्झाना गर्न सकिन्छ, सिद्धार्थ गौतमले विहे गर्ने बेला मल्लयुद्धमा जितेपछि यशोधारासंग विहे गर्न पाएका थिए । उनले रोहिणी नदिको पानी ६० प्रतिशत कपिलवस्तु र ४० प्रतिशत कोलीय राज्यले उपयोग गर्दा उपर्युक्त हुने धारणा राखेका कारण आफ्नै राज्यमा बसे मृत्युदण्ड स्वीकार्नु पर्ने स्थिति आयो । परिणाम स्वरूप छोरा राहुल जन्मेकै रात गृहत्याग गर्नु परेको थियो ।

 
६ वर्षसम्मको हण्डर ठक्करको अनुभवले खारिएका सिद्धार्थ गौतमले सुजताको हातबाट खिर खाएर आफ्नो परिचय दिदै आफ्ना धारणा सुनाउन लागेका थिए । उनलाई शाक्य मुनी बुद्ध मानियो । उनीभन्दाअघि यसै क्षेत्रमा क्रकुछन्द बुद्ध र कनकमुनी बुद्ध जन्मेका थिए भन्ने गरिन्छ । अब पनि यसै भूमिमा मैत्री बुद्ध जन्मिने बौद्धमार्गीको विश्वास रहेको देखिन्छ । जेहोस् मैले अशोकस्तम्भमा कर्नालीका शासक रिपु मल्लले १२३४ मा आफ्नो नाम कुदाएको ठाउँमा पुग्दा नजिकको देउता हेला भन्ने हुँदो रहेछ भनी गहिरो अनुभव गरेँ । किनकि यहाँ बुद्धत्व प्राप्त गर्दा सिद्धार्थ गौतमले भनेका थिए कि, दुःखको कारण अज्ञानता हो । तर यहाँ कतिपय कुरा थाहा पाउनु पनि महादुःखको कारण बनीरहेछ । यो यसकारण कि, बुद्धभूमिमा बौद्धमार्गी कम छन् । स्मरण गर्न सकिने पीडा यो छ कि २०३३ सालमा ३३ जना महिला रोपाईबाट फर्कदा जवावारीमा स्थानीय जमिन्दारहरूले सामुहिक बलात्कार गरेका थिए । २०५९ मा माओवादी र पहाडी मार्न भनेर प्रतिकार समिति बन्यो र त्यसले १३० जनाको हत्या गरेको थियो ।
माफ गर्नुहोस्, म परिचयकै क्रममा थिएँ । गोरखामा जिल्ला सिचाई डिभिजन प्रमुख लोकबहादुर थापासँग उहाँकै कार्यकक्षमा परिचय भयो । उहाँले हुम्लाको श्रीनगर क्षेत्रमा गएको अनुभव सुनाउँदै गोरखाको उत्तरी भागलाई हुम्लाको रूपमा चिनाउने गर्दछौ भन्नुभएको थियो । नेपालका राजाहरूको पुख्यौली थलो तथा नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापादेखि डा. बाबुराम भट्टराईसम्म जन्मेको जिल्लाको उत्तरी क्षेत्रले हुम्लाको उपमा पाइरहेकै रहेछ । नेपालको कमजोर राज्यका राजा पृथ्वीनारायण शाहले पछिल्लो पटक नेपाल विस्तार अभियान सञ्चालन गर्ने जिल्लामा भएको कुरा हो यो । यही पाराले केही दिनअघि गृहमन्त्रालय बाहिर काभ्रेका छिन्ताङजीसँग भेट भयो । उहाँले काभ्रेको महाभारतलाई ‘तपाई पुगेको त्यो हुम्लाको विकास गर्न सकिएको छैन’ भन्नुभयो ।

 
खोटाङ–भोजपुरको सिमाना ट्याम्के आसपासका साथीहरू भेटिदा होस् वा सुदुर पूर्वको पाँचथर च्याङ्थापुतिर जाँदा गुरूप्रसाद तिमल्सिना, प्रशुराम नेपाल, सुवर्ण थापा मगरजस्ता साथीहरूले त्यो इलाकालाई हुम्लासँग दाँज्दै हुनुहुन्थ्यो । मैले बिर्सेको छैन, कञ्चन खनालले पर्वतमा चितवनमा पनि हुम्ला छ भनी दिएको जानकारी । म त्यो ठाउँ पनि पुगेँ । त्यही ठाउँमा जाँदा २०५८ सालमा पहिलो पटक माओवादीका सबै शिर्ष नेताहरूलाई भूमिगत रूपमा भेटेको थिएँ । चितवनको हुम्ला जाँदा चुलेसीजस्ता धार भएका, बाटो हत्तपत्त पत्ता लगाउन अप्ठेरो पर्ने चुरे क्षेत्र रहेछ त्यो । त्यसको राम्ररी अवलोकन उप्रदानगढीबाट गर्न सकिन्छ ।

 
यस पंक्तिकारले यी विषयवस्तु किन उठान गर्नु परेको हो भने एक त हुम्लाले दुर्गम, अशिक्षित, अविसित र असभ्य लाग्ने कुराको प्रतिनिधित्व गरिरहेको छ । राज्यसँग मोटर बाटो नजोडिनाले बनेका प्रतिविम्बहरू कति छन् कति ? यो प्रतिक फेर्न र फेराउन एकपटक हुम्ला भ्रमणको निम्ता दिनुपर्ने भएको छ । अर्कोकुरा हुम्लाको विकास गर्न अरुबाट आश गरेर मात्र हुने देखिएन । त्यसको लागि इच्छाशक्तिसहित काम गर्ने वातावरण बनाउन आवश्यक छ । यसर्थ यी भनाईहरूले मेरो हिम्मत बढाउने काम गरिरहेका छन् । म चुनौतिलाई महान अवसर ठान्दछु । कर्नालीको शिर हो, हुम्ला । विश्वास छ कि, ऐतिहासिक र आधुनिक हुम्ली सभ्यताको महिमा फैलाउन सकिन्छ । वालवालिकालाई लगानी, युवाहरूलाई रोजगारी र वृद्धबृद्धालाई सम्मान दिन सकौ । ढुङ्गामा पुजेर देउता भेटिदैनन्, मान्छेलाई चिन्न सके महादेव जन्मेको हिमाली जिल्ला हुम्ला चिन्न सकिन्छ । त्यसपछि अहिले परिचय दिदा धक मान्नेहरू र उपमा दिनेहरूलाई हुम्ला चिनाउन सजिलो पर्नेछ । २०७४ भदौ २१

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here