प्रदेश नम्बर २- ३८ हजार ४८ उम्मेदवार, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन-९१ दललाई चुनाव चिन्ह

1207

काठमाडौँ। आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारीअनुसार निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमध्ये प्रमुख÷अध्यक्ष पदमा एक हजार ८१३, उपप्रमुख÷उपाध्यक्ष पदमा एक हजार १३५ र वडाध्यक्ष पदमा आठ हजार ४७४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

यसैगरी, खुल्ला सदस्य दुई पदमा १३ हजार ७३१, महिला सदस्यमा ६ हजार ७३५ र महिला दलित सदस्यमा ६ हजार १६० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरणलाई प्रशोधन गरी यकिन गर्ने कार्य जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

तेस्रो चरणको स्थानीय तहको यस निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा गरी कुल ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

९१ दललाई चुनाव चिन्ह वितरण-

 निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ९१ दललाई चुनाव चिन्ह वितरण गरेको छ। आयोगको बिहीबारको निर्णयअनुसार दललाई चुनाव चिन्ह वितरण गरेको हो।

आयोगको निर्णयअनुसार पशुपति शमशेर राणा नेतृत्वको नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले गोलाकारभित्रको हलो चुनाव चिन्ह पाएको छ। यस्तै, डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)ले आयतकारभित्रको हलो चिन्ह पाएको छ।

६ वटा मधेस केन्द्रित दल मिलेर एकीकृत भएको राष्ट्रिय जनता पार्टीले छाता चुनाव चिन्ह पाएको छ।

नौँ वटा राजनीतिक दलले संयुक्त चिन्ह पाएका छन्। नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडालाई तीनवटा पार्टी चुनाव चिन्ह बनाएका छन्। माओवादी केन्द्र सहित उक्त चिन्हमा प्रेमबहादुर सिंहको समाजवादी जनता दल र लोकमणि ढकाल नेतृत्वको जनजागरण पार्टीले चुनाव लड्ने भएका छन्। नेकपा मालेको चुनाव चिन्हमा जनसमाजवादी पार्टी पनि संयुक्त रुपमा चुनावमा जाने गरी आयोगले चिन्ह वितरण गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here