वैद्य र विप्लवलाई निद्राबाट ब्यूँझिन प्रचण्डको आग्रह

137

काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरूबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प नभएको जनाएका छन् । संघीय समाजवादी फोरम, नेपाल कम्युनिस्ट पार्टी, नेपाल माओवादी पार्टी आबद्ध पार्टीका नेता तथा कार्यकर्तालाई मंगलबार आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउँदै उनले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने हो भने परिवर्तनकामी शक्तिबीच एकता अपरिहार्य रहेकोमा जोड दिए ।
अध्यक्ष प्रचण्डको कथन थियो, ‘माओवादी आन्दोलन कमजोर हुँदा समावेशी, समानुपातिक प्रतिनिधित्व, महिला दलित, मधेसी, आदिवासी, जनजातिको माग र मुद्दा कमजोर हुने हो कि भन्ने चिन्ता सबैतिर व्याप्त छ । सोही कारण पनि परिवर्तनकारी सबै शक्ति मिल्नुको विकल्प छैन ।’ मोहन वैद्य, डा बाबुराम भट्टराई र नेत्रविक्रम चन्दतिर संकेत गर्दै उनले थपे, ‘केही मान्छेहरू अझै पनि निद्रामा नै छन् । उनीहरू ब्युँझने बित्तिकै एकता प्रक्रियामा आउँछन् । जो जहाँ ब्युँझियो, त्यहीँबाट अभियानमा केन्द्रित हुनु जरुरी छ ।’

 
स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनले छुट्टाछुट्टै नबस्न निर्देशन दिएको भन्दै उनले माओवादी धारमा नै रहेका र त्योभन्दा बाहिर रहेका जुनसुकै शक्तिलाई पनि एकता प्रक्रियामा सहभागी हुनै पर्ने बाध्यतासमेत आइपरेकोमा प्रचण्डले जोड दिए । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अभियान चलिरहँदा तराई मधेशमा माओवादीको पक्षमा उल्लेख्य जनउभार आएको भन्दै अध्यक्ष प्रचण्डले थपे, ‘हिमाल, पहाड तथा तराईलाई एकताबद्ध बनाएर लैजाने शक्ति माओवादी मात्रै हो भन्ने जनस्तरमा स्थापित भएको छ । यसले संघीय र प्रदेश निर्वाचनसम्म पुग्दा माओवादी पुनः बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित हुने अवस्था देखिएको छ ।’

 
माओवादीले अगाडि सारेको राष्ट्रिय कार्यसूची एवं राष्ट्रिय एजेण्डाका कारण जनउभार आएको भन्दै अध्यक्ष प्रचण्डले साँघुरो सोच र मानसिकता त्यागेर एकीकत राष्ट्रिय एकताको प्रक्रियामा सहभागी हुन आग्रह गरे । संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन, संघ र प्रदेशको निर्वाचनले मुलुकलाई एउटा नयाँ दिशामा लैजाने उनको कथन थियो । कार्यक्रममा ती पार्टीका सयौँ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
यसप्रकार प्रचण्डले पछिल्ला दिनमा प्रायः नछुटाउने माओवादी धारहरूको एकता सुन्दा जति कर्णप्रिय छन्, त्यसका लागि उनले गरेका पहलकदमीहरू भने उति आकर्षक छैनन् । निःसन्देह पार्टीको अस्वाभाविक विभाजनका बाबजुद उनले आफ्नो नेतत्व नै माओवादी तप्काहरूको केन्द्र र मूलधार भएको सिद्ध गरे । २०७० को संविधानसभा चुनावमा प्रत्यक्षतर्फ जम्मा २६ जना सांसद जितेको दललाई सरकार गठनको निर्णायक शक्ति बनाउन सकेकै हुन् । उनले नयाँ शक्तिमा गएका डा. बाबुरामहरू वा क्रान्तिकारी रोमान्सको ह्यांगबाट मुक्त नभएका वैद्य र विप्लवहरूका सामु आफ्नो नेतत्वको दलको औचित्य तुलनात्मक रूपमा स्थापित गरेकै छन् । एक हिसाबले माओवादी भनेकै प्रचण्ड र प्रचण्ड नेतत्वको माओवादी नै मूलधारको माओवादी भन्ने मान्यता राजनीतिमा स्थापित गरेकै छन् भन्ने आम बुझाइ जस्तै पाइन्छ ।

 
तर १० वर्षे जनयुद्धको बलिदानीपूर्ण त्याग र संघर्षको ताजा आलोक र देशको युगीन परिवर्तनलाई संस्थागत गर्न आईलागेका बहुपक्षीय चुनौतीहरूको सामना गर्ने मामलामा अब प्रचण्डले यही खुम्चिएको आफ्नो शक्तिका बीच एकताको अलाप गरेर मात्रै हुन्न । एकताको सैद्धान्तिक आधार, कार्यक्रमिक सुस्पष्टता, स्खलित वैचारिक र साँस्कतिक चरित्रको पुनर्निर्माण तथा शोधभर्ना र आम जनमानसमा परेका नकारात्मक भ्रमहरू हटाउन आफैँ काबिल र उदाहरणीय बन्न सक्नुपर्छ ।
‘हिँड्दै छ पाइला मेट्दै छ’ भन्ने जस्तो भइरहेको माओवादीको क्रान्तिकारी चरित्र, व्यवहार र संस्कारको पुर्नस्थापना र जनतासँग टाढिएको कार्यकत्र्ता पंक्तिको उठबस र सम्बन्धमा पुनर्जीवनका लागि पछिल्ला चुनावी अभियानमार्फत जसरी प्रचण्ड अघि सरेर उदाहरणीय बने, त्यही शैली बाह्रै महिना बाह्रै काल देशव्यापी पार्टी पंक्तिबाट हुन आवश्यक छ । त्यसका लागि हिजो ज्यान दिन तयार पार्टीपंक्ति अहिले समय र ऊर्जा दिन तम्तयार हुन सक्नुपर्छ । चुनावका मुखमा पार्टीमा ओइरिने हुल वा भीडले त्यो शक्ति पार्टीमा थपिँदैन भन्नेमा उनले ध्यान दिनैपर्छ ।

 
निश्चय नै डा. बाबुराम, वैद्य र विप्लवहरूको तुलनामा मात्रै प्रचण्ड माओवादी सबल, बलियो र अग्लो देखिएको हो । यो परिवर्तनको पूर्ण पक्षपाति नभइसकेको एमाले र काँग्रेसका तुलनामा प्रचण्ड माओवादी अझै होचो पुड्को छ, जनमतमा पनि र हस्तक्षेपकारी सत्ता राजनीतिक अभ्यासमा पनि । त्यसैले भाषणमा मात्रै होइन, जनताले पत्याउने गरी जनतासँगको कामका आधारमा आफैँ बलियो बन्ने उदाहरण बन्न सक्नुपर्छ प्रचण्डको पार्टी र पार्टीपंक्ति ।
जनयुद्धमा माओवादीप्रतिको आकर्षण, प्रवेश र समर्थन, उसको क्रान्तिकारी चरित्र र बलिदानीको कारण बढे को भएपनि पछिल्ला दिनहरूमा त्यो विरासत जोगाउन ऊ जुन विन्दुबाट चुक्यो, सुधार र परिवर्तन सोही विन्दुबाट थालिएमा मात्रै पनि प्रचण्डले चाहेको एकता र शक्ति आर्जन आरम्भ हुनेछ ।

 
चुनावका मुखमा सत्ताका लोभी पापीहरूको हुल पार्टीमा भित्र्याएकै भरमा माओवादी मोटाउने छैन, बरु सुन्निने रोगले ऊ झन् थला पर्नेछ । नेता अमिक शेरचनकै शब्दमा जनयुद्धकालमा खान नपाएर ग्याँष्टिक हुने माओवादी पंक्ति अहिले धेरै खाएर कोलेष्ट्रोलको बिरामी पर्नुको कारण खोजीमा नै माओवादीको शक्ति पुनआर्जनको गुदी कुरा निहित छ ।
विप्लवले चाहेर पनि हतियार युद्धको अभ्यास गर्न नसकिरहेको र वैद्यले आफूलाई मनको क्रान्तिकारी दलमा सीमित पारेको तथा डा. बाबुराम जनताबाट एक हदसम्म बहिष्कत भइसकेको परिवेशमा प्रचण्ड माओवादीले संख्या थप्ने चुनावी अभियानलाई शक्ति थप्ने महाअभियान बनाउन ढिलो गर्नु हुँदैन भन्ने जनचाहना सर्वत्र पाइन्छ ।

 
२ नम्बर प्रदेशको चुनावमा प्रचण्डको मिसन पार्टीलाई तेस्रो स्थानमा निरन्तर गर्न सकेमात्रै पनि इज्जत धान्ने तहमा हुनेछ । तर यति हँुदैमा ऊ मधेशको बलियो शक्ति साबित हुने छैन । सांगठनिक रूपमा ध्वस्त र तहसनहस पार्टी र गुटै गुटको क्लब बनेको पार्टी नेतत्वलाई पहिले आफैंले पुनः जागत गर्न प्रचण्ड जसरी अघि बढेका छन्, त्यसलाई उनको सिंगो पार्टी पंक्तिले पनि साथ र समर्थन दिन र लाग्न अनिवार्य छ ।

 
मुद्दा माओवादीका, जीत र जनादेश काँग्रेस एमालेका पक्षमा हुने वर्तमान स्थानीय तहको चुनावी नतिजाले वैद्य, विप्लव र डा. बाबुरामहरूलाई एकै ठाउँमा उभिन निर्देश गरेको मात्रै सत्य होइन, त्यसका लागि प्रचण्डको नीतिगत नेतत्वमा नयाँपन खोजेको पनि उत्तिकै तथ्य हो । लड्न र संघर्ष गर्न सफल माओवादी जनमत जित्न पनि पहिलो हुने चुनौती उसले लिने बाटो, देखाउने व्यवहार र बोक्ने लक्ष्यमा आधारित हुनेछन् भन्ने माओवादी सुप्रिमो प्रचण्डले त बुझे तर बाँकी पार्टी पंक्तिलाई पनि उनले बुझाउन र बदल्न सक्नुपर्ने जनचाहना पाइन्छ । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here