सार्क स्तरीय महिला उद्यमीबीच नेपाली महिलाको स्थिति

296

राज्यलक्ष्मी शाक्य

राजधानी काठमाडौंमा सोमबार र मंगलबार दक्षिण एशियाली महिला व्यवसायीको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा पंक्तिकारले पनि सहभागी हुने मौका पाएको थियो । सम्मेलनमा १७ देशका ८० भन्दा बढी महिला उद्यमी सहभागी थिए । दक्षिण एशियाली महिला विकास मञ्च (सडफ)की अध्यक्ष प्रमिला रिजाल, भारतको हैदरावादस्थित एसोसिएसन अफ लेडी आन्टरप्रिनर्स (अलिप)की अध्यक्ष कन्नेगन्टी रमा देवी र आसियन विमन आन्टरप्रेनर्स नेटवर्क (एविन)की अध्यक्ष प्यासिटा जुवानलगायत विशिष्ट महिला व्यक्तित्वहरू कार्यक्रममा सहभागी थिए । यसरी सार्क क्षेत्रसहित अन्य देशका महिलाहरू सहभागी भई महिला विकासबारे छलफल हुनु सकारात्मक मान्न सकिन्छ । सम्मेलनलाई सोमवार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।

 
सम्मेलनमा सार्क तथा आसियान क्षेत्रसम्म महिला उद्यमीहरूले व्यवसाय गर्न पाउनेलगायत विषयमा छलफल भएको थियो । छलफलपश्चात् नेपाली महिला उद्यमीले सार्क र आसियान क्षेत्रका महिला उद्यमीसँग साझेदारी गरी व्यवसाय गर्न पाउने विषयमा हस्ताक्षर पनि भएको छ, जसलाई ठूलो उपलब्धिका रूपमा मान्न सकिन्छ । यसबाट नेपाली महिला उद्यमीको व्यवसाय क्षेत्रीयस्तरमा प्रवद्र्धन हुने अपेक्षा गर्न सकिन्छ । यस्तो सम्झौता सडफले एविन र अलिप दुवैसँग छुट्टाछुट्टै गरिएको छ । एविनसँग गरिएको सम्झौताअनुसार सार्क र आसियन क्षेत्रमा महिला उद्यमशीलता र महिला सशक्तीकरणका लागि दुवै संस्थाले मिलेर काम गर्ने, एकअर्काका शक्ति, अनुभव र स्रोतलाई परिचालन गरेर दुवै पक्षको फाइदाका लागि अगाडि बढ्ने र ग्रेट विमेन आसियान परियोजना पनि साझेदारी गर्ने सहमति भएको जनाइएको छ । त्यस्तै, अलिपसँगको अर्को सम्झौतामा भारतको हैदरावादस्थित विशाखापट्टनम बन्दरगाहमा सार्क ट्रेड सेन्टर स्थापना गरी सार्क र आसियान क्षेत्रका महिला उद्यमीलाई उद्यमशीलताको अवसर प्रदान गरिने,उक्त क्षेत्रलाई प्रदूषणबाट जोगाउन हरित औद्योगिक पार्कका रूपमा प्रवद्र्धन गरिने, यसका लागि आन्ध्रप्रदेश सरकारले जग्गा समेत उपलब्ध गराइसकेको जनाइएको छ । यसले सार्क क्षेत्रका महिला उद्यमीलाई टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।

 
सार्क क्षेत्रमा महिलाहरूको अवस्था सबल छैन । पुरुषको तुलनामा महिलाहरू निकै पछाडि रहेका छन् । त्यसकारण यसप्रकारको सम्झौताले यस क्षेत्रका महिलाहरूको अवस्थामा पक्कै सुधार ल्याउने छ भनेर आशा गर्न सक्निछ । कार्यक्रममा सडफकी अध्यक्ष रिजालले क्षेत्रीय स्तरमा परियोजना विस्तार गर्ने विषयमा नेपाली महिला उद्यमी यही मंसिर महिनामा भारत जाने तयारी भइरहेको जनाएकी छिन् । त्यस्तै, अन्तर्राष्ट्रिय सम्मेलनमा कषि, पर्यटन, टेक्सटाइललगायत क्षेत्रमा महिलाको लागि व्यापार अवसर कसरी सिर्जना गर्ने भन्ने विषयमा छलफल गरिएको छ ।
विभिन्न देशका उद्यमीहरूसँग सहकार्य गरेर अघि बढ्ने सहमति भएको नेपाली महिला उद्यमीले जनाएका छन् । नेपाली महिला उद्यमीले भारतमा कषि र फिलिपिन्समा कफीमा त्यहाँका महिला उद्यमीसँग सहकार्य गरेर अगाडि बढ्ने भएका छन् । यसका लागि यी दुवै देशका महिला निकट भविष्यमै नेपाल आएर स्थलगत अनुगमन गरी यसको सम्भावना अध्ययन गर्ने भएका छन् । साथै, चीनमा पुष्प व्यवसाय र पर्यटनका क्षेत्रमा सहकार्य गरी अगाडि बढ्ने, कम्बोडियामा भने टेक्सटायल उद्योगमा मिलेर काम गर्ने मौखिक सहमति सम्मेलनमा महिला उद्यमीले गरेका छन् ।

 
व्यापार र प्रविधिका हिसाबले विश्व नै सानो र एउटा गाउँ जस्तो बनिरहेको अवस्थामा एकअर्कासँगको सहमति र सम्झौता सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यो परिपूर्ण गर्नका लागि यो सम्मेलन सफल भएको मान्न सकिन्छ । यो सम्मेलनमार्फत अब नेपाली महिला उद्यमीहरूको देशभित्र मात्र नभएर अन्य देशमा पनि फैलिने अपेक्षा गर्न सकिन्छ । तर, त्यसका लागि प्रतिस्पर्धा क्षमता पनि विकास गर्न जरुरी छ । अन्य सार्क स्तरीय महिला उद्यमीहरूको तुलनामा नेपाली महिला उद्यमीहरूको स्तर विकास गर्न आवश्यक छ । rajyalaxmishakya@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here