बारा , बारा जिल्लामा रहेको १६ स्थानीय तह मध्ये दुई उपमहानगरको मतगणना सकिन अझै हप्ता दिन लाग्ने देखिएको छ । जीतपुरसिमरा उपमहानगरको मंगलवार विहान ५ बजे देखि सुरु भएको मतगणना बुधवार साँढे चार बजे सम्म करिब २० प्रतिशत मात्रै गणना भएको हो ।
यस उपमहानगरमा रहेका जम्मा ५६ हजार ६ सय ६० मतदाता मध्ये ४४ हजार ८ सय १७ मत्र खसेको थियो । जस मध्ये साँढे चार बजे सम्म ३४ हजार ९ सय ६४ मत गणना गरिएको आँकडामा नगरको गणना सकिन अझै हप्ता दिन लाग्न सक्ने अनुमान गरिएको छ । यता निर्वाचन अधिकृत भिम प्रसाद भुर्तेलले भने सकेसम्म छिट्टै गणना सक्ने गरी काम भईरहेको बताएका छन् ।
सुरुवाती चरणको जस्तो अब ढिला हुँदैन , २४ सै घण्टा गणना भईरहेको छ , उनले भने , कुँनै बाधा ब्यवधान नभए ४ देखी ५ दिन सम्ममा सकिन्छ भन्ने अनुमान छ । उता जिल्लाको अर्को उपमहानगर कलैया उपमहानगरमा मंगलवार दिउँसोबाट मात्रै गणना सुरु भएकोले अझ ढिला हुँने भएको छ ।
निर्वाचन आयोगले ५ दिन भित्र २ नम्बर प्रदेशको मतगणना सक्ने भनेर तयारी गरेपनि बिभिन्न कारणले सो समय अवधी भित्र गणना नसकिने भएको छ । यद्यपी बाराका अन्य नगरपालीका र गाउँपालीका भने ३ देखी ४ दिन भित्र गणना सकिने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । निर्वाचन कार्यालयको ब्यवस्थापन फित्तलो निर्वाचनको सम्पुर्ण जिम्मेवारी बोकेको जिल्ला निर्वाचन कार्यालय बाराले निर्वाचन गणनाको उचित ब्यवस्थापन गर्न नसक्दा गणनमा ढिला सुस्ती भएको छ । निर्वाचनका कार्यालय बाराका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार गणना सकिन अझै ६ दिन लाग्न सक्ने बताए । हाल प्रत्येक मतगणना स्थलमा ५ समुहबाट मतगणना भईरहेको छ भने भोली विहिवारबाट थप एक÷एक स्थान थप गरी मत गणना गरिने भएको छ । अधिकृत थापाले गणनाका क्रममा दलका प्रतिनिधि धेरै बसिदिने हुँनाले दल प्रतिनिधि कै उल्झनका कारण गणनामा ढिला भएको बताए । यस्तै निर्वाचनमा खटिएका निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालको टेलिफोन नउठ्दा सञ्चारकर्मीले समस्या झेलिरहेको अवस्था छ । अधिकाँश निर्वाचन अधिकृतका मोवाईल अफ गरिएकाले पनि मतपरिणाम बारे सञ्चार माध्यममा सुसुचित गर्न अबेर भएको स्थानीय सञ्चारकर्मीहरुले गुनाँसो गरेका छन् । उत्तरमा एमालेको अग्रता , दक्षिणमा त्रिपक्षीय प्रतिस्पर्धा बाराका १६ स्थानीय तह मध्ये अधिकांशमा मतगणना जारी रहँदा पाँच वटा पार्टी प्रतिस्पर्धामा देखिएका छन् ।
उत्तरी क्षेत्रका स्थानीय तहमा एमालेले अग्रता लिँदा दक्षिण भेगमा ठुला दल सहिँत राजपा र संघिय फोरम बिच प्रतिस्पर्धा भईरहेको छ । जिल्लाको अर्थिक समृद्धीका हिसाबले सबै भन्दा बलियो उपमहानगरका रुपमा हेरिएको जीतपुरसिमरामा प्रमुख दल नैं प्रतिस्पर्धामा छन् । राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यानवनको चरणमा रहेको यस नगरमा नगर प्रमुखको जिम्मेवारी कस्ले पाउँने भन्ने विषय बहुप्रतिक्षित बिषयका रुपमा हेरिएको छ । जिल्लाको दुई जुम्ल्याहा उपमहानगर मध्ये जीतपुरसिमरा उपमहानगरमा एमालेलाई माओवादीले टक्कर दिरहेको छ । नगरका दुई वामपन्थीको टक्करमा काँग्रेसले माओवादीलाई तेश्रो स्थानमा रहेर टक्कर दिईरहेको छ ।
जीतपुरसिमरामा बुधवार साँझ सम्म ४ वटाको टुँगो लगाएको छ । वडा नं.२२ र २३ मा माओवादी केन्द्रले जितेको छ , भने एक एक वडामा एमाले र काँग्रेसले जितेको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको निजगढ नगरपालीकामा सुरुवाती चरणमा एमालेले अग्रता लिए पनि बुधवार साँझबाट काँग्रेले अग्रता लिएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन गरेको निजगढ नगरपालीकामा माओवादीले काँग्रेस नगर प्रमुखलाई समर्थन गरेर उपप्रमुख सहिँत अन्य पद माओवादी केन्द्रलाई मतदानको आहवान गरेका दुई दलसँग एमाले एक्लै मैदानमा उभिएको छ ।
समाचार तयार पार्दा सम्म यस नगरमा ५ वटा वडाको टुँगो लगेको छ । वडा नं. १ , १२ र १३ नेपाली काँग्रेस बिजय हाँसिल गरेको छ , भने वडा नं.२ र ३ मा एमाले बिजय भएको छ । यसैगरी कलैया उपमहानगरपालीकामा संघिय समाजवादी फोरमले अग्रता लिईरहेको छ । हिजो अबेरबाट मतगणना सुरु गरिएको कलैयामा २ सय मत अन्तरले नेकपा एमाले पछि पछि छ । त्यसैगरी काँग्रेस तेश्रो स्थानमा छ । उता कोहल्बी नगरपालीकाको प्रमुख पदमा पनि एमालेले नैं अग्रता लिईरहेको छ भने काँग्रेस सामान्य मत अन्तरले दोश्रो स्थानमा रहँदा अन्य दल झिनो आसामा पछ्याई रहेका छन् । ४ वडाको टुँगो लागेको पचरौता नगरपालीका प्रमुखमा राजपा अग्रस्थानमा रहेको छ । त्यसैगरी नेपाली काँग्रेसले लिड गरिरहेको महागढीमाई नगरपालीकामा वडा नम्बर १ मा काँग्रेस प्यानल र २ मा माओवादी प्यानल विजयी भएको छ । त्यसैगरी केही वडाहरु टुँगो लागेको जिल्लाको पचरौता नगरपालीका , आदर्शकोतवाल गाउँपालीका , सुवर्ण गाउँपालीका , फेंटा गाउँपालीका र महागढीमाई नगरपालीकामा एमाले र काँग्रेसले नैं अग्रता लिईरहेका छन् ।
मधेशी दलको बढी प्रभाव मानिएका तहमा समेत एमाले काँग्रेस नैं अग्रस्थानमा रहँदा संघिय समाजवादी र राजपाले पछ्याई रहेका छन् । राजपा र संघिय समाजवादी फोरम पनि जिल्लाको केही तहमा अग्रस्थान मैं छन् । पचरौता नगरपालीका , बिश्रामपुर गाउँपालीका , परसौनी गाउँपालीका , परवानीपुर गाउँपालीका र करैयामाई गाउँपालीका प्रमुख पदमा राजपा र संघिय फोरम लोकतान्त्रीक अग्रस्थानमा छन् । मधेशी दल अग्र स्थानमा देखिएका दलमा एमाले कडा प्रतिस्पर्धामा छ , भने काँग्रेस माओवादी पछि पछि छन् । वडामा बिजयी दलका नेता कार्यकर्ताहरुले बुधवार जिल्लाका बिभिन्न स्थानमा बिजयी जुलुस समेत निकालेका छन् ।