भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर निर्वाचनमा जान एमालेलाई सुझाव

185

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले भावी प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका छन्।

शुक्रबारदेखि जारी एमाले बैठकमा विभिन्न समूह छलफलबाट भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर प्रदेश र केन्द्रको निर्वाचनमा जानुपर्ने सुझाव दिएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न आठ समूहमा छलफल गरेर निष्कर्ष प्रस्तुत गरेका सचिव ज्ञवालीले बताए।

उनका अनुसार प्रदेश नं १ का तर्फबाट डा शिवमाया तुम्बाहाम्फे, प्रदेश नं २ बाट सत्यनारायण मण्डल, प्रदेश नं ३ बाट काशिनाथ अधिकारी, प्रदेश नं ४ बाट गणेश तिमिल्सिना, प्रदेश नं ५ बाट दलबहादुर राना, प्रदेश नं ६ बाट यामलाल कँडेल, प्रदेश नं ७ बाट उपाध्यक्ष भीम रावल तथा मोर्चा संगठनका तर्फबाट महेन्द्रबहादुर पाण्डेले प्रतिवेदनमाथि सुझाव दिएका थिए।

निर्वाचनमा वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिलाई समेटेर एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने सुझाव पनि सबै समूहबाट प्रस्तुत भएको उनले बताए। उनीहरुले प्रतिवेदन आधारभूतरुपमा सही रहेको उल्लेख गर्दै उनीहरुले अत्यन्त प्रतिकूल अवस्थामा पार्टीले प्राप्त गरेको सफलता गौरवयोग्य भएको र निर्वाचनका क्रममा भएका कमीकमजोरीको समीक्षा गर्नुपर्ने धारणा राखेका सचिव ज्ञवालीले बताए।

ज्ञवालीका अनुसार आगामी संघीय र प्रादेशिक निर्वाचनमा पार्टीको स्पष्ट बहुमतसहित सबै तहमा सरकार बनाउने गरी ठोस नीति, योजना र जिम्मेवारी बाँडफाँड गरेर अगाडि बढ्नुपर्ने सुझावसमेत दिएका थिए।

शुक्रबारदेखि शुरु भएको बैठक समूहगत छलफलका क्रममा प्रस्तुत भएका जिज्ञासा र सुझावका बारेमा प्रत्युत्तर एमाले अध्यक्ष ओलीले दिँदै आइतबार बैठक सकिने सचिव ज्ञवालीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here