शान्ति, स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउँछः राष्ट्रपति भण्डारी

246

तनहुँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, राजनीतिक स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउन सक्ने बताएकी छन्।

गोरखाको पालुङटार नगरपालिका–१० ठाँटीपोखरीमा आयोजना गरिएको गोरखा लिगलिग पालुङटार भवानी शैक्षिक तथा धार्मिक महोत्सव–२०७४ को आइतबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन्। उनले यस महत्वपूर्ण अवसरमा एकीकरण अभियानका महानायक पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले पूर्वीय दर्शनले अङ्गीकार गरेका मानवीय मूल्य र मान्यताको प्रचार उच्च नैतिकतायुक्त मानव समाजको निर्माण, परोपकारी भावनाको विकास एवं स्वच्छ र शान्त जीवन पद्धति विकास गर्न धार्मिक महोत्सव फलदायी हुने विश्वसा व्यक्त गरिन्।

यसै प्रसंगमा आफ्ना पूर्वजहरु (पाण्डे) गोरखाबाट बसाइँ–सराइ हुँदै भोजपुर (राष्ट्रपति भण्डारीको माइती) गएको ऐतिहासिक तथ्यको स्मरण गर्दै राष्ट्रपति भण्डारीले पुर्खाको थातथलोमा पुनः एकपटक भेटघाट गर्ने अवसर मिलेकोमा हर्षको अनुभूति भएको बताइन्।

एकीकरणको अभियानदेखि नै साहस, वीरता, एकता र जातीय सहिष्णुताको ऐतिहासिक उदाहरण प्रस्तुत गरिसकेको गोरखा एउटा गौरवशाली भौगोलिक क्षेत्रका रुपमा नेपालको राजनीतिक भूगोलमा सदा अङ्कित रहनेछ भन्ने विश्वास लिएको पनि उनको भनाइ रहेको थियो ।

शिक्षा, शान्ति र समुन्नतिको महत्वपूर्ण आधार भएको र चेतना र जागरणको माध्यम पनि शिक्षा भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले मौलिक मानव अधिकारका रुपमा रहेको शिक्षाको पहुँच सबैमा पुर्याउनुपर्ने बताइन्।

स्थानीय तहको निर्वाचन उल्लासमय वातावरणमा सम्पन्न भएको र चाँडै नै प्रदेश र संघीय संसद्लगायत निर्वाचन हुन गइरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यी सबै निर्वाचन सम्पन्न भइसक्दा नेपालको लोकतान्त्रिक प्रणाली र राज्य पुनःसंरचना प्रक्रियाले महत्वपूर्ण इतिहास रच्ने महसुश गरेको बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here