मोरक्कोले यसरी मनायो वार्षिकोत्सव

308

काठमाडौं / नेपालका लागि मोरक्को अधिराज्यको वाणिज्य दूतावासले गत मंगलबार काठमाडौंमा एक विशेष समारोह आयोजना गरी मोरक्को अधिराज्यका अन्तर्राष्ट्रिय ख्याति प्राप्त विश्व कीर्तिमानधारी स्काइडाइभर तथा स्काई डाइभिङ्ग प्रशिक्षक अनस बक्कालीलाई विशेष सम्मान गरेको छ । बक्काली अन्तर्राष्ट्रिय ख्याति प्राप्त साहषी एवम् जागरुक र उत्साही पेशेवर स्काइडाइभर हुन्, जसले हालसम्म अन्तर्राष्ट्रिय स्काइ डाइभिङ्ग क्षेत्रमा ७ हजारभन्दा बढी स्काइडाइभिङ्ग सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

 
नेपालमा पनि सगरमाथाका विविध उचाइबाट स्काइडाइभिङ्ग गर्ने उद्देश्यका साथ सन् २००८ को अक्टोबर २६ तारिखका दिन एभरेष्ट स्काइडाइभ कार्यक्रम स्थापित गरिएको थियो । बक्कालीले गत नोभेम्बर ०३ र ०४ तारिख गरी दुई पटक सगरमाथाको २३ हजार फिटको उचाईबाट स्काइडाइभ गरेका थिए । नोभेम्बर ०३ तारीखको उनको स्काइडाइभलाई उनले आफ्नै देशको ‘ग्रिन मार्च दिवस’लाई समर्पित गरेका छन् भने नोभेम्बर ०४ तारिखको स्काइडाइभलाई उनले प्राणघातक रोग क्यान्सर विरुद्ध जनचेतनाको अभिवृद्धि गराउने कार्यका लागि समर्पित गरेका छन् ।

 
सोही अवसरमा बक्कालीसहित उनका टिमका अन्य स्काइडाइभरहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा विश्वका विभिन्न राष्ट्रहरूबाट प्रतिनिधित्व गर्ने १३ जना स्काइडाइभरहरू (जो एभरेष्ट स्काइडाइभिङ्गका सिलसिलामा नेपाल आएका छन्) पनि संलग्न थिए । सम्मानीत हुनेहरूमा अमेरिका, न्यूजिल्याण्ड, फ्रान्स, स्कटल्याण्ड, बेलायत र साउदी अरेवियनका गरी १३ जना सम्म्मिलित थिए । टोलीमा विश्व कीर्तिमानधारी २१ हजार जम्प सहित गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर, वल्र्ड रेकर्ड होल्डर हाइ अल्टिच्युड पोली एथलिट र फ्रिस्टाइल स्काइडाइभिङ्ग विश्व किर्तिमानधारी स्काइडाइभरहरू रहेका छन् ।

 
सम्मानीत हुनेहरूमा सुनीता शाहीः (नेपाली महिला युद्ध पत्रकार, स्काइडाइभर र जर्मनस्थित युद्धकालीन अवस्थामा जमिन मुनि कार्य गर्ने विशेष कमाण्डो फोर्सकी सदस्य), टम नूनन्ः (विश्व कीर्तिमानधारी स्काइडाइभर, टयान्डेम प्रोग्राम निर्देशक र एभरेष्ट स्काइडाइभिङ्गका संस्थापक सदस्य एक अमेरिकी नागरिक), श्रीमती विण्डी स्मिथः (२१ हजार जम्प सहित महिला विश्व किर्तिमानधारी गिनिज रेकर्ड होल्डर, न्यूजिल्याण्डकी नागरिक तथा एक्स्ट्रिम जम्प परफरमर), ओमार अल्हेगेलानः (साउदी अरेवियाका विश्व किर्तिमानधारी फ्रिस्टाइल स्काइडाइभर, वल्र्ड एयर गेम्स फ्रिस्टाइल विश्व किर्तिमानधारी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिबाट मान्यताप्राप्त फ्रिस्टाइल स्काइडाइभर तथा एभरेष्ट स्काई डाइभिङ्गका संस्थापक सदस्य), पाउल हेनरी डि बेरीः (फ्रान्सका उच्च उचाईमा खेल खेल्ने विश्व किर्तिमानधारी खेलाडी तथा भिडियो क्यामेरा फ्लायर), डा. रियान ज्याक्सन (बेलायती स्काई डाइभर, ट्यान्डम प्रशिक्षक, क्यामेरा फ्लायर पाइलट मेडिकल डाक्टर), टेड अट्किन्सः (स्कटिथ नागरिक एभरेष्ट स्काइडाइभका प्रमुख अक्सिजिनियर, जसले आफैले कैयन पटक सगरमाथाको सफल आरोहण समेत गरेका छन्), ग्रेग राउ (अमेरिकी पेशेवर स्काइडाइभर प्यारासुरका वरिष्ठ यन्त्र मेकानिक), टोस म्याक्सवेल (उत्तर र दक्षिणी धुव्रबाट हिमाल आरोहण गर्ने न्यूजिल्याण्डका नागरिक, फिक्स विङ्ग र हेलिकोप्टर पाइलट, न्यूजिल्याण्डका पेशेवर स्काइडाइभर), माथ्यू योन्ट (अमेरिकी शहर शिकागोका १३,००० भन्दा बढी व्यक्तिगत जम्मा र १०,००० भन्दा टयान्डेम जम्पसहित किर्तिमानधारी पेशेवर स्काइडाइभर), विवेक पाण्डे (नेपाली पर्यटन व्यवसायी, स्काइडाइभिङ्गका सुरुवातकर्ता, एभरेष्ट स्काइडाइभिङ्गलाई सुरुवातदेखि नै सहयोग पु¥याउँदै आएका व्यक्ति नविन गुरुङ्ग (सहारा– यु.के. ग्रुपका संस्थापक अध्यक्ष, एन.आर.एन. बेलायतका संस्थापक सदस्य तथा सल्लाहाकार, नेपाल बेलायत सहयोग संस्थापक संयोजक एवम् एभरेष्ट स्काइडाइभिङ्ग नेपालपलाई सहयोग पु¥याउने विशेष व्यक्ति), आदि रहेका थिए ।

 
सम्मानीत व्यक्तित्वहरूलाई प्रशंसा–पत्र, कालो भाद्गाउले नेपाली टोपी र माला लगाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव, नेपालका लागि मोरक्को अधिराज्यका अवैतनिक महावाणिज्य दूत बसन्त चौधरी र कार्यक्रमका विशेष अतिथि मोरक्कन राजदूतावास नयाँ दिल्लीका मिनिष्टर काउन्सेलर तथा डेपुटी चिफ अफ मिसन श्री हसार्न अलावली मोस्तोफीले संयुक्तरूपमा गरेका थिए । कार्यक्रममा आकर्षक कुमारी नृत्य प्रस्तुत गरिएको थियो र बीचबीचमा एभरेष्ट स्काइडाइभिङ्गको साहसिक श्रब्य–दृश्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अतिथिहरूलाई स्वागत गर्दै नेपालका लागि मोरक्कोका अवैतनिक महावाणिज्यदूत वसन्त चौधरीले अन्तर्राष्ट्रिय क्षेत्रलाई नै चकित पार्ने साहसिक व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको जनाएका थिए ।

 (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here