काठमाडौं / दयाहाङ राई र श्वेता खड्का अभिनित चलचित्र ‘कान्छी’ को पहिलो गीत सार्वजनिक भएसँगै युटुबमा यसले नेपाली चलचित्रहरूका गीतको रेकर्ड तोडेको छ । २४ घण्टामा सर्वाधिक हेरिएका नेपाली चलचित्रका गीतहरूको ‘कान्छी’ चलचित्रको गीत ‘चरी चट्ट परी’ गीतले रेकर्ड तोडेको हो । ‘चरी चट्ट परी’ गीत २४ घण्टामा ४ लाखभन्दा बढी पटक हेरिएको छ ।
योभन्दा पहिला नेपाली चलचित्रका गीतहरू २४ घण्टामा यति धेरै हेरिएको पाइएको थिएन । तर, गत वर्ष चलचित्र बाहेकको ‘सुनसाँइली’ बोलको गीतले २४ घण्टामा ५ लाख ५० हजारभन्दा बढी पटक हेरिएको युटुबमा रेकर्ड राखेको थियो । ‘चरी चट्ट परी’ गीतमा चलचित्रका मुख्य कलाकार श्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरीलाई देख्न सकिन्छ ।
यो गीतमा राजनराज सिवाकोटीको शब्द, स्वर तथा संगीत रहेको छ भने अञ्जु पन्त र राजनले स्वर दिएका छन् । बसन्त श्रेष्ठ कोरियोग्राफर रहेको गीतको भिडियो मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानीलगायतका ठाउँमा खिचिएको चलचित्र निर्माण पक्षले जनाएको छ । चलचित्र ‘कान्छी’को निर्माण श्वेता आफैँले गरेकी हुन् । चलचित्र ‘कान्छी’को प्रदर्शन माघ २६ गतेबाट हुनेछ । यो चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका छन् ।
(- जनधारणा साप्ताहिक)


















