वर्णशंकर गठबन्धनहरूबाट मुलुकले के आशा राख्ने ?!

283

चन्द्रप्रकाश बानियाँ
कसैलाई मन परोस् वा नपरोस्, कसैले पत्याओस् वा नपत्याओस्, कसैले चिताओस् वा नचिताओस्, आसन्न निर्वाचनको परिणाम वामपन्थी गठबन्धनको पोल्टामा पर्ने निश्चितप्रायः भैसकेको छ । निर्वाचनको घोषणा गर्ने देउवा सरकार आफै पराजयको शिकार बन्ने विचित्र संयोग जुर्ने सम्भावना स्पष्ट देखिएको छ । निर्वाचन मितिको घोषणा देउवा सरकारले नै गरेको हो । अवश्य ग्रह नक्षत्रको गति खुट्यारै मिति निश्चित गरिएको होला । सानो ठूलो हरेक निर्णय लिनुपूर्व देउवाले ज्योतिषीको सल्लाह लिन्छन् भन्ने सुनिन्छ । ज्योतिषशास्त्र नै गलत हो वा देउवाका विश्वासप्राप्त ज्योतिषीहरूको नालायकी हो अथवा उनीहरूको बेइमानी हो कुन्नि, देउवाको पार्टीले यसपटक निर्वाचन हार्दै छ भन्ने कुरा स्पष्ट भइसकेको छ । हुन त नेपालमा असैद्धान्तिक गठबन्धनहरू बन्ने भत्कने परम्परा अभ्यासमा छ ।

 

निर्वाचनपूर्व बनेका गठबन्धनहरू निर्वाचनपछिसम्म पनि यथावत् रहन्छन् भन्न सकिन्न । तोड्ने जोड्ने अनेकौं भित्री बाहिरी चलखेलहरू हुनेछन् । परिणामतः गठबन्धनहरू टुट्ने जुट्ने प्रक्रियाले गति पाउनेछ । त्यसैले निर्वाचनपछि वामपन्थी गठबन्धनले नै सरकार बनाउनेछ र सरकार पूर्णायु टिक्नेछ भनेर विश्वस्त हुन सकिँदैन । निर्वाचनपछि वामपन्थी सरकार बनोस् कि नबनोस् निर्वाचन भने वामपन्थी गठबन्धनले जित्नेछ । अनेक टुक्रामा विभाजित भएर चुनावमा जाँदा पनि ०६२÷६३ को राजनीतिक परिवर्तनपछिका हरेक चुनावमा जनमतको कुलयोगको बहुमत वामपक्षमा झर्दै आएको उदाहरण छ । यसपटक उपस्थित साना ठूला सबै वामहरू एकै ठाउँ उभिएको दुर्लभ भन्न मिल्ने परिदृश्यले मतदातामा उत्साह थपिएको छ । यो अनुकूलतामा परिणाम अन्यथा आउला भनेर कल्पना गर्न सकिँदैन । सायद कसैले त्यस्तो परिकल्पना गरेको पनि छैन । वाम मतहरू उत्साहपूर्वक एकै ठाउँमा घोप्टिने निश्चित छ । जनमतको आसन्न आँधीलाई रोक्ने तागत कसैमा देखिँदैन ।

 
निर्वाचनपछि वामपन्थी पार्टीहरूले चारतिर मुख फर्काउने मूर्खता गरेर जनअभिमतको अपमान गर्ने छैनन् भनेर आशा गर्नु स्वाभाविक हो । कमसेकम चुनावी गठबन्धन सरकार निर्माणको बेलामा टुट्ने छैन र एकपटक वामपन्थीहरूको पूर्ण बहुमतको बलियो सरकार बनेको हेर्ने नेपालीहरूको धोको यसपटक खण्डित हुने छैन । खासगरेर एमाले–माकेबीच पार्टी एकीकरण होस् कि नहोस् गठबन्धन भने पाँच वर्ष टिकोस् भन्ने अभिलाषा नेपाली मतदाताहरूले राखेका छन् । गाउँघरतिर ‘दिने खाने नभए पनि हुने खाने भएस्’ भनेर आशिष दिने चलन छ । वाम गठबन्धनप्रतिको नेपाली मतदाताको अनुराग र समर्थन त्यही भावनाको अभिव्यक्ति हो । मिलिजुली भागवण्डा गरून्, अघाउञ्ज्याल सबैले डकारुन् तर असमयमै गठबन्धन टुटाउने मूर्खता नगरून् । असमयमै सत्ताबाट बाहिनु परेको रडाको र करुणक्रन्दन सुन्न नपरोस् भन्ने आशय जनताको हो । खासगरेर सत्ताबाट बेदखल हुनुपर्दा एमाले अध्यक्ष ओलीले गरेको अलापविलाप र करुण क्रन्दनले वामपन्थी मतदातहरूलाई द्रविभूत बनाएको छ ।

 

यसपटकको निर्वाचनपछि उनले त्यो दुर्गतिको पुनरावृत्ति व्यहोर्न नपरोस् र कन्तविजोग आफ्ना आँखाले देख्न नपरोस् भन्ने मतदाताको उत्कट इच्छा रहेको छ । उनीहरूले खाऊन्, पिऊन् र अघाऊन्, हामीलाई केही चाहिएन भन्ने भाव आम मतदाताको रहेको देखिन्छ । उनीहरूबाट झर्ला र खाउँला भन्ने आशा कसैमा छैन । किनकि वाम नेताहरूमा त्यति धेरै टाढा हेर्ने देख्ने क्षमता छैन । जसले टाढा देख्न सक्तैन, ऊसँग भविष्यको कुनै कामना र योजना पनि हुँदैन । नेताहरूको दृष्टिअल्पतासँग मतदाताहरू राम्रोसँग परिचित छन् । समाजको अपेक्षा, आकांक्षा र अठोटको नाडी छाम्ने क्षमता भइदिएका भए जनता सडकमै हुँदा ‘प्रतिगमन आधा सच्चियो’ भनेर बुर्कुसी मार्दै सिंहदरबार छिर्दैनथे । जनता सडकमै हुँदा बार्दलीमा बसेर ‘गोरुगाडा चढेर अमेरिका पुगिँदैन’ भनेर आन्दोलनको अपमान गर्दैनथे भन्ने कुरा जनताले बिर्सेका छैनन् ।

 
अविश्वनीय ढंगबाट समय परिस्थिति परिवर्तित भएको छ । हिजै रंग उडेर फुस्रा काला भएका वामपार्टीहरू फेरि रातो रंग दलेर परिदृश्यमा उदाएका छन् । चुनावी गठबन्धनको घोषणा हुँदैको दिनदेखि ठूलठूला गफहरू दिन थालिएको छ । उनीहरूको त्यो उटपटयाङ गतिविधि न सिद्धान्तबाट निर्देशित छ न भावी सम्भावनाको आलोकबाट अनुप्राणित छ । तत्काल उपस्थित भवितव्यबाट तरंगित भएको भनोभाव मात्र हो त्यो । र बिर्सन नमिल्ने कुरा के हो भने त्यो तामझामको नेता एमाले हो । यो त्यही एमाले हो जो तत्कालीन माओवादी नामको आकस्मिक र अस्थायी आँधी नजन्मिएको भए आज पनि नारायणहिटीको प्रदक्षिणामै रमाएको हुने थियो । ज्ञानेन्द्र सरकार ठाटसँग राजदरबारमा राज गरिरहेका हुन्थे र एमालेको नेतृत्व न्युरीमुन्टी ‘न’ को भव्य मुद्रामा नतमस्तक भएर उभिएको हुन्थ्यो । मदन भण्डारीले कोरिदिएको शक्तिसञ्चयको कार्यनीतिले एमालेलाई नारायणहिटीको प्रदक्षिणा गराइरहेको हुन्थ्यो ।

 

फरक के हुन्थ्यो भने जनताले दुत्कारे पनि दाम वा विन्तीपत्र चढाएरै भए पनि प्रधानमन्त्रीको कुर्चीमा उक्लन एमालेनेतृत्व सफल भैछोड्थ्यो । ‘बाहुनले के जानून्, च्याउको स्वाद’ भनेजस्तो पद आखिर पद नै हो । त्यो हुमुक प्रमाङ्गिबाट मिलोस् वा जनमतबाट त्यसले के फरक पार्छ र ? चीज प्राप्त भए भैहाल्यो त्यो दानबकसको होस कि उद्यम पुरुषार्थको ! रसातलमा डुब्ने अनिवार्य नियतिको सङ्घारमै पुगेको तत्कालीन एमालेलाई उद्धार गरिदिएको माओवादी आन्दोलनले नै हो । माओवादीको काँध एमालेका लागि फलदायी सावित हुदै आएका अनेकौं उदाहरणहरू छन् । हिजोका दिनसम्म राजाको पाउपर्दा समेत प्राप्त हुननसकेको उपलब्धि अर्थात् सरकारको नेतृत्व गर्ने अवसरमा कुनै न कुनै रूपमा तत्कालीन माओवादीकै योगदान रहेको छ । निर्वाचनपूर्व नै उसको दरिलो काँधको आडभरोसा प्राप्त गरेकोले यसपटक सत्ताबाट बेदखल हुनुप¥यो भनेर सहस्र धारा आँसु झार्दै हिड्नुपर्ने अवस्था उपस्थित हुनेछैन भनेर अनुमान गर्न सकिन्छ ।

 

 

रङ्गविरङ्गका वामपन्थीहरूको सहबासबाट जन्मेको ‘वर्णशंकर’ गठबन्धनबाट जनताले ठूलो आशा अपेक्षा भने राखेको छैन । हैसियतभन्दा ठूलो अपेक्षाले निराशाबाहेक अरु केही प्रतिफल दिनेवाला छैन । भोलि ‘हिस्स बुढी, हरिया दाँत’ भनेजस्तो हुनुभन्दा आजै अपेक्षा आशा नराखेकै राम्रो । चुनाव प्रारम्भ नहुँदै वामगठबन्धनले चुनाव जितिसकेको छ । तर सम्भावित प्रधानमन्त्रीको चुनावी भाषण सुन्दा वैराग मान्नुपर्ने अवस्था छ । उनको भाषणमा गाली हुन्छ । उटपट्याङ हँस्यौली हुन्छ । जनताले खप्दै व्यहोर्दै आएका पीरमर्काप्रति समवेदना र चासो देखिँदैन । ‘विहानीले दिनको संकेत गर्छ’ भनेजस्तै निर्वाचन क्षेत्रपिच्छे मन्त्रीपद बाँड्दै गरेको विद्रुप तमासा देखिन्छ ।

 

समस्याको सूची विजयी सांसद हस्ते पठाउने जङ्गी उर्दी सुनाएको सुनिन्छ, देखिन्छ । मुलुकको आवश्यकता के हो र देशमा उपलब्ध साधनस्रोतको सदुयपयोग जनहितमा कसरी गरिन्छ भन्ने कार्यक्रम कतै देखा पर्दैन । सुन्न पाइँदैन । भाषण सुन्दा देशको भावी प्रधानमन्त्री बोल्दै छ भनेर गौरव गर्ने कुरा पटक्कै सुन्न पाइँदैन । बोलीमा न गम्भीरता छ न जनताको दुखसुखमा समवेदना छ, न भरोसालाग्दो कुनै कार्यक्रम छ । सडकमा बाँदर नचाएर जीविका चलाउने मदारीको जस्तो कटुवाणी र तिक्त प्रतिक्रियाबाट तत्काल मनोरञ्जन लिनुबाहेक भविष्यको आशा दूर क्षितिजसम्म कतै देखिँदैन । हुन त चुनावी कार्यक्रमबाट नक्कली राष्ट्रवाद ‘गधाको सिङझैं’ गायब भएपछि ओलीको भण्डार रित्तिएको मात्र होइन, टाट उल्टिनु पनि अस्वाभाविक होइन ।                                                         (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here