आफ्नो स्वास्थ्यप्रति सचेत बनौं

277

राज्यलक्ष्मी शाक्य
भनिन्छ, ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।’ यदि मानिसको स्वास्थ्य ठीक छ भने उसले जसरी पनि धन कमाउन सक्छ तर स्वास्थ्य नै ठीक छैन भने भएभरको धन खर्च गरेर पनि ठीक हुन सकिँदैन । स्वस्थ व्यक्ति एउटा राष्ट्र निर्माणका लागि भरपर्दो आधार हो । देशलाई स्वस्थ व्यक्तिहरूले नै अगाडि बढाउन सक्छन् । स्वास्थ्य ठीक नभएको व्यक्ति सधैं दुःखी रहन्छ । त्यसकारण आफ्नो स्वास्थ्यको ख्याल राख्न आवश्यक छ । पंक्तिकारले यो प्रसंग उठाउनुको कारण हो, केही दिनअघि मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालका आकस्मिक हृदयाघातका कारण निधन भयो । पंक्तिकार दाहालको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छ । यस घटनाले सबैलाई दुःखित तुल्याएको त छँदै छ नै, हृदयाघातको जोखीमबारे जानकार हुन पनि घच्घच्याएको छ ।
सामान्यतया नेपालीहरू कमै मात्र आफ्नो स्वास्थ्यप्रति सचेत रहेको पाइन्छ । समयमा समयमा आफ्नो पूरा शरीरको नै जाँच गराउने चलन निकै कम नै रहेको छ । यदि कुनै रोगले आक्रमण गरिहाल्यो भने मात्र अस्पताल पुग्ने हामी नेपालीहरूको बानी छ । त्यसकारण पनि रोग ठूलो हुँदा ज्यानै जानेसम्मका दुःखद अवस्था निम्तिन्छन् । स्वास्थ्य अवस्था बिग्रनुको प्रमुख कारण खानपान र जीवनशैली नै हो भन्ने डाक्टरहरूको भनाइ छ । हामीले के खाँदै छौं, यो खानाले आफ्नो स्वास्थ्यलाई फाइदा गर्छ कि असर, कति खाँदा ठीक होला भन्ने कुरालाई हामी नजरअन्दाज गरिदिन्छौं । विभिन्न विवाह, पार्टी, भोजभतेर आदिमा हामीले सही तरिकारले सन्तुलित रूपमा खाना नखाँदा रोग पनि निम्त्याइरहेका हुन्छौं । त्यसकारण त्यस्ता पक्षमा अब हामीले ध्यान दिन आवश्यक छ ।
पंक्तिकार कुनै डाक्दर र रोगविशेषज्ञ त होइन । तर, मैले केही डाक्टरहरूको भनाइलाई यस लेखमा उल्लेख गर्ने प्रयास गरेको छु, जसले हामीलाई हृदयाघातसम्बन्धी जानकारी र यसबारे बच्न पक्कै सहयोग पु¥याउने छ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार ‘मुटु छातीको दायाँ भागमा हुन्छ । त्यसैले छातीमा देखिएको समस्या हृदयाघातको लक्षण पनि हुन सक्छ । छातीको बीच भागमा अत्यन्त पीडा भएको अवस्थामा हृदयाघात हुन सक्छ । जतिबेला पनि कमजोर अनुभव हुन थाल्यो भने मुटुमा समस्या भएको हुन सक्छ । जटिल काम गर्दा थकाइ लाग्नु स्वाभाविक भए पनि जुनसुकै अवस्थामा पनि थकानको महसुस हुनुले भने मुटुसम्बन्धी समस्यालाई इंगित गर्छ । खलखली पसिना आउने, वेलावेला मर्ने त्रास पैदा हुने, चक्कर लाग्ने पनि हृदयाघातको लक्षण हुन् । छातीमा पीडापछि वाकवाकी लाग्ने र उल्टी हुनेलाई पनि हृदयाघात हुन सक्छ । श्वासप्रश्वासमा समस्या हुँदै गएमा, दम बढेमा हृदयाघात हुन सक्छ । कतिपय मानिसलाई वंशाणुगत कारणले पनि मुटुमा समस्या हुन सक्छ । उच्च रक्तचाप, मधुमेह, धूम्रपान, उच्च कोलेस्ट्रोल मुटुरोगका कारण हुन् ।
डा. रेग्मीका अनुसार हृदयाघातलाई रोक्न वा हृदयाघात हुन नदिनका लागि धेरै उपाय अपनाउन सकिन्छ । त्यसमध्ये व्यवस्थित खानपान, नियमित व्यायाम, शारीरिक सक्रियताले मुटुरोगलाई दूर गर्नका लागि मद्दत गर्दछ । व्यस्त दैनिकी, मानसिक तनावलगायतका कारण युवाहरूमा हृदयाघात हुने प्रबल सम्भावना हुन्छ । त्यसैले यस्ता कुरालाई ध्यान दिन जरुरी हुन्छ । कतिपय युवाले आफ्नो जीवनलाई व्यवस्थित गर्न सकिरहेका हुँदैनन् । अव्यवस्थित जीवनयापन पनि हृदयाघातको प्रमुख कारण हो । त्यसैले मुटुरोगबाट बच्नका लागि व्यवस्थित जीवनशैलीसँगै शरीरलाई स्वस्थ राख्नुपर्छ । नुन, चिल्लो, हरियो सागपात, गेडागुडी र फलफूलको नियमित प्रयोगले पनि मुटुरोगबाट बचाउँछ । शरीरको तौल बढी भयो भने पनि मुटुमा समस्या उत्पन्न हुन्छ । त्यसैले तौल सन्तुलित राख्ने उपायहरू अवलम्बन गर्दै जानुपर्दछ । एकपटक हृदयाघात भएको मानिसले जीवनभर औषधि प्रयोग गर्नुपर्छ । किनकि, यो जुनसुकै समयमा पनि दोहोरिन सक्छ । हृदयाघातको समयमै उपचार गर्न सकियो भने निदान गर्न गाह्रो हुँदैन । तर, थोरै पनि हेलचेक्र्याइँ गरियो भने ज्यानै जान्छ । हृदयाघात भएको ६ घन्टासम्म उपचार गर्न सकिएन भने मानिसको मृत्यु हुन सक्छ । त्यसकारण आफ्नो स्वास्थ्यप्रति हामी सचेत बन्नैपर्छ । स्वस्थ शरीर नै सुखी परिवारको रहस्य हो । rajyalaxmishakya@gmail.com

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here