मुलुकमा वित्तीय स्थायित्व ल्याउने अर्थमन्त्री खतिवडाको प्रतिबद्धता

160

काठमाडौं / केपी शर्मा ओलीले हिजो सोमबार आफ्नो मन्त्रिमण्डलमा चार मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसमध्ये डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा नियुक्ति गरिएको छ । डा.युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने जनाउनुभएको छ । मन्त्रालयमा पदबहालीपछि आयोजित समारोहमा उहाँले भन्नुभयो, ‘संविधानको मर्म र भावनाअनुसार मुलुकको आर्थिक क्षेत्र अगाडि बढ्नेछ ।’
अर्थमन्त्री डा.खतिवडाले वाम गठबन्धनका तर्फबाट जनतासमक्ष गरेका प्रतिबद्धतालाई कार्यान्वयन गरेर लैजानु आफ्नो दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पनि सँगसँगै लैजाने जनाउनुभयो ।
संविधानले लोककल्याणकारी राज्यबाट समाजवादउन्मुख हुँदै गर्दा संविधानप्रदत्त लोककल्याणकारी राज्यको भूमिकालाई अग्रणी नेतृत्व दिने जिम्मेवारी लिने क्रममा निजी, सहकारी र सामुदायिक क्षेत्रसँग परिपूरकताका आधारमा सहकार्य गरेर अगाडि बढ्ने उहाँले जनाउनुभयो ।

 
अर्थमन्त्री डा.खतिवडाले आर्थिक समृद्धि र गरिबी निवारणमा अवरोध गर्ने सरकारी वित्त व्यवस्थापनमा देखिने अनुशासनहीनताको अन्त्य गर्नुपर्ने जोड दिँदै ‘सरकारी वित्त प्रणालीमा हामी अनुशासन कायम गराउँछौं र खर्चको प्रभावकारितामा अघि बढ्छौँ,’ भन्नुभयो ।
उच्च आर्थिक वृद्धिको इञ्जिन निजी क्षेत्र भएकाले आन्तरिक तथा बाह्य क्षेत्रलाई परिचालन गरेर परिकल्पना गरेका विकासका आयोजना र पूर्वाधारलाई अगाडि बढाउने जनाउँदै उहाँले व्यापार लगानी र प्रविधि हस्तान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक हुने स्पष्ट पार्नुभयो ।

 
अर्थमन्त्री डा.खतिवडाले वैदेशिक सहायतालाई राष्ट्रिय अनुकूल ठूलोरूपमा परिचालन गर्नुपर्ने जनाउँदै मानिसको क्षमताको पहिचान संकटकै बेला हुने भएकाले आफूले क्षमता प्रदर्शन गरेर समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरको जिम्मेवारी सम्हालीसक्नुभएका डा.खतिवडा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित अर्थशास्त्री हुनुहुन्छ ।
समारोहमा अर्थमन्त्रीलाई स्वागत गर्दै अर्थ सचिव शंकरप्रसाद अधिकारीले अर्थमन्त्रीमा डा.खतिवडाको नियुक्तले सरकारले अर्थतन्त्र अब कसरी अगाडि बढ्छ भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गर्दै आगामी दिनमा मुलुक समष्टिगत आर्थिक स्थायित्वतर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अबको सरकारको लक्ष्य आर्थिक वृद्धिदर र सामाजिक न्याय नै हो, त्यसलाई अगाडि बढाउनुपर्छ ।’

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here