देउवाबाट सत्ता हस्तान्तरण कुन मिति र परिस्थितिमा होला भनेर अपेक्षा गर्ने ?!

180

चन्द्रप्रकाश बानियाँ
शेरबहादुर देउवाले ज्योतिषमा भरोसा गर्ने भाग्यवादी नेताको परिचय बनाएका छन् । उनको कुण्डलीमा ७÷७ पटक प्रधानमन्त्री हुने योग छ भनेर ज्योतिषिले भविष्यवाणी गरेको कुरा देउवा आफैले सार्वजनिक गरेका थिए । त्यसैले सम्भावना छ भन्ने आशा रहुञ्ज्याल कसले पो सत्ताप्राप्तिको सम्भावना तुहाउने मूर्खता गर्दछ र ? संसदीय दलको नेतृत्व छोड्दा प्रधानमन्त्री बन्ने सम्भावना टुङ्गिन्थ्यो । आशा जीवित राखिरहनका लागि संसदीय दलको नेता बन्नै पथ्र्यो । अर्को साथी भिडिन तयार भएपछि चुनाव लड्नै पथ्र्यो, लडे । जिते पनि । कमसेकम अब झर्ला र खाउँला भनेर आशा गर्ने ठाउँ बाँकी रह्यो । एउटा कुरा के सत्य हो भने देउवा पार्टीभित्र बाहिर कतै लोकप्रिय छैनन् । निर्वाचनमा लोकप्रियता विजयी हुन्छ भन्न पनि नमिल्दो रहेछ । अलोकप्रिय रहेरै पनि देउवाले संसदीय दलको बहुमत जुटाउन सफल भए ! माग्न त पार्टीको सभापति पदबाट समेत राजीनामा दिनुपर्ने माग पार्टीभित्र बाहिरबाट नभएको होइन । पार्टीनेतृत्व छोड्न नचाहेको कारणले उनीप्रति असन्तुष्टि चुलिँदै गएको थियो । त्यसमाथि संसदीय दलको नेतृत्वसमेत हस्तान्तरण गर्न नचाहेको कारणले देउवालाई थप अलोकप्रिय बनाएको हो । यतिखेर नेपाली नेताहरूमा देउवा सबभन्दा बढी आलोचित भैरहेका छन् भन्नु बढ्ता हुन्छ जस्तो लाग्दैन ।

 
निर्वाचनमा जयपराजय स्वाभाविक हो । सबैले जित्ने चुनाव हुँदैन । एकपटक जितेको पक्षले त्यो जीत सदाको लागि हो भनेर ठान्दो रहेछ । एकपटक जितेपछि जित्ने ठेक्का उसैको हो भन्ने लाग्दो रहेछ । निर्वाचनमा जीतहार भैरहन्छ भन्ने सोचिएकै हुँदो रहेनछ । नेपाली काँग्रेसमा अहिले त्यस्तै मानसिकताले काम गरेको देखिन्छ । काँग्रेसले पराजय व्यहोरेको यो पहिलो पटक होइन । अघि पनि कैयौंचोटी पराजित भएकै हो, यसपटक पनि हा¥यो । निर्वाचनपूर्व नै नेपाली काँग्रेस हार्छ भन्ने अनुमान समाजले गरिसकेको थियो । समाजको त्यो मनोविज्ञान बुझेका भए काँग्रेस पराजयबाट त्यति सारो व्यथित हुनु नपर्ने हो । चुनावमा हार हुनसक्छ भन्ने काँग्रेसले सोचेकै रहेनछ । उसकोे पराजय अस्वाभाविक छँदै थिएन । पहिलो कुरा सरकारको नेतृत्व गरिरहेको काँग्रेसले जनताको मन जित्ने गरी काम गर्न सकेकै थिएन । हुन त काँग्रेस यसपटक मात्र बिग्रेको होइन, सधैं यस्तै थियो । विपी कोइरालाको पन्ध्रसालेको एउटा सरकारकालाई बाहेक गरेर हेर्ने हो भने त्यसयता बनेको कुनै पनि काँग्रेसी सरकारले जनता रिझिनेगरी काम गर्न सकेको देखिँदैन । कामै गर्न नचाहेको त होइन होला । नजानेरै नगरेको होला भन्नुपर्छ । न देउवा नयाँ थिए न काँग्रेस नै जनताको नजरमा अपरीक्षित थियो । देउवाको ठाउँमा अर्को कुनै काँग्रेस सत्तामा भएको भए पनि उनलेभन्दा उत्तम काम गर्ने सम्भावना थिएन । कुरो कति मात्रै हो भने देउवाले भन्दा नराम्रो भने उसले पनि गर्न सक्तैनथ्यो । किनकि असफलताको त्यो भन्दा तल्लो हद अर्को सायदै हुन्छ होला । मुलुक र जनताको हितको कुरा गर्ने हो भने काँग्रेसले निर्वाचनमा विजयको अपेक्षा गर्ने आधारै थिएन । ०५१ पछिको काँग्रेसको लोकिप्रियता अथवा निर्वाचनमा विजयको एक मात्र कारण ‘वाम विभाजन’ थियो । वामपन्थी दलहरूको दम्भ र मूर्खताको लाभ नेकाको पोल्टामा पर्दै आएको थियो । यसपटक अनपेक्षित रूपमा दुई बलिया वामहरू एकठाउँमा उभिने संयोग जु¥यो । वामहरू एकठाम भएपछि काँग्रेसको पराजय सुनिश्चित बन्यो । उसले जित्ने सम्भावना शून्य थियो । त्यही स्वाभाविक परिस्थितिको स्वाभाविक प्रतिफल अर्थात् पराजयको अपजस एक्लो शेरबहादुरको टाउकोमा थोपर्नु न्यायोचित हो भन्न मिल्दैन ।

 
लोकतन्त्रको लामो अभ्यास गर्दै आएका मुुलुकहरूमा निश्चित मूल्य, मान्यता र परम्पराहरू स्थापित भएका देखिन्छन् । यद्यपि कुनै एउटा व्यक्ति वा नेताको कारणले मात्र सिङ्गो संगठन पारजित भएको हँुदैन तापनि मुख्य नेतृत्वले पार्टी पराजयको नैतिक जिम्मेवारी लिने, राजनीतिबाटै किनारा लाग्ने, नभए पनि नेतृत्व हस्तान्तरण गर्ने चलन बसेको छ । हामीकहाँ लोकतन्त्र भर्खर वामे सर्दै छ । नेताहरूले लोकतान्त्रिक समाजमा स्थापित मूल्य, मान्यता र प्रचलनहरू देख्दै÷सिक्दै छन् । लोकतन्त्र स्थापनाका लागि जीवन अर्पेको पुस्ता अझैसम्म नेतृत्वमा छ । आफ्नो नेतृत्व असफल प्रमाणित भए पनि दीर्घकालीन संघर्ष र सेवाको प्रतिफल पूरै असुल नभएजस्तो अर्थात् लगानी उठेको छैन भन्ने ठानिन्छ । आफ्नो कमजोरीलाई लगानीले छोप्न रुचाइन्छ । त्यसैले बल पुगेसम्म हात परेको नेतृत्व छोड्दैन, छोड्न चाहँदैन । लोकआलोचना सहन्छ बरु, सत्तामोहबाट अलग हुनसक्तैन । देउवाको सन्दर्भमा भएको त्यही हो । स्वेच्छाले त सन्त मानिएका स्व. कृष्णप्रसाद भट्टराईले पनि सत्ता छोडेका थिएनन् । पद छोड्नुपर्दा उनी कति व्यथित थिए भन्ने कुरा उनले संसद्लाई गरेकोे अन्तिम सम्बोधनका शब्दशब्दले पोल खोल्छन् । पद छोड्नुपर्दा निर्लोभका उदाहरण मानिएका स्व. मनमोहन अधिकारीको मन पनि त्यसैगरी कुँडिएको थियो । देउवा उनीहरूभन्दा अब्बल कसरी हुनसक्छन् र ? त्यस्तो अपेक्षा गर्नु नै व्यर्थ थियो । हो, उनले अलिकता ठूलो छाति देखाउन सकेका भए एउटा राम्रो परम्पराको सुरुवात हुनसक्थ्यो । नयाँ संस्कार स्थापना गर्ने अवसरबाट उनी चुकेका हुन् तापनि उनले विज्याई गरे भनिहाल्न मिल्छजस्तो लाग्दैन ।

 
उनका लागि सबभन्दा प्रियवस्तु सत्ता हो भन्ने कुरा देउवाको हकमा स्थापित भैसकेको कुरा हो । सत्ताको अतिलोभले नैतिकताको पर्खाल भत्काउँनु स्वाभाविक हो । काँग्रेसको नयाँ पुस्ताले उनीबाट सजिलैसँग सत्ता हस्तान्तरणको जुन अपेक्षा गरेको थियो त्यो विशुद्ध आदर्श कल्पना थियो । विल्कुल अव्यावहारिक याचना थियो । सत्ताबाट सन्तुष्ट हुने वा विरत हुने स्वभाव देउवाको हुँदै होइन । उनको अजुर्नदृष्टि फेरि पनि सम्भावित वामविभाजनको आशामा एकोहोरिएर टिकेकोे छ । फेरि थप एकपटक सत्तारुढ हुने आशामा उनको चिन्तन ध्यान तुर्लुङ्गिएको छ । मधेस सधैं उनको पक्षमा छ, कुनै खण्डखातिरवश वामगठबन्धन चोइटियो भने पाँच वर्षभित्र एकपटक सरकार बनाउने अवसर जुट्नसक्ने सम्भावनाले लोभ्याएको छ । उनको आशालाई ‘सोम शर्माको पिताको सातुको हण्डी’ सँग तुलना गरिहाल्न मिल्दैन । राजनीति सम्भावनाको खेल हो । असम्भव भनिएको कुरा राजनीतिमा सम्भव हुन्छ भनिन्छ ।
देउवाको राजनीतिक तीर्थयात्रा दरबार–प्रजातान्त्रिक काँग्रेस हुँदै पुनः पुरानै घरमा आएर थिग्रिएको हो । उनको त्यो म्याराथन सत्ताकै लागि थियो । सानो कुँडुलो थापेर ठूलो माछाको शिकार गर्ने कौशल र धैर्य दुवै भएको मानिस हुन् उनी । सम्भवतः देउवाको दूरदृष्टि पाँच वर्षपछिको निर्वाचनमा टिकेको होओइन भन्न सकिँदैन । प्रजातान्त्रिक काँग्रेस हुँदै पुरानो घर फर्किएपछि पनि सत्ताप्राप्तिका लागि कोइरालाहरूको बूढो पुस्ताको युगको समाप्तिसम्म कुर्नुपर्दा उनले कम्ती धैर्य प्रदर्शन गरेका होइनन् । उनको त्यही विलक्षण धैर्यले नेपाली काँग्रेसको बागडोर उनको हातमा थमाइदिएको हो । उर्लँदो जनआकांक्षा र ओलीको उडन्ते योजनाबीचको तारतम्य मिल्ने सम्भावना न्यून छ भन्ने कुरा बुझेका देउवाले पाँच वर्षपछिको निर्वाचनसम्म नेपाली मतदाताको वामपार्टीबाट मोहभङ्ग भैसक्ने अनुमान र आशा गर्नु स्वाभाविक हो । त्यसैले निर्धक्क भन्न सकिने कुरा के हो भने शेखर कोइरालाहरूले भनेजस्तै ‘अर्ली जनरल एसेम्ब्ली’ गर्नुपर्ने परिस्थिति उपस्थित भएछ भने पनि नयाँ अधिवेशनले देउवाकै नेतृत्वलाई नवीकरण गर्नेछ ।

 
ढिलो वा चाँडो महाधिवेशन होला तर देउवाको हातबाट बागडोर खोस्नसक्ने चामत्कारिक र भरोसालाग्दो अर्को व्यक्तित्व कांग्रेसमा दृष्टिगोचर हुँदैन । युवापुस्ता अघि सर्ने हो भने काँग्रेस नेतृत्वको अनुहार फेरिन्छ होला कि भन्ने अनुमान मानिसहरूले गरेको देखिन्छ । त्यस्तो अनुमान स्वाभाविक पनि हो । तर व्यवहारमा त्यस्तो हुँदैन भन्ने कुरा अघिल्लो महाधिवेशनले गगन थापालाई पराजयको मुख देखाएको मात्र होइन, दोस्रो स्थान पनि नदिएर प्रमाणित गरिसकेको छ । गगनको त्यो पराजयले काँग्रेको नयाँ पुस्तालार्ई हतोत्साहित बनाएको छ । चेतावनी दिएको छ । त्यसैले सहजै अनुमान गर्न सकिने कुरा के हो भने देउवाले न सभापतिको पद कसैका लागि खाली गरिदिन्छन् न संसदीय दलको नेतृत्व नै अरुलाई सुम्पन्छन् । अर्को महाधिवेशनले पनि सभापति बनाउने देउवालाई नै हो । उनको नेतृत्व कमसेकम अर्को संसदीय निर्वाचनसम्म निरन्तर रहनेछ । त्यसपटक देउवाको अनुमान सही प्रमाणित भयो भने प्रधानमन्त्री देउवा नै हुनेछन् । पार्टीको सभापतिको रूपमा तेस्रो पटक उनै दोहोरिने छन् । आगामी संसदीय निर्वाचनमा नेपाली काँग्रेसको पराजय भयो भने बल्ल देउवाको नेतृत्वबाट काँग्रेसले मुक्ति पाउनेछ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here