सिद्धार्थ गौतमको जन्म तथ्य

339

कमल चौलागाईं
सिद्धार्थ गौतमको जन्म इसापूर्व ६२३ मा वैशाख शुक्ल पूर्णिमाको दिनमा माता मायादेवी कपिलवस्तुस्थित तिलौराकोट दरबारबाट आफ्नो माइती देवदह जाँदाजाँदै बीच बाटोमा प्रसव व्यथाले च्यापेर लुम्बिनी वनको पुष्करिणी तलाउको किनारको एउटा रुखको फेदमा आराम गरेको अवस्थामा भएको थियो । जुन स्थान पडेरिया गाउँको छेउ तत्कालको कोलिय राज्यको पश्चिम तथा कपिलवस्तुको पूर्वपट्टि पर्दछ ।

 
जन्मेको पाँचौं दिनमा असित ऋषिले बालकको नाम सिद्धार्थ राखिदिए । जन्मेको सातौं दिनमा आमा मायादेवीको मृत्यु भयो । उनको पालनतालन सानीआमा महाप्रजापती गौतमीबाट भयो । पाली भाषाको साहित्यमा उल्लेख छ कि बालक सिद्धार्थ ४ वर्षको उमेरमा जम्बु वृक्षको फेदमा बसेर गहिरो ध्यानमा बसेको दृश्य पिता राजा शुद्धोधनले देखेका थिए । सिद्धार्थको विवाह कोलिय राज्यकी राजकुमारी यशोधरासँग भयो ।

 
मानव जीवन दुःखले भरिएको छ र यसको कारण के हो ? र, यसबाट मुक्ति पाउने उपाय के होला भन्ने खोजीमा यिनी २९ वर्षको उमेरमा गृहत्याग गरी हिँडे । सिद्धार्थले घरबार त्यागी (महाभिनिष्क्रमण) ६ वर्षसम्म शरीरलाई कष्ट दिएर तपस्या गर्दा पनि ज्ञान प्राप्त भएन । २ अतिको (काम सुखमा अधिक लिप्त हुने वा शरीरलाई कष्ट पु¥याई कठोर साधना गर्ने) विकल्पमा मध्यम मार्ग (सम्यक मार्ग) खोजे । अन्न त्याग गरी शरीरलाई कष्ट दिएर तपस्या गर्ने बाटो त्यागी शरीरमा केही शक्ति प्राप्त गर्न अन्न पानी लिएर ज्ञान प्राप्ती गर्न श्वास प्रश्वासप्रतिको सजगता अपनाउँदै ध्यान मार्गमा अगाडि बढे । सिद्धार्थले कठोर साधनाको बाटो छाडेर अन्न ग्रहण गरेपछि उनका सहकर्मी ५ तपस्वीहरू कौण्डन्य, अस्सजी, महानाम, वप्प, भद्दियले गौतम पतनको बाटोमा गयो भनेर उनको साथ छोडे । उनी एक्लै आफ्नो ध्यान मार्गतर्फ लागे । एक दिन एक ब्राह्मणीले दिएको खिर खाएर ज्ञान प्राप्त नगरी उठ्ने छैन भन्ने अठोटका साथ भारतको गयास्थित पिपलको रुखमुनि ध्यानमा बसे । रातभरको ध्यानपछि बिहान उठ्दा उनलाई ज्ञान प्राप्त भइसकेको थियो । यसरी उनले बुद्धत्व प्राप्त गरेपछि उनी गौतम बुद्धको नामले प्रख्यात भए । प्राप्त ज्ञानको पहिलो शिक्षा उनले आफूलाई त्यागेर हिँडेका ५ तपस्वी ब्राह्मण जो बनारसको मृगदा वनमा थिए, त्यहीँ गएर बुद्धले जीवन र जगत्को शाश्वत ज्ञान बाँडे ।

 
बुद्धको ज्ञानको चुरो कुरो ४ आर्य सत्य हो । १. मानव जीवन दुःखपूर्ण छ । २. दुःखको कारण छ । ३. दुःखको निवारण पनि छ । ४.दुःख निवारणको उपाय पनि छ । उक्त उपायको रूपमा बुद्धले ८ मार्ग सुझाए । १. सही दृष्टि २. सही संकल्प ३. सही वाचा ४. सही काम ५.सही जीविका ६. सही प्रयत्न ७. सही चेत ८.सही समाधी । बुद्धले दुःखको पछाडिको मूल कारणमा तृष्णा र यशप्रतिको अविच्छिन्न आशक्तिभाव भएको तथ्य उजागर गरे । उक्त तृष्णाको मूलमा रहेको अज्ञानलाई नाश गर्नु नै दुःख मुक्तिको बाटो हो भन्ने तथ्य औंल्याए । अति भोग विलास र अति दुष्कर चर्याको बाटो त्यागी मध्य मार्ग अँगाल्नुपर्ने शिक्षा दिए । बुद्ध दर्शनका ३ प्रमुख स्तम्भ शील, समाधी र प्रज्ञा हुन् । शील (आचरण)को पालनाले समाधी (ध्यान) पुष्ट हुन्छ र ध्यानको अभ्यासले प्रज्ञा (ज्ञानोदय) प्राप्त हुन्छ ।

 
बुद्ध लुम्बिनीमा जन्मे, बोधगयामा ज्ञान प्राप्त गरे । बनारसमा ज्ञान बाँडे र कुशिनगरमा ८० वर्षको उमेरमा देहत्याग गरे । मृत्युअघि अन्तिम उपदेश भिक्षु सुभद्रलाई दिए । बुद्धकै सुझावमा उनलाई कुशिनगरस्थित सालवनमा लगियो । जुन वनमा रहेको दुई साल वृक्षको बीचमा उत्तरतर्फ सिरानी गरी दायाँ कोल्टे दायाँ खुट्टामाथि बायाँ खुट्टा राखेर सुतेकै अवस्थामा ध्यान मार्गबाट नै देह त्याग गरे ।
बुद्ध ३५ वर्षको उमेरमा बुद्ध भए र ३६ वर्षको उमेरमा घर छोडेको ७ वर्षपछि कपिलवस्तु दरबार गए । उनका पिता, सानीआमा, पत्नी र पुत्र राहुलसमेत नगरवासीले भव्य स्वागत गरे । बुद्ध उपदेशबाट प्रभावित भएर शाक्य र कोलिय वंशका राजकुमारहरू भद्दिय, अनुरुद्ध, आनन्द, भृगु, किम्मिल, देवदत्त र तिनको हजाम उपाली भिक्षु बने । बुद्धले महिलालाई पनि पुरुषसरह धर्म अभ्यास गर्ने प्रेरणा दिए । सानी आमा महाप्रजापती गौतमी, पत्नी यशोधरासमेत कपिलवस्तुका ५०० राजकुमारी, कन्याहरू बुद्ध संघमा प्रवेश गरी भिक्षुणी बने । जातिभेद चरम रहेको अवस्थामा पनि बुद्धले सुनित, उपाली र स्वस्ती जस्ता अछूतलाई उच्च स्थान दिए ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here