गोपाल र करुणा झाको सफल जोडी

341

वैवाहिक जीवनमा विश्वासको ठूलो भूमिका हुन्छ । आपसी विश्वासले नै सम्बन्धलाई अगाडि बढाएको पनि हुन्छ । एकअर्काबीचको समझदारी र विश्वासले नै वैवाहिक जीवनलाई सफलतातर्फ डोहो¥याउँछ । त्यस्तै, सफल वैवाहिक दम्पती हो, गोपाल झा र करुणा झाको जोडी ।

आजभन्दा करिब ३२ वर्षअघि वैवाहिक जीवनमा यो जोडी बाँधिएको थियो । गोपाल झाको जन्म महोत्तरीमा भएको थियो । तर, बुबा शिक्षक भएकाले उनको शिक्षादीक्षा र बाल्यकाल भने जनकपुरमा बित्यो । त्यसपछि कलेजस्तरीय पढाइका लागि उनी काठमाडौं आइपुगे । काठमाडौंमा उनले पुल्चोक इन्जिनियरिङ कलेजमा आफ्नो उच्च शिक्षा आरम्भ गरे । यद्यपि, उनले राजदरबारसँग निकटका विभिन्न प्रोजेक्टमा काम गर्ने अवसर पाए । इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षाका लागि त्यतिबेला रुस जाने चलन थियो । तर, राजनीतिक पार्टीको सिफारिसमा मात्र पाइने त्यस्तो कोटामा कोही चिनजानकै नभएका कारण उनले अवसर पाएनन् । तर पनि उनले उच्च शिक्षा जारी राखे र हाल उनी पुरातत्व विभागको उच्च पदाधिकारीको रुपमा कार्यरत छन् ।
उनी पटकपटक सरकारबाट उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भइसकेका छन् । हाल काठमाडौंको कीर्तिपुरका स्थायी बासिन्दा उनले आफ्नो कार्यालयबाट गाडी तथा अन्य सुविधा पाए पनि लिएका छैनन् । उनी आज पनि आफ्नो घरबाट पैदल नै रामशाह पथस्थित कार्यालयमा हाजिर गर्न पुग्छन् र त्यहाँबाट कार्यक्षेत्र हनुमान्ढोका पुग्छन् । त्यहाँबाट पैदल नै साँझ घर फर्कन्छन् । आफूलाई आवश्यकता छैन भने सरकारी सुविधा लिनु पनि दुरुपयोग गर्नु रहेको उनको मान्यता छ ।
वि.सं. २०४३ जेठ १८ गते उनको विवाह भिठ्ठामोडकी करुणा झासँग भयो । श्रीमती करुणा पनि शिक्षित परिवारकी नै थिइन् । उनले आईएसम्मको अध्ययन गरेकी थिइन् । विवाहपछि पनि उनले अध्ययनलाई अगाडि बढाइन्, तर पारिवारिक व्यस्तताबीच थप अध्ययन पूरा गर्न सकिनन् । उनीहरुको विवाह हुँदा केटाकेटीले एकअर्कालाई हेर्ने र बुझ्ने आवश्यकता ठानिने समय थिएन, त्यसकारण पनि परिवारले नै विवाह तय गरिदिएको थियो । विवाहपश्चात् श्रीमती करुणा केही समय जनकपुरमा नै बसिन् र त्यसपछि श्रीमान्सँगै काठमाडौं आइन् । उनी भन्छिन्, ‘काठमाडौंमा केही समय भाषाका कारण मलाई समस्या भयो । सीमाक्षेत्रमा मेरो घर भएको कारण धेरैजसो हिन्दी र तराईका भाषा बोलिन्थ्यो । मलाई नेपाली भाषा आउँदैनथ्यो । तर, काठमाडौंमा नेपाली भाषा बोल्नुपर्ने भएकाले अप्ठ्यारो हुन्थ्यो । त्यसैले सामाजिक रुपमा घुलमिल हुन केही समय लाग्यो । तर, मैले ३ महिनामै नेपाली बोल्न सिकेँ । त्यो बेला उहाँले पनि मलाई धेरै सहयोग गर्नुभयो । उहाँले हरेक दिनजसो गोरखापत्र पत्रिका घरमा ल्याउनुहुन्थ्यो, पढ्न भन्नुहुन्थ्यो । अनि बेलुका केके बुझ्यो भनेर सोध्नुहुन्थ्यो । त्यतिखेर हामी कीर्तिपुरमा बस्थ्यौं । यहाँबाट किनमेल गर्न म असन पुग्थें । मेरो भाषा सुधारियोस् भनेर नै उहाँ मलाई किनमेल गर्न पठाउनुहुन्थ्यो । यसरी मेरो भाषा पनि चाँडै सुधारियो ।’
श्रीमान् गोपाल भने सर्वप्रथम आफ्नो गुरु पनि अविवाहित भएकाले अविवाहित नै बस्ने मनसायमा हुनुहुन्थ्यो । तर, गुरुबाट नै विवाह गर्ने हो भने समयमा नै गर्नु ठीक हुने निर्देशन पाएपछि विवाह गर्न तयार भए । यो जोडीको हाल एक छोरी र एक छोरी छन् । दुवै जना भारतका विभिन्न तीर्थस्थलमा घुम्न गएका स्मरणीय पलहरु पनि रहेका छन् । श्रीमान् गोपाललाई आफ्नी श्रीमतीले अध्ययनमा सहयोग पु¥याएको खुबै मन पर्छ । उनी भन्छन्, ‘मेरो अध्ययन र लेखनमा उनले धेरै सहयोग गरेकी छिन् । मलाई पढ्न आवश्यक धेरै कुराहरु उनले नै पढेर मलाई सुनाउने गर्दछिन्, जसले मेरो पनि पढ्दा खर्च हुने समय बचत हुने गरेको छ । त्यस्तै, मेरो हरेक लेखरचनाको पहिलो पाठक तथा स्रोता पनि उनै हुन् । त्यतिमात्र नभएर घरव्यवहारदेखि सन्तानको शिक्षादीक्षामा उनको ठूलो भूमिका छ । मैले जागिर खाए पनि उनीहरुले धेरै अभाव सहेका छन् । त्यस्तो अवस्थामा पनि उनको सधैं सहयोगी भूमिका रह्यो ।’

 
श्रीमती करुणा आफ्नो श्रीमान् अध्ययन र लेखरचना खुबै मन पर्ने जनाउँछिन् । तर भनेको कुरालाई चाँडै नमान्ने बानी भने सुधारे हुन्थ्यो जस्तो लाग्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘कुनै कुरा भनेपछि त्यसमा उहाँ सहमत हुन केही समय लाग्छ । तर, अलि चाँडै सहमत भइदिए हुन्थ्यो जस्तो लाग्छ ।’ वैवाहिक जीवनमा कुनै पनि बेला एक अर्काबीच असमझदारी आउने सक्ने र आफ्नो जीवनमा पनि त्यस्ता क्षण थुप्रै रहेको यो जोडीको भनाइ छ । तर, त्यस्तो समयमा एकअर्काबीच छलफल र आपसी समझदारी गरिने भएकाले कहिले पनि लामो समयसम्म मनमुटाव नभएको यो जोडीले बतायो । श्रीमती करुणा विवाहलाई आपसी विश्वास र समझदारी मान्दछिन् । त्यसलाई कायम राख्न सके वैवाहिक जीवन सफल बन्ने उनको तर्क छ । श्रीमान् गोपाल भने पाश्चात्य किसिमको विवाहमा धेरै समस्या रहेको जनाउँछन् । विवाहअघिको प्रेम र त्यसपश्चात्को विवाहमा धेरै समस्या देखिएकोले विवाह र त्यसपछिको प्रेम सफल हुने उनको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here