काठमाडौं / वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटा हाल पित्तथैलीसम्बन्धी क्यान्सरका कारण उपचाररत छन् । उनको हाल काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालनमा उपचार गरिँदै छ । नेपालका चर्चित चिकित्सक डा. देवकोटालाई पित्तथैली र पित्तनली वरिपरिको क्षेत्रमा हुने क्यान्सर भउको छ, जसलाई मेडिकल भाषामा ‘कोलान्जिओकार्सिनोमा’ भनिन्छ ।
बेलायतस्थित किंग्स कलेजमा करिब ५ महिना उपचार गराएपछि डा. देवकोटा पुनः नेपालमा नै फर्केका हुन् । उनको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएका कारण शल्यक्रियासमेत गर्न नसक्ने अवस्था रहेको जनाइएको छ । अस्पतालले डा. देवकोटालाई केमोथेरापी दिएर आवश्यक उपचार गर्ने प्रक्रिया अगाडि बढाएको छ । ६३ वर्षीया डा. देवकोटा एसियाकै अब्बल न्युरो सर्जनका रुपमा चिनिन्छन् । उनी मंसिर १० गतेको निर्वाचनको समयमा गोरखामा गएर भाषण गरिरहेका थिए । त्यही क्रममा उनलाई जन्डिसको लक्षण देखिन थालेको थियो ।
डा. देवकोटालाई जन्डिसको लक्षण र त्यसपछि क्यान्सरको पनि लक्षण देखिएपछि उनी उपचारका लागि बेलायत पुगेका थिए । उनले भनेका छन्, ‘एकदिन गोरखाकी एकजना १२ वर्षकी बहिनीको अपरेसन थियो । उनको अपरेसन म आफै संलग्न भएर गर्नुपर्ने थियो। एक जना सहकर्मी डाक्टरको काम चित्त बुझेन । म ‘इरिटेट’ भएँ । तर, मैले सोचेँ, म यति ‘डिमान्डिङ’ र ‘इरिटेट’ हुने मान्छे हैन, यो मेरो चरित्र हैन । ‘समथिङ मस्ट बी रङ विथ मी’ भन्ने लाग्यो । ट्वाइलेट गएँ, पहेँलो बाक्लो पिसाब आयो । ऐना हेरेँ, आँखा पहेँला । ‘डीप जन्डिस’ लाग्यो। शंका पनि लाग्यो । मैले खाइरहेको ‘क्लेरिथ्रोमाइसिन’ को काम हो र त्यो औषधि सकिएपछि यो कम हुने आश पनि थियो । आफ्नै अस्पतालमा तल गएर एमआरआई र अल्ट्रा साउन्ड गरें । त्यो हेरेपछि छाँगाबाट खसेजस्तो भएँ ।
त्यो पहिला सोचेजस्तो कोलेस्टेटिक जन्डिस थिएन । पित्त नली थिचिएर अवस्ट्रक्टिभ जन्डिस थियो त्यो । भोलिपल्ट शनिबार एक्स्पर्ट मित्रहरु बोलाई कन्सल्ट गर्दा जटिल खालको कलेजोको भेट्नामा मासु पलाएको जन्डिस देखियो । नलीहरु ‘ड्रेन’ गर्न नसके २÷४ दिनमै जीवनमा असर पार्न सक्ने अवस्था देखियो । मुलुकमा र यो क्षेत्रमा काम गर्नको लागि एक्सपर्टिज कहाँकहाँ छन्, छलफल ग¥यौं । ढुक्क हुन सकिएन । तत्काल बेलायत फोन ग¥यौँ हेनरीलाई । उनले किंग्स कलेज हस्पिटलका चिफ सर्जन फ्रोफेसर नाइजल हिटनको नाम लिए । उनीहरु दुवै जनाको मित्रतासँगै एउटा विशेष भिडियो पनि रहेछ । हेनरीले भनेपछि मंगलबारको ‘अप्वइन्टमेन्ट’ निश्चित भयो । सोमबार काठमाडौँबाट उडेर मंगलबार नाइजललाई भेटेँ ।’
बेलायत गएपछि नाइजलले आफ्ना विभागका ५÷६ जना ख्यातिप्राप्त ग्यास्ट्रो इन्टेरोलोजिस्टलाई बोलाएर उपचार गरेको उनले जनाए । ‘बुधबार ह्यारिसनलाई सुकेको नलीमा ‘स्टेन्ट’ हाल्ने काम दिइयो । उनले एकातिर हाल्न सके, अर्कोतिर सकेनन् । त्यसपछिका डा. जोन डेभलिनले ‘टेक अप’ गरे । पहिलो, दोस्रो र तेस्रो प्रयास असफल भएपछि चौथो ‘सिटिङ’ मा स्टेन्ट त हाले तर वायोस्पी सम्भव भएन । अन्तमा पाँचौँ ‘सिटिङ’ मा भित्रै अल्ट्रासाउन्डपछि अत्यन्त ‘सोफिस्टिकेटेड’ प्रोसेसबाट बायोस्पी गरे उनले । वाइल डक्ट (पित्त थैली) क्यान्सर देखियो ।’
डा. देवकोटाले भने, ‘उपचार अत्यन्त जटिल छ, जाने बाटो एउटै छ । कोलोन्जियो कार्सिनोमाको स्ट्यान्डर्ड उपचार भनेको ‘किमो’ दिएर ट्युमरको साइज घटाउने अनि अपरेसन गरेर आधा लिभर फाल्ने । त्यसमा विशेषज्ञता हासिल गरेका डाक्टर पाल रस (क्यान्सर विशेषज्ञ) ले काम शुरु गरे । नोभेम्बर २१ मा बेलायत पुगी जनवरी २५ मा मात्र किमोको पहिलो डोज लिन पाएँ । सबै कुरा ढिलो हुन पुग्यो। किमोपछि ल्युकोपोनिया र कलेन्जाइटिससँग जुध्दै रहेँ। लढ्दैपढ्दै तीन साइकल किमो लिन पाएँ । तर, मेरो ट्युमर बढ्दै गएको देखियो। पाल अलि निराश देखिए उनको उपचारले रेस्पोन्ड नगरेकामा । सिटी स्क्यान गर्दा ट्युमर फैलिएको देखियो । त्यो दुखद थियो । फस्ट लाइन किमो प्रभावकारी नभएमा सेकेन्ड लाइन किमो पनि त्यत्ति प्रभावकारी हुँदैन । रेडियोथेरापी त्यत्ति प्रभावकारी नहुँदा सर्जरी नै गरिन्छ । रेडिएसनमा किरणले आन्द्राहरु सुकाउँछन् । त्यहीँ नै बसेर उपचारलाई निरन्तरता दिनुको अर्थ थिएन । किमोले रेस्पोन्ड नगर्ने रेडियोथेरापीको साइड इफेक्टमात्र हुने र सर्जरी गर्न नमिल्ने विचित्रको अवस्थामा थिएँ म ।’
खासै कुनै उपाय नभएको अवस्थामा एक्सपेरिमेन्टल ट्रिटमेन्ट गरेर बस्नुभन्दा उनले समयमै देश फर्केर बाँकी जीवन मुलुकमा बिताउने सोच राखेर नेपाल फर्किए । जब निको नहुने रोग लाग्छ त्यसबेला अनावश्यक उपचारमा लाग्नुभन्दा शरीरमा केही शक्ति हुँदासम्म काम गर्नु उत्तम हुने उनले सोचे । ‘त्यही मान्यताका साथ किमोबाट थप जटिलता निम्त्याउनुभन्दा बाँकी जीवन मेरो आफ्नै देशको माटो हावापानीमा बिताउने निधो गरेँ । दाजुभाइ दिदी बहिनीहरुकै समिपमा,’ उनले भने, ‘मेरा आफ्ना अनुभव र उपलब्धिहरुले अरुका लागि के अर्थ राख्लान् अरुका लागि मलाई थाहा छैन । तर मलाई मेरो हावा पानी माटो र तपाईँहरु सबै अत्यन्त प्रिय हुनुहुन्छ । त्यसैले म केही बोल्ने प्रयास गर्नेछु । म फेरि सायद बिरामीहरुका सेवामा फर्कन सक्ने छैन तर जति बाँच्छु उहाँहरुप्रति सद्भाव र शुभकामना राख्नेछु ।’


















