विप्लवको आक्रामक कारबाही

157

काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकपछि अर्को आक्रामक कारबाही जारी राखेको छ । तत्कालीन जनयुद्धका एजेण्डा पूरा नभएको भन्दै विद्रोह गरेर छुट्टै पार्टी गठन गरेका विप्लवले गत वैशाख २२ गते नेपाल बन्द आयोजना गरेको थियो ।

 
उक्त पार्टीले आयोजना गरेको नेपाल बन्दको कारण बिहानैदेखि सडक सुनसान बनेका थिए भने राजधानी काठमाडौंसहित विराटनगर, हेटौंडा, नेपालगञ्ज, धनगढीसहित ठूला शहरमा पनि प्रभाव परेको थियो । सो पार्टीले गरेको बन्दमा अत्यावश्यक सवारीसाधनलाई भने रोकिएको थिए । एम्बुलेन्स, तरकारी, दूधका गाडीहरुलाई भने निर्बाध चल्न दिइएको थियो ।
तर, काठमाडौंबाट देशका विभिन्न स्थानमा छुट्ने लामो दुरीका सवारी यातायातका साधनहरु पनि बन्द गरिएको थियो । सोही क्रममा चितवनको भण्डारामा शक्तिशाली बम विस्फोट भएको थियो । अज्ञात समूहले गराएको विस्फोटबाट मानवीय क्षति भने भएको थिएन । त्यसैगरी, बन्दका कारण सुनसान बनेको कैलालीका विभिन्न स्थानहरुमा बम विस्फोट भएका थिए । सात नम्बर प्रदेशको राजधानी धनगढीको चौराहासहित बजारभित्रै दुई ठाउँमा बम विस्फोट भएका हुन् । कैलालीकै गौरीगंगा नगरपालिकामा पनि बम विस्फोट भएको स्थानीयले जनाएका थिए ।
त्यस्तै, लमजुङको मस्र्याङ्ग्दी गाउँपालिकास्थित भारतीय जिएमआर कम्पनीको कार्यालयको भवनमा मध्यरातमा बम बिस्फोट भएको थियो । विस्फोटबाट कार्यालमा क्षति पुगेको थियो । बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले देशभर मशाल जुलुस निकालेका थिए । सोही क्रममा प्युठान र बाग्लुङ इन्चार्जसहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

 
पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि शान्तिपूर्ण कार्यक्रम गर्न समेत रोक लगाएर सरकार फासिवादी बाटोमा हिँडेको र त्यसैको विरोधमा नेपाल बन्दको घोषणा गरेको विज्ञप्तिमार्फत जनाएका छन् । विप्लवले आफ्ना कार्यकर्तालाई विनाशर्त रिहाइ गर्न पनि सरकारसँग माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here